सिंहदरबारभित्रै म्याद गुज्रिएको दही बिक्री : ‘हाम्रो खाजा घर’लाई २ लाख ५ हजार जरिवाना

350
Shares

काठमाडौ । सिंहदरबार परिसरभित्र सञ्चालित एक खाजा घरमा म्याद गुज्रिएको खाद्यवस्तु बिक्री गरेको पाइएपछि सरकारले कारबाही गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले गरेको आकस्मिक अनुगमनका क्रममा कैफियत भेटिएपछि ‘हाम्रो खाजा घर’लाई जरिवाना गरेको हो ।

विभागका अनुसार, सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भवनमा रहेको चमेना गृह (हाम्रो खाजा घर) मा म्याद गुज्रिएको दही बिक्रीका लागि राखिएको फेला परेको थियो । उपभोक्ताको गुनासो र उजुरीका आधारमा विभागले बुधबार सो क्षेत्रमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा म्याद गुज्रिएको दही फेला परेपछि विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) बमोजिमको कसुर गरेको ठहर गरेको छ । सोही ऐनको दफा ३९ (१) (ख) अनुसार उक्त खाजा घरलाई तत्कालै २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खाजा घरमा म्याद नाघेको दही आपूर्ति गर्ने उत्पादक ‘श्री कृष्ण डेरी फर्म’ माथि पनि विभागले निगरानी बढाएको छ । विभागले उक्त डेरीलाई आफ्नो व्यवसाय दर्ता प्रमाणपत्र र दही बिक्री गरेको बिलसहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।