
काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरूसँग छलफल गर्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले संविधान संशोधनका एजेन्डा र कानुनी जटिलताबारे सुझाव लिन पूर्वमहान्यायाधिवक्ताहरूलाई छलफलमा बोलाएको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ देखि ५ बजेसम्मका लागि तय गरिएको उक्त छलफलमा संविधानमा गरिनुपर्ने परिमार्जन, सुधारका क्षेत्र र कानुनी प्रक्रियाका विषयमा विज्ञहरूको राय संकलन गरिनेछ ।
संविधानलाई थप समावेशी र कार्यान्वयनमुखी बनाउन विभिन्न क्षेत्रका विज्ञहरूसँग राय लिने क्रममा आज कानुनी क्षेत्रका अनुभवी व्यक्तित्वहरूसँग परामर्श गर्न लागिएको हो । छलफलबाट प्राप्त हुने ठोस सुझावहरूलाई कार्यदलले तयार पार्ने बहसपत्रमा समावेश गरिने बताइएको छ ।
सरकारले संविधानलाई समयसापेक्ष परिमार्जन गर्नका लागि आवश्यक गृहकार्य अगाडि बढाउन यो कार्यदल गठन गरेको थियो ।






प्रतिक्रिया