चिया निकासीमा भारतको अल्झन, ४ दिनदेखि निर्यात ठप्प


विराटनगर । भारतीय चिया बोर्डले नेपालबाट निर्यात हुने चियाको हकमा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) अनुसार अनिवार्य प्रयोगशाला परीक्षणको प्रतिवेदनको व्यवस्था गरेसँगै शुक्रबारदेखि चिया निकासी ठप्प भएको छ ।

भारतले नेपाली चिया निकासीका लागि मे १ अर्थात् गत शुक्रबारदेखि उक्त व्यवस्था लागू गरेको छ । त्यो व्यवस्था लागू भएसँगै चिया निकासीका लागि शुक्रबारदेखि एउटा पनि फर्म काँकरभिट्टा भन्सारमा पुगेको छैन ।

‘भारतीय पक्षले नयाँ व्यवस्था गरेपछि नेपाली चिया निकासीका लागि भन्सार कार्यालयमा फर्म नै आएको छैन । फर्म नै घोषणा नभएपछि सामान पठाउने कुरै भएन,’ काँकरभिट्टा भन्सारका प्रवक्ता ईश्वर हुमागाईंले भने,’विगतमा दैनिक सरदर एक-दुई ट्रक चिया निकासी हुन्थ्यो, चार दिनदेखि एक किलो पनि निकासी भएको छैन ।’

नेपाली चिया निकासीका लागि झापा, मेची, भद्रपुर र इलाम उद्योग वाणिज्य संघले दैनिक उत्पतिको प्रमाण पत्र जारी गर्दै आएका थिए । चार दिनदेखि एक किलो चिया निकासीका लागि पनि उत्पतिको प्रमाणपत्र जारी नभएको झापा उद्योग वाणिज्य संघका महानिर्देशक गोपाल बस्नेतले जानकारी दिए ।

गत बिहीबारसम्म नेपाली चियाको नमुना संकलन आकस्मिक वा आंशिकरूपमा मात्र गरिन्थ्यो । तर गत शुक्रबारदेखि भारत प्रवेश गर्ने चिया बोकेका हरेक ट्रक र हरेक कन्साइनमेन्टको अनिवार्यरूपमा प्रयोगशाला परीक्षण गर्नुपर्ने व्यवस्था भारतीय पक्षले गरेको छ ।

नेपाल सीटीसी चिया उत्पादक संघका उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार भारतको यो नयाँ व्यवस्थाले चार दिनदेखि चिया निकासी ठप्प भएको हो । काँकरभिट्टा नाकाबाट वार्षिक सरदर झन्डै चार अर्ब रुपैयाँ मूल्य बराबरको चिया निकासी हुँदै आएको थियो।

नयाँ व्यवस्थाअनुसार भारतीय आयातकर्ताहरूले चिया भारत आइपुग्नुभन्दा अगावै ‘टि काउन्सिल’ को पोर्टलमा चिया आउने मिति, गोदामको स्थान, कन्टेनरको विवरण र प्रोफोर्मा इन्भ्वाइससहितको विस्तृत विवरण बुझाउनु पर्नेछ । त्यसपछि मात्र उनीहरूले ‘प्रोभिजनल क्लियरेन्स सर्टिफिकेट’ पाउनेछन् ।

‘त्यसका लागि झण्डै दुई साता समय लाग्ने अवस्था छ । प्रयोगशालाको रिपोर्ट नआउन्जेल (१४ देखि २० दिनसम्म लाग्न सक्छ) चियालाई तोकिएको छुट्टै गोदाममा राख्नुपर्नेछ । उक्त अवधिभर न त त्यो चिया बेच्न पाइनेछ, न त पुनः निर्यात नै गर्न पाइनेछ,’ गुप्ताले भने,’भारतीय पक्षले यसको टुंगो नलगाए सम्म चिया निकासी गर्ने स्थिति छैन ।’

नेपालबाट चिया बोकेर गएका ढुवानी साधनलाई भारतीय पक्षले भारतको पानीट्याङ्कीमा रोकेर नमुना संकलन र गुणस्तर परीक्षण पश्चात् मात्रै निर्यात गर्न पाउने वा नपाउने व्यवस्था कार्यान्वयनमा ल्याएको गुप्ताले बताए । प्रयोगशालाको रिपोर्ट आउन दुई साता लाग्ने समेत उनले बताए ।

उनका अनुसार, नेपाली चिया काँकरभिट्टाबाट छुटेर पारीको पानीट्याङकी नाकामा आइपुगेको २४ घण्टाभित्र भारतीय चिया बोर्डका अधिकारीहरूले ५००–५०० ग्रामका दुईवटा नमुना संकलन गर्नेछन् । प्रतिनमुना परीक्षणका लागि ११ हजार १ सय २० भारतीय रुपैयाँ (करिब १७,८०० नेपाली रुपैयाँ) र त्यसमा थप जीएसटी दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको गुप्ताले बताए ।

प्रयोगशाला परीक्षणमा चियाको गुणस्तर फेल भएमा आयातकर्ताले थप १५ हजार भारतीय रुपैयाँ तिरेर अर्को प्रयोगशालामा पुनः परीक्षण गराउन पाउने व्यवस्था गरिएको छ । दोस्रो पटक पनि गुणस्तर परीक्षणमा फेल भएमा उक्त चिया कि त नष्ट गर्नुपर्नेछ वा सम्बन्धित देश (नेपाल) मै फिर्ता पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

अहिले नेपालबाट चिया पठाउनु भनेको गुणस्तर परीक्षणका नाममा कम्तीमा दुई सातासम्म भारतीय भन्सारमा पार्किङ गरेर राख्नु भएको गुप्ता बताउँछन् । उनका अनुसार, ल्यावको रिपोर्ट सन्तोषजनक नआए फिर्ता ल्याउनु वा त्यही नष्ट गर्नुको विकल्प छैन । यो अन्यौलको टुंगो नलागेसम्म चिया निकासी हुने स्थिति नभएको उनी बताउँछन् ।

उनले भने, ‘परीक्षणको प्रतिवेदन नआउँदासम्म गाडी भारतमै पार्किङ गर्नुपर्ने बाध्यता छ । गुणस्तरको प्रतिवेदन सकारात्मक आएको अवस्थामा मात्रै निर्यात गर्न पाइनेछ ।’

प्रतिवेदन नकारात्मक आए भारतीय भूमिमै चिया ड्यामेज गर्नुपर्ने व्यवस्था भारतले तयारी गरेपछि चियाको निर्यात प्रक्रिया ठप्प भएको हो ।

पछिल्लो समय नेपालबाट चिया निर्यात निरन्तर विस्तार हुँदै गएपछि यसअघि पनि भारतले विभिन्न बहानामा नेपाली चियाको निर्यातमा प्रभाव पार्दै आएको थियो ।

पछिल्लो समय वार्षिक सरदर ४ अर्ब रुपैयाँ मूल्य बराबरको नेपाली चिया निकासी हुँदै आएको छ । पूर्वी नेपालमा खासगरी इलाम, झापा, धनकुटा र पाँचथर जिल्लामा चियाको उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन भएको चियाको ठूलो हिस्सा निर्यातमा निर्भर छ ।

यहाँ उत्पादन हुने चिया निकासीको ७० प्रतिशतभन्दा बढी हिस्सा भारततर्फ र बाँकी अमेरिका, जर्मनी र जापान लगायतका देशमा पुग्छ । नेपालमा चिया उत्पादन गर्ने ३० अर्थोडक्स र ३८ सीटीसी गरी ६८ वटा ठूला चिया उद्योग छन् । यसैगरी एक सय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा छन् ।