३६ वर्षे युवा प्रधानमन्त्री र ५० वर्षे म वृद्ध मन्त्री हुनु नै ठूलो कुरा हो, निजी क्षेत्रमा पनि यस्तै होस्ः अर्थमन्त्री

224
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको राजनीतिक नेतृत्वमा अभूतपूर्व पुस्तान्तरण भएको बताउँदै अब निजी क्षेत्रले पनि आफ्नो कार्यशैली र सोचमा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले वर्तमान सरकारको संरचनाले मुलुकमा ठूलो परिवर्तनको संकेत गरेको उल्लेख गरे ।

३६ वर्षको युवाले प्रधानमन्त्रीका रूपमा देश हाक्नु र ५० वर्ष पुगेका आफू मन्त्रिमण्डलको सबैभन्दा ‘वृद्ध’ सदस्य हुनुले नेपाली राजनीतिमा नयाँ युगको सुरुवात भएको उनको भनाइ थियो ।

सम्बोधनका क्रममा अर्थमन्त्री वाग्लेले भने, ‘चार–पाँच महिना अगाडिसम्म कसैले कल्पना गरेको थियो– ३६ वर्षका प्रधानमन्त्रीले दमदार रूपमा देश हाक्नुहुन्छ र ५० वर्ष पुगेको अर्थमन्त्री क्याबिनेटको सबैभन्दा वृद्ध सदस्य होला भनेर ? हामी त ८० वर्ष नपुगी मन्त्री वा प्रधानमन्त्री भइँदैन भन्ने सोच्थ्यौं, तर यो ठूलो परिवर्तन हो । त्यसैले निजी क्षेत्रले पनि यो अभूतपूर्व जनादेशलाई शिरोपर गर्दै अघि बढ्नुपर्छ ।’

अर्थमन्त्री वाग्लेले नेपालको प्रशासनिक र राजनीतिक संयन्त्रमा जकडिएको विचौलिया प्रवृत्ति र भ्रष्टाचारमाथि वर्तमान सरकार निर्मम हुने चेतावनी दिए । पहुँच र भनसुनका आधारमा मात्र काम हुने संस्कृतिको अब अन्त्य भएको उद्घोष गर्दै उनले इमानदार व्यवसायीका लागि अनुकूल वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाए ।

‘विगतमा हाम्रो ब्युरोक्रेसी र रेगुलेटरी संयन्त्रका कारण इमानदार भएर व्यवसाय गर्छु भन्नेहरूका लागि वातावरण लगभग असम्भव जस्तै थियो,’ उनले भने, ‘तर अब त्यो अवस्था रहँदैन । निजी क्षेत्रको सहभागिता बिना देशको विकास असम्भव छ, त्यसैले हामी सँगै अघि बढ्नुपर्छ ।’

मन्त्री वाग्लेले निजी क्षेत्रलाई पुराना बानीहरू त्यागेर पारदर्शी र उद्यमशील बाटो रोज्न सुझाव दिए । सरकारले प्रविधिको प्रयोग र सदाचारलाई बढावा दिँदै व्यावसायिक वातावरण सुधार गर्न काम गरिरहेको उनले बताए । साथै, वर्तमान सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याएको ‘वाचापत्र’ मा टेकेर अगाडि बढ्ने र सोही अनुरूप आर्थिक सुधारका कार्यहरू अघि बढाउने उनले स्पष्ट पारे ।