
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूमिहीन सुकुम्बासीहरूको स्थानान्तरण र व्यवस्थित पुनर्स्थापनाको काम आगामी चैत मसान्तभित्र गरिसक्न सुझाव दिएको छ ।
आइतवार बसेको रास्वपाको सचिवालय बैठकपछि प्रवक्ता मनिष झाले चैत मसान्तभित्र सबै सुकुम्बासीलाई सुरक्षित आवासमा स्थानान्तरण गरी गाँस, वास र स्वास्थ्यको न्यूनतम व्यवस्था सुनिश्चित गर्न सरकारलाई सुझाव दिएको जानकारी दिए ।
सुकुम्बासी व्यवस्थापनको विषय लामो समयदेखि बेवास्ता हुँदै आएको उल्लेख गर्दै उनले हाल सरकारले यसलाई व्यवस्थापन गर्न खोजेको बताए । उनले काठमाडौं उपत्यकाका खोलाकिनारमा जोखिमपूर्ण अवस्थामा बसोवास गरिरहेका नागरिकलाई सरकारले स्थानान्तरण गर्न लागेको दाबी गरे । बाढी आउँदा मात्रै समस्या देख्ने नभई अगाडिबाट नै सुरक्षित स्थानमा सार्ने पहल सरकारले गरेको उनले बताए ।
पार्टीले अधिकारसम्पन्न प्राधिकरण गठन गरी सुकुम्बासीहरूको यथार्थ लगत संकलन नगरेसम्म अव्यवस्थित रूपमा डोजर चलाउने कार्य रोक्न पनि सरकारलाई आग्रह गरेको छ ।
अवैध अतिक्रमणको उद्देश्यले निर्माण गरिएका संरचना बाहेक अन्य स्थानमा जबर्जस्ती हटाउने कार्य रोक्न आग्रह गरिएको उनले बताए ।
स्थानीय तहहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र रहेर विभिन्न स्थानमा गरिरहेका व्यवस्थापन प्रयासलाई पनि दीर्घकालीन समाधानतर्फ उन्मुख गराउनुपर्नेमा रास्वपाले जोड दिएको छ ।
‘यसका लागि अधिकारसम्पन्न प्राधिकरण बनाउने र अधिकारसम्पन्न प्राधिकरणले यसको लगतलगायत सबै बनाएर आवश्यक सूचनाहरू लिएर यसलाई चैत मसान्तभित्र सबै व्यवस्थापन गर्ने,’ उनले भने, ‘कम्तीमा ७५ प्रतिशत व्यवस्थापन गरिसकेको हुने र प्राधिकरण निर्माण गरेर प्राधिकरणले लगत उपलब्ध नगराएसम्मका लागि अब अधिग्रहण गरिएको, अपचलन गर्ने उद्देश्यले अतिक्रमण गरिएका संरचनाहरू बाहेकका अन्य ठाउँमा डोजर चल्ने छैन भन्ने कुरा पनि सरकारलाई सुझाव दिइएको छ ।’
उनले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्ने सदस्यले अनिवार्य क्याण्डिडेट क्लब र लिडरशिप एकेडेमी उत्तीर्ण गरेको हुनुपर्ने निर्णय गरेको पनि जानकारी दिए । साथै पार्टीको महाधिवेशन गर्ने कार्यविधि पनि बैठकले पारित गरेको उनले बताए।
उनका अनुसार महाधिवेशनको मिति र स्थान भने केन्द्रीय समितिको बैठकले तय गर्नेछ ।








प्रतिक्रिया