१०० टन प्रतिबन्धित छोकडा आयात गर्न सरकारी कागज नै किर्ते गर्ने अग्रवाल पक्राउ

2.9k
Shares

काठमाडौं । सरकारी निकायको नक्कली लेटरहेड, छाप र हस्ताक्षर प्रयोग गरी प्रतिबन्धित छोकडा (खजुर) आयात गर्न खोज्ने एक व्यवसायीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिमभिन इन्टरनेसनल इम्पेक्स कालिकास्थान, काठमाडौंका सञ्चालक ५५ वर्षीय नविन कुमार अग्रवाल रहेका छन् । उनलाई बिहीबार वीरगञ्ज महानगरपालिका–११, आदर्शनगरबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

नेपाल सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ बमोजिम २०७६ चैत २४ गते राजपत्रमा सूचना प्रकाशित गरी छोकडा आयातमा पूर्ण बन्देज लगाएको थियो । तर, व्यवसायी अग्रवालले सो प्रतिबन्धलाई छल्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहलको नक्कली लेटरहेड र छाप तयार पारेका थिए।

उनले विभागका पूर्वमहानिर्देशकको नाम र हस्ताक्षर समेत किर्ते गरी १०० टन छोकडा आयात गर्ने नक्कली अनुमति पत्र बनाएको प्रहरीको दाबी छ । सोही किर्ते पत्र वीरगञ्ज भन्सार कार्यालयमा पेस गरी उनले प्रतिबन्धित सामान भित्र्याउन खोजेका थिए ।

सामान भन्सारमा आइपुगेपछि भन्सार अधिकारीहरूलाई उक्त अनुमति पत्रमाथि शंका लागेको थियो । भन्सारले विभागमा बुझ्दा उक्त पत्र किर्ते भएको खुलासा भयो । त्यसपछि भन्सार विभागले सामान जफत गरी थप अनुसन्धानका लागि सीआईबीलाई जानकारी गराएको थियो ।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवबहादुर श्रेष्ठका अनुसार, अग्रवालमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ अन्तर्गत ‘लिखत सम्बन्धी कसुर’ मा अनुसन्धान भइरहेको छ । काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको हो ।

हाल वीरगञ्ज–६, रेशमकोठी बस्दै आएका अग्रवाललाई काठमाडौं ल्याएर थप कानुनी प्रक्रिया अगाडि बढाइने ब्युरोले जनाएको छ ।

Skip This