
काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले प्रधानमन्त्री बालेन शाहको आगामी भारत भ्रमणका क्रममा उठाउनुपर्ने द्विपक्षीय आर्थिक एजेण्डाहरूका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
निक्कीका अध्यक्ष सुनील के.सीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरी आफ्ना प्रस्तावहरू पेश गरेको हो ।
भेटका क्रममा निक्कीले नेपाल–भारत आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन र लगानी भित्र्याउन ठोस संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिएको छ । निक्कीले प्रधानमन्त्रीको भ्रमणका क्रममा नयाँ दिल्लीमा ‘सीईओ राउण्डटेबल’ आयोजना गर्न प्रस्ताव गरेको छ, जसले नेपाली उद्यमीहरूलाई भारतका प्रमुख व्यावसायिक घराना र लगानीकर्ताहरूसँग सिधै जोड्ने विश्वास गरिएको छ ।
मुम्बई र बैंगलोरमा महावाणिज्यदूत कार्यालयको माग
नेपालको वैदेशिक व्यापारमा भारतको ठूलो हिस्सा रहेको तथ्यलाई मध्यनजर गर्दै निक्कीले भारतका प्रमुख व्यावसायिक शहरहरू मुम्बई र बैंगलोरमा महावाणिज्यदूत कार्यालय वा व्यापार प्रतिनिधि कार्यालय स्थापना गर्न माग गरेको छ ।
हाल नेपालको कुल निर्यातको करिब ८० प्रतिशत र आयातको ६० प्रतिशत हिस्सा भारतसँग रहेको तथा ८५ प्रतिशत तेस्रो मुलुकसँगको व्यापार भारतीय बन्दरगाह (कोलकाता, हल्दिया र विशाखापत्तनम) मार्फत हुने भएकाले कूटनीतिक उपस्थिति विस्तार अनिवार्य रहेको संघको ठहर छ ।
विदेशी लगानीकर्ता परिषद्को प्रस्ताव
परराष्ट्र मन्त्रालयअन्तर्गत निजी क्षेत्रको समेत सहभागिता रहने गरी एक ‘विदेशी लगानीकर्ता परिषद्’ गठन गर्न निक्कीले सुझाव दिएको छ । यो परिषद्ले निर्यात प्रवद्र्धन, पर्यटन ब्राण्डिङ र लगानी सहजीकरणमा काम गर्नेछ ।
साथै, निक्कीले लगानी र पर्यटन प्रचारका लागि नयाँ दिल्लीमा आफ्नै सम्पर्क कार्यालय स्थापना गर्ने योजनाबारे पनि मन्त्रीलाई जानकारी गराएको छ ।
मन्त्री खनालको सकारात्मक प्रतिक्रिया
प्रस्तावहरू ग्रहण गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले निक्कीले उठाएका विषयहरू समय सान्दर्भिक र सकारात्मक रहेको बताउनुभयो । उहाँले लगानीकर्ता परिषद् र भारतमा कूटनीतिक उपस्थिति विस्तार गर्ने विचारको सराहना गर्दै प्रधानमन्त्रीको भ्रमणअघि निजी क्षेत्रसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
भेटघाटमा निक्कीका उपाध्यक्ष कुणाल कयाल, महासचिव राजन शर्मा, कोषाध्यक्ष किरण मल्लसहित एशियन पेन्ट्सका अभिमान बरारिया, नेपाल एसबिआई बैंकका राम कुमार तिवारी, केयर रेटिङ्सका आनन्द प्रकाश झा, डाबर नेपालकी सुमित्रा के.सी. खत्री र सांसद एवं उद्यमी विदुषी राणा सहभागी थिए ।
सन् १९९३ देखि नेपाल र भारतबीचको आर्थिक सम्बन्धमा सेतुको काम गर्दै आएको निक्कीले आगामी दिनमा ‘नेपाल–इण्डिया पार्टनरशीप समिट’ आयोजना गर्ने लक्ष्य समेत राखेको छ ।








प्रतिक्रिया