हुण्डी कारोबारी खोज्दै बालेन सरकार, विदेशमा सम्पत्ति किन्नेहरू पनि विशेष निगरानीमा 

10.4k
Shares

काठमाडौं । सरकारले देशबाट पुँजी पलायन गर्न सघाउनेहरूको खोजी थालेको छ । प्रधानमन्त्री बालेन शाहको निर्देशनमा विदेशमा बसेर हुण्डी कारोबार गर्नेहरूको खोजी औपचारिकरुपमै थालेको हो ।

सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धान भइरहेका शंकर ग्रुपका सुलभ अग्रवालको दुबईमा रियलस्टेटमा लगानी रहेको सूचनापछि यो अनुसन्धान अघि बढेको हो । अरू नेपाली व्यवसायीहरूले पनि सुलभकै स्टाइलमा क्यापिटल फ्लाइट गरेको हुन सक्ने सरकारको अनुमान छ ।

युएइमा हजारौं नेपालीहरुले अबैध बाटो प्रयोग गरेर रियलइस्टमा लगानी गरेका छन् ।

नेपालबाट विदेशमा लगानी गर्न नपाउने कानुनी व्यवस्थाका कारण पुँजी पलायन गर्न हुण्डीजस्तो अवैध च्यानल प्रयोग हुने गर्छ । साथै सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी गर्न पनि हुण्डीको प्रयोग हुन्छ ।

विदेशमा आर्जन गरेको रकम बैंकिङ च्यानलबाट नेपाल पठाउनुपर्नेमा उतै राख्ने र नेपालमा अर्कै व्यवसायीको पैसा दिने गरेर पुँजी पलायन हुन्छ ।

सो प्रवृत्ति पत्ता लगाउन प्रधानमन्त्री बालेन शाहको निर्देशनमा ‘हुण्डी गरेको वा संकलन गरेको रकम नेपाल नपठाएको’ गोप्य सूचना संकलन भइरहेको छ । 

त्यही क्रममा यूएई, दक्षिण कोरिया लगायत देशमा नेपाल पठाउन भनी नेपालीहरूको रकम संकलन गर्ने तर वास्तवमा हुण्डीमार्फत् पठाउने व्यक्तिहरूको पहिचान गर्न थालिएको हो ।

विदेशमा बसेर हुण्डी कारोबार गर्नेको जानकारी संकलन सरकारले गर्ने क्रममा यस्ता व्यक्तिबारे जानकारी इमेलमार्फत् दिन अबुधाबीस्थित नेपाली राजदूतावास, सिओलस्थित नेपाली राजदूतावासले अनुरोध गरेको हो ।

यी दूतावासले हुन्डीबाट पैसा नपठाउन आग्रह गरेका छन् । पछिल्लो समय गैरबैंकिङ प्रणालीबाट पैसा पठाउने अवैधानिक तरिका धेरैले अनपाई रहेका छन् । विदेशमा बसेको व्यक्तिले आफ्ने पैसा हुण्डी गर्ने एजेन्टलाई नगद दिन्छन् तर नेपालमा रहेको उसनको आफ्नो व्यक्तिले सम्बन्धित व्यक्तिलाई सो रकम दिन्छन् ।

यूएई र कोरियामा रहेका नेपालीलाई लक्षित गर्दै अबुधाबीस्थित नेपाली दूतावासले विदेशबाट नेपाल पैसा पठाउँदा अनौपचारिक माध्यम प्रयोग नगर्न र वैधानिक बैंकिङ च्यानलमार्फत मात्र रेमिट्यान्स पठाउन अनुरोध गरेका छन् ।

यस्तो कारोबारले वित्तीय जोखिम बढाउने, ठगीको सम्भावना रहने र राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पार्ने भएकाले यसप्रति सजग रहन भनिएको छ ।

प्रत्येक महिनामा यस्ता अवैध कारोबारबारे प्राप्त सूचनाहरू परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित निकायमा पठाइने गरिएको छ । ती दूतावासले यदि कसैले हुण्डी कारोबार गरेको वा गराइरहेको थाहा पाएमा प्रमाणसहित जानकारी उपलब्ध गराउन आग्रह गरेका छन् ।

Skip This