
काठमाडौं । दुगड स्पाइसेस एन्ड फुड्स प्रोडक्टको व्यापार ६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ६ प्रतिशतले बढेको हो ।
कम्पनीले सन् २०२४ मा २ अर्ब १९ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो भने सन् २०२५ मा २ अर्ब २३ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ ।
यसअघि सन् २०२३ मा कम्पनीको कारोबार २ अर्ब १४ करोड २० लाख रुपैयाँ रहेको थियो । कम्पनीको व्यापार हरेक वर्ष बढ्दो क्रममा रहेको देखिन्छ ।
त्यसैगरी, चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब २३ करोड रुपैयाँ बराबरको बुकिङ भइसकेको कम्पनीले जनाएको छ । व्यापार बढे पनि नाफा भने घटेको छ । सन् २०२४ मा ९.९१ प्रतिशत नाफा कमाएको कम्पनीको नाफा घटेर सन् २०२५ मा ७.०२ प्रतिशतमा झरेको छ ।
सन् १९९९ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका परम्परागत मसला (स्पाइसेस), स्न्याक्स, सवोरी नम्किन, अचार, फलफूलका जाम, जेली, चकलेट, ड्राइ फ्रुट्स तथा नट्स, ब्रेकफास्ट सिरियल र सीटीसी चिया उत्पादन गर्दै आएको छ ।
विराटनगरमा उद्योग रहेको कम्पनीले वार्षिक १५ हजार ३ सय मेट्रिक टन खाद्य वस्तु उत्पादन गर्दै आएको छ । कम्पनीका उत्पादनहरू ‘सेन्चुरी’ ब्रान्डमा बिक्री वितरण हुँदै आएका छन् ।
कम्पनीले फ्राइड स्न्याक्स, नम्किन, स्पाइसेस र अचार उत्पादनका लागि आवश्यक कच्चा पदार्थ स्वदेशसहित भारत, इन्डोनेसिया र मलेसियाबाट आयात गर्ने गरेको छ ।
कम्पनीका अध्यक्ष मोतिलाल दुगड हुन्, उनी केपी ओली सरकारका पालामा उद्योगमन्त्री समेत बनेका थिए । उनीसँग विभिन्न क्षेत्रको करिब तीन दशक लामो व्यवसायिक अनुभव रहेको छ । कम्पनीमा डोल्मा इम्प्याक्ट फन्डको २४.४४ प्रतिशत स्वामित्व रहेको छ ।
सेन्चुरी ग्रुपद्वारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १४ करोड ६१ लाख रुपैयाँको रेटिङ गराएको छ ।
जसमा दीर्घकालीन कर्जाका लागि ४३ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७१ करोड ६१ लाख रुपैयाँ रहेको छ ।









प्रतिक्रिया