दीपक-सुलभ प्रकरणमा नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

756
Shares

काठमाडौं । बीमा ऐन, २०७९ अन्तर्गतको कसूर गरेको आरोपमा नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् ।

नेपाल बीमा प्राधिकरण, कुपण्डोलको सिफारिस र आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ४६ वर्षीय श्रेष्ठलाई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ बाट नियन्त्रणमा लिएको हो।

नेपाल बीमा प्राधिकरणले बैशाख ८ गते नेपाल माईक्रो इन्स्योरेन्स कम्पनीले बीमा ऐन २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिमको कसूर गरेको भन्दै अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको थियो । प्राधिकरणको आकस्मिक निरीक्षणका क्रममा कम्पनी र यसका पदाधिकारीहरूको संलग्नतामा गम्भीर आर्थिक वा प्रशासनिक अनियमितता भएको निष्कर्ष निकाल्दै कारबाहीका लागि सुझाव दिइएको थियो ।

विभिन्न कम्पनीको रकम दुरूपयोग गरेको र सम्पत्ति शुद्धीकरणको आरोपमा सीआईबी नियन्त्रणमा रहेका व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवालबारे भइरहेको अनुसन्धानमा नेपाल माइक्रो इन्स्योरेन्स पनि जोडिएको पाइए पछि श्रेष्ठ पक्राउ परेका हुन् ।

व्यवसायी दीपक भट्टको नाममा उधारोमा किनेको सेयरको भुक्तानी हिमालयन रिइन्स्योरेन्ससँगै नेपाल माइक्रो इन्स्योरेन्सबाट पनि भुक्तानी हुनेसक्ने आशंका गरिएको छ ।

भट्टलाई उधारोमा सेयर किनिदिने भृकुटी स्टक ब्रोकिङले नेपाल माइक्रो इन्स्योरेन्सलाई १६ करोड १७ लाख रूपैयाँ तिर्न बाँकी छ ।

सो विषयमा बिमा प्राधिकरणको प्रतिवेदन प्राप्त भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । सोही क्रममा श्रेष्ठको संलग्नता देखिएपछि उनलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालत, बबरमहलबाट बैशाख १४ गते अनुमति लिइएको थियो । अदालतको अनुमति पाएको भोलिपल्टै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठमाथि बीमा ऐन विपरीतका कार्य गरी सर्वसाधारण वा संस्थालाई हानी नोक्सानी पुऱ्याएको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।