एजेन्सी । जापानको केन्द्रीय बैंकले इरान युद्धका कारण आपूर्ति पक्षको जोखिम बढेको भन्दै मुद्रास्फीतिको अनुमानलाई परिमार्जन गर्दै मंगलबार आफ्नो नीतिगत ब्याजदरलाई ०.७५ प्रतिशतमा स्थिर राखेको छ ।
ब्याजदर स्थिर राख्ने यो निर्णय ६–३ को विभाजित मतबाट आएको हो जुन रोयटर्सले गरेको विश्लेषकहरूको सर्वेक्षणको अनुमान अनुरूप नै थियो । फरक मत राख्ने सदस्यहरूले पश्चिम एसियाको तनावले मूल्यवृद्धिको जोखिम बढाएको तर्क गर्दै नीतिगत दरलाई १ प्रतिशत पुर्याउन प्रस्ताव गरेका थिए ।
बैंक अफ जापानले आर्थिक वर्ष २०२६ का लागि आफ्नो आर्थिक वृद्धि प्रक्षेपणलाई १ प्रतिशतबाट घटाएर ०.५ प्रतिशतमा झारेको छ र कोर मुद्रास्फीतिको दृष्टिकोणलाई १.९ प्रतिशतबाट उल्लेख्य रूपमा बढाएर २.८ प्रतिशत पुर्याएको छ । बैंक अफ जापानले आफ्नो हेडलाइन मुद्रास्फीति (मुख्य महँगी) को लक्ष्य २ प्रतिशत निर्धारण गरेको छ ।
पश्चिम एसियाको संकटका कारण कच्चा तेलको मूल्यमा हुने वृद्धिले व्यापार शर्तहरूमा आउने गिरावटका माध्यमबाट कर्पोरेट नाफा र घरधुरीको वास्तविक आम्दानीलाई खुम्च्याउने भएकाले जापानको आर्थिक वृद्धि सुस्त हुन सक्ने चेतावनी बैंकले दिएको छ ।
सीएनबीसीको कार्यक्रम एक्सेस मिडल ईस्टमा कुरा गर्दै अक्सफोर्ड इकोनोमिक्सका जापान अर्थतन्त्र प्रमुख सिगेतो नागाइले जापानका लागि यस वर्ष सामान्य स्ट्यागफ्लेसन (आर्थिक मन्दी र महँगी एकैसाथ हुने अवस्था) जस्तो स्थिति आउन सक्ने बताएका छन् ।
उनले वास्तविक खर्चयोग्य आम्दानी केही समयदेखि ऋणात्मक रहेको उल्लेख गर्दै देशमा आर्थिक वृद्धि स्थिर रहने र मुद्रास्फीति २ प्रतिशतभन्दा माथि जाने प्रक्षेपण गरेका छन् ।
जापानले सन् २०२५ को अन्तिम त्रैमासिकमा प्राविधिक मन्दीलाई बल्लतल्ल टारेको थियो जसमा देशको अर्थतन्त्र त्रैमासिक आधारमा ०.३ प्रतिशत र वार्षिक आधारमा १.३ प्रतिशतले बढेको थियो ।
इरान युद्धले ऊर्जाको मूल्य बढाउने चिन्ता थपेपछि जापानमा मुद्रास्फीति पाँच महिनामा पहिलोपटक बढेर मार्चमा १.८ प्रतिशत पुगेको छ । जापानले तेलको बढ्दो मूल्यको प्रभाव कम गर्न पेट्रोलमाथिको कर हटाएको छ र अनुदानको व्यवस्था गरेको छ ।
हेडलाइन मुद्रास्फीति फेब्रुअरीको १.३ प्रतिशतको तुलनामा मार्चमा १.५ प्रतिशत रह्यो । त्यो लगातार दोस्रो महिना केन्द्रीय बैंकको २ प्रतिशतको लक्ष्यभन्दा तलै छ ।
ताजा खाद्यान्न र ऊर्जा दुवैको मूल्य हटाएर हेरिने ‘कोर–कोर’ मुद्रास्फीति दर फेब्रुअरीको २.५ प्रतिशतबाट घटेर २.४ प्रतिशतमा झरेको छ । त्यो अक्टोबर २०२४ पछिकै न्यून स्तर हो ।
‘कच्चा तेलको मूल्यमा भएको वृद्धिले मुख्यतया ऊर्जा र वस्तुहरूको मूल्य बढाउने अपेक्षा गरिएको छ । साथै, बढेको ज्यालालाई बिक्री मूल्यमा समावेश गर्ने क्रम पनि जारी रहनेछ,’ बैंकले भनेको छ ।
केन्द्रीय बैंकको यो निर्णय सरकारी ऋणपत्रको प्रतिफल बढिरहेका बेला आएको हो । अप्रिल १३ मा जापानको १० वर्षे ऋणपत्रको प्रतिफल २.४९६ प्रतिशत पुगेको थियो जुन सन् १९९७ पछिकै उच्च हो ।
निर्णयपछि १० वर्षे ऋणपत्रको प्रतिफल २.४६८ प्रतिशतमा स्थिर रह्यो भने बेन्चमार्क निक्केई २२५ स्टक सूचकांक १ प्रतिशतभन्दा बढीले घट्यो ।
‘बैंक अफ जापानको आजको आक्रामक अडानलाई मुद्रास्फीति नियन्त्रणका साथै मुद्राको रक्षाको रूपमा पनि हेर्नुपर्छ जसले येनको थप कमजोरीलाई अब सहन नसकिने संकेत गरेको छ,’ स्टेट स्ट्रिट इन्भेस्टमेन्ट म्यानेजमेन्टका वरिष्ठ रणनीतिकार मासाहिको लुले एक नोटमा भनेका छन् ।
उनले येनको कमजोरी अझै उच्च रहन सक्ने तर १६२ को स्तर (जसलाई उनले अन्तिम रेखा भनेका छन्) नजिक पुगेर रोकिने र सन् २०२६ को पहिलो आधासम्म सरकारी ऋणपत्रको प्रतिफल वक्र ठाडो रहने सम्भावना रहेको बताएका छन् ।
येन यस वर्ष अहिलेसम्म १.५ प्रतिशतभन्दा बढीले कमजोर भएको छ र हाल अमेरिकी डलरको तुलनामा १५९.१२ मा कारोबार भइरहेको छ ।









प्रतिक्रिया