विदेशबाट फर्कंदा एयरपोर्टमा औंठीको ४० हजार भन्सार तिरेपछि चर्चा, कति ल्याउन पाइन्छ सुन ?

1.1k
Shares

काठमाडौं । विदेशबाट बिदामा स्वदेश फर्किएका एक नेपाली युवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचमा भोगेको नमीठो अनुभवले यतिबेला सामाजिक सञ्जाल तरङ्गित बनेको छ ।

विदेशी श्रमिकलाई विमानस्थलमा यातना दिने काम भइरहेको भन्दै किरण सुवेदी नाम गरेका एक व्यक्तिले भन्सार जाँचमा भएको एक घटनाको खुलासा गरेका छन् ।

उनले आफूले लगाएको १८ ग्रामको सुनको औँठीलाई काँचो सुन भन्दै भन्सारका कर्मचारीले ४० हजार कर तिर्न लगाएको गुनासो पोखेका छन्।

करिब १० दिनअघि नेपाल आएका सुवेदी १२ घण्टाको लामो हवाई यात्रापछि रातको करिब १२ बजेको समयमा थकित अवस्थामा विमानस्थल पुगेका थिए । उनी घर पुग्ने उत्साहमा थिए, तर भन्सार जाँचपासमा पुगेपछि उनको उत्साहमा ब्रेक लाग्यो।

सुवेदीले बताए अनुसार भन्सार जाँचका क्रममा उनको औँलामा लगाएको करिब १८ ग्रामको सुनको औँठीलाई काँचो सुन भन्दै निकाल्न लगाइयो। भन्सारका कर्मचारीले काँचो सुन भएको भन्दै सो औँठीको १० प्रतिशत कर तिरेपछि मात्रै लैजान पाइने बताए । कर्मचारीले एक हप्ताभित्र आएर कर तिरेर मात्र सामान लैजान पाइने भनेपछि आफू अलमल्ल परेको उनी बताउँछन् ।

मध्यरातमा विमानस्थल झरेका पोखराका उनलाई बारम्बार काठमाडौं आउन सम्भव थिएन । त्यसकारण उनी ४० हजार रुपैयाँ बुझाएर आफ्नो औँठी लिएर बाहिर निस्किए । विमानस्थल भन्सार जाँचपासमा भएको यस घटनापछि सामाजिक सञ्जालमा यसबारे बहस भइरहेको छ । श्रमिकले लगाएर आएको देख्ने विमानस्थल भन्सारले टनका टन सुन ल्याउँदा किन देख्दै भन्दै प्रश्न उठिरहेको छ ।

‘हाम्रो देशको अर्थतन्त्र हामी जस्तै विदेशी भूमिमा कर्म गर्न गएकाले तिरेको रेमिट्यान्सबाटै चलेको होइन र? अनि हामीमाथि नै यस्तो अत्याचार किन? यो त्यहाँ कार्यरत कर्मचारीको मनपरी हो कि कानुनमै भएको कुरा हो, यसलाई सम्बन्धित निकायले राम्रोसँग विचार गरोस्,’ उनी भन्छन् ।

नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको महत्त्वपूर्ण भूमिका रहेको अवस्थामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमाथि हुने यस्ता घटनाले नकारात्मक सन्देश दिने उनको भनाइ छ ।

भन्सार विभागका अनुसार विदेशबाट आउँदा महिलाको हकमा ५० ग्रामसम्म र पुरूषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु नपर्ने व्यवस्था छ ।

साथै एक जना व्यक्तिले यो बाहेक थप २ सय ग्रामसम्मका सुनको गहना भन्सार बिन्दुबाट महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था छ। त्यस्तै गहनाको आकार मात्रै दिएर बनाइएका बेरूवा औंठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नदिइने विमानस्थल कार्यालयको भनाइ छ ।

Skip This