लुम्बिनी केबलकारको ६ महिनाको व्यापार सवा ५ करोड, २ अर्ब लगानीमा पाँचतारे होटल बनाउँदै

0
Shares

काठमाडौं । आईपीओ निष्कासनको पाइपलाइनमा रहेको लुम्बिनी केबलकारले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ५ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा १२ करोड ३० लाख रुपैयाँ, सन् २०२४ मा १३ करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा २ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा गत आवको तुलनामा केबलकार चढ्ने पर्यटकको सङ्ख्या ११ प्रतिशतले घटेको छ । पर्यटकको आगमनमा कमी आएसँगै आम्दानीमा १४ प्रतिशतले गिरावट आएको छ। सन् २०२५ मा यो ७ प्रतिशतले घटेको थियो ।

आइएमई ग्रुपद्वारा सञ्चालित कम्पनीले केबलकार सेवासँगै २ अर्ब २५ करोड ८० लाख रुपैयाँ लगानीमा पाँचतारे होटल बनाउने भएको छ । हालसम्म कर्जाको व्यवस्थापन भइसकेको छ भने कम्पनीको आईपीओ पाइपलाइनमा छ ।

कम्पनीले २३ करोड रुपैयाँ ऋण भुक्तानी गरेसँगै यसको ‘गियरिङ प्रोफाइल’मा सुधार आएको छ । उक्त भुक्तानी करिब ५० प्रतिशत हकप्रद सेयर (राइट इस्यु, कुल आकार करिब ५७ करोड ७० लाख रुपैयाँ) बाट प्राप्त रकमको सहयोगमा गरिएको हो, जसमा गत जनवरीसम्म करिब ४३ प्रतिशत (२५ करोड रुपैयाँ) रकम प्रवाह भएको छ ।

कम्पनीले बाँकी हकप्रद सेयरबाट प्राप्त रकम होटल परियोजनाको पुँजीगत खर्चमा प्रयोग हुने अपेक्षा गरेको छ । साथै, प्रस्तावित आईपीओले आगामी होटल परियोजनाका लागि आवश्यक वित्तीय स्रोत व्यवस्थापनमा सहज हुने कम्पनीले जनाएको छ ।

सन् २००४ मा स्थापना भएको यस कम्पनीले केबलकार सेवामार्फत आम्दानी गरिरहेको छ । कम्पनीले केबलकारसँगै पाँचतारे होटलको सेवा पनि दिने योजना बनाएको छ । कम्पनीको ‘बटम स्टेसन’ रुपन्देही जिल्लामा र ‘टप स्टेसन’ पाल्पा जिल्लामा पर्दछ । कम्पनीले सन् २०२३ को मेदेखि केबलकार सञ्चालनमा ल्याएको हो भने होटलको निर्माण कार्य हाल पहिलो चरणमा छ ।

कम्पनीका अनुसार लुम्बिनी केबलकारकै वरपर अर्को केबलकार परियोजनासँगको प्रतिस्पर्धाका कारण पर्यटकको सङ्ख्या घट्दा सञ्चालन आम्दानी घटेको छ । यद्यपि, सञ्चालन नाफा करिब ५० प्रतिशत कायम छ । पर्यटक आगमनमा कमी आउँदा कम्पनीको नाफामा नकारात्मक प्रभाव परेको रेटिङमा उल्लेख छ । सन् २०२६ को जनवरीसम्म कम्पनीको चुक्ता पुँजीको करिब १० प्रतिशत बराबर सञ्चित घाटा तथा कमजोर कभरेज सूचकहरूले समग्र वित्तीय अवस्था कमजोर रहेको देखाउँछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको प्रस्तावित पाँचतारे होटलमा उच्च कार्यान्वयन जोखिम र त्यसपछिका अन्य जोखिमहरू पनि औंल्याएको छ । हाल होटल परियोजना पहिलो चरणमै रहेकाले कार्यान्वयन र लागत बढ्ने जोखिम कायम छ । साथै, ऋण व्यवस्थापन अझै अन्तिम चरणमा पुगिसकेको छैन । यद्यपि, लगानीकर्ताहरूको इक्विटी भने लगभग पूर्ण प्रतिबद्धतामा रहेको छ ।

चन्द्रप्रसाद ढकाल, रमेश शर्मा र हेमराज ढकालको अधिकांश स्वामित्व रहेको यस कम्पनीले दीर्घकालीन कर्जाका लागि ७३ करोड २० लाख रुपैयाँको रेटिङ गराएको छ । कर्जाका लागि कम्पनीले एलबीप्लस रेटिङ पाएको छ । यसैगरी आईपीओ प्रयोजनका लागि गराइएको इस्युअर रेटिङमा बीप्लस रेटिङ पाएको छ । यो रेटिङको अर्थ ‘वित्तीय दायित्वहरू समयमै पूरा नगर्ने उच्च जोखिम’ रहेको भन्ने हुन्छ ।

लुम्बिनी केबलकारका प्रवर्द्धकहरू आइएमई ग्रुपका अन्य दुई आयोजना चन्द्रागिरी हिल्स र मौलाकाली केबलकारको समेत प्रबर्द्धक हु्न् । मौलाकाली केबलकार सन् २०२५ मे देखि सञ्चालनमा आएको हो भने चन्द्रागिरी सन् २०१६ अगस्ट देखि सञ्चालनमा छ ।

लुम्बिनी केबलकारको वित्तीय सूचकहरू भने कमजोर देखिएको छ । कम्पनीको डेट सर्भिस कभरेज रेसियो ०.८ मात्र छ । अर्थात् कम्पनीको खुद सञ्चालन आम्दानीभन्दा बैंकको किस्ता धेरै देखिएको छ । यसैगरी कम्पनीको इन्टरेस्ट कभरेज रेसियो ०.८ छ । यता, ऋण र आम्दानीको अनुपात १३.९ गुणा रहेको छ ।