पिउने पानीको बोतलमा ‘नेक-सील’ प्रयोग गर्न नपाइने, ३५ दिनभित्र नयाँ नियम लागू गर्न निर्देशन

1.1k
Shares

काठमाडौं । सरकारले पिउने पानीको बोतल र जारको गुणस्तर सुनिश्चित गर्न तथा वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले नयाँ मापदण्ड जारी गरेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै पानीको बोतलमा प्रयोग हुने अतिरिक्त प्लास्टिक (नेक-सील) मा प्रतिबन्ध लगाएको छ।

वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वातावरण विभाग र पानी उद्योगीहरूका प्रतिनिधिहरूबीच भएको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

नयाँ व्यवस्थाअनुसार अबदेखि पानीको बोतलको विर्को (क्याप) सील गरिसकेपछि त्यसको माथि प्रयोग गरिने थप प्लास्टिकको ‘नेक सील’ वा बाह्य प्लास्टिक लेयर प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ ।

यस्तै प्लास्टिकको बाहिरी लेयरको सट्टा अब बोतलको विर्कोमै उत्पादकको पहिचान खुल्ने गरी एम्बुसिङ स्क्रिन प्रिन्ट वा लेजर प्रिन्ट अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्था गरिएको छ। यो व्यवस्था पूर्ण रूपमा लागू गर्न उद्योगीहरूलाई ३५ दिनको समयावधि प्रदान गरिएको छ।

त्यस्तै पिउने पानीको जारतर्फ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट प्राप्त अनुज्ञापत्र नम्बर र उत्पादक कम्पनीको नाम, ठेगाना वा लोगो स्पष्ट देखिने गरी एम्बुसिङ वा स्क्रिन लेबलिङ गर्नु पर्ने व्यवस्था गरिएको छ।

नयाँ उत्पादन हुने जारको हकमा यो व्यवस्था तत्कालै लागू हुनेछ भने पुराना जारहरूको हकमा पूर्ण रूपमा कार्यान्वयन गर्न ६० दिनको समय दिइएको छ।

तोकिएको समयभित्र नयाँ मापदण्ड पालना नगर्ने उद्योगी र व्यवसायीहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने विभागले चेतावनी दिएको छ।

यसको कार्यान्वयनको अवस्थाबारे वाणिज्य विभाग, वातावरण विभाग र खाद्य प्रविधि विभागले संयुक्त रूपमा बजार अनुगमन गर्नेछन्।

प्लास्टिकको अत्यधिक प्रयोग घटाउन र उपभोक्तालाई गुणस्तरीय पानीको सुनिश्चितता प्रदान गर्न यो कदम चालिएको विभागले जनाएको छ।