२०८२ लाई फर्केर हेर्दा (तस्बिरहरू)

70
Shares

काठमाडौं । आजदेखि नेपाली नयाँ वर्ष अर्थात् २०८३ सुरु भएको छ । २०८२ अरू वर्षहरूझैं सामान्य बितेको वर्ष पक्कै होइन।

सामाजिक, राजनीतिक, आर्थिक तथा नेपाली स्वाभिमानको कदरका हिसाबले पनि यस वर्षले धेरै कुराहरू हामीलाई उपहार दिँदै, ती उपहारसँगैका अनुभवहरू पनि छाडेर गएको छ ।

नेपाल फोटो लाइब्रेरीद्वारा खिचिएका केही तस्बिरहरू मार्फत २०८२ सालमा नेपाली जनताले सम्झनुपर्ने र बिर्सनुपर्ने अनेक राजनीतिक, सामाजिक, सांस्कृतिक तथा अन्य घटनाहरूको चर्चा गरौँ ।

२०८२ साल राजनीतिक हिसाबले उतारचढावपूर्ण वर्ष रह्यो ।

अन्य क्षेत्रमा पनि सम्झन र बिर्सन लायक थुप्रै घटना र दुर्घटनाहरू भए । जेनजी आन्दोलनले राजनीति परिवर्तन गर्‍यो तर आर्थिक क्षेत्रमा ठूलो क्षति पनि पुर्‍यायो । निजी क्षेत्रका कयौं उद्योग–व्यवसाय ध्वस्त पारिए । निजी सम्पत्तिमा आक्रमण भयो ।

भदौ २४ को विध्वंसले सबैभन्दा बढी प्रभावित भाटभटेनी सबैभन्दा छिटो उठ्न पनि सफल भयो । आगलागीमा पूर्ण क्षति भएका धेरै आउटलेटहरू पुनः सञ्चालनमा आइसकेका छन् ।

यो वर्ष विगतका वर्षहरूजस्तै सडक दुर्घटनाको नियति पनि बेहोर्नुपर्‍यो । खासगरी धादिङ बस दुर्घटना बिर्सन नसकिने घटना बन्यो। चरौंदीमा भएको दुर्घटनामा ३ विदेशीसहित १९ जनाले ज्यान गुमाए ।

खेल क्षेत्रको कुरा गर्ने हो भने त्रिवि क्रिकेट रंगशाला फ्लडलाइटले सजियो र पहिलो पटक नेपालीहरूले रात्रिकालीन क्रिकेटको मजा लिन पाए। ख्यातिप्राप्त अन्तर्राष्ट्रिय खेलाडीहरूको आगमनले थप रौनक ल्यायो ।

ब्राजिलका प्रख्यात फुटबल खेलाडी रोबर्टो कार्लोसको आगमनले नेपालको प्रचार अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सहयोग गर्‍यो। नेपाल सुपर लिगका लागि उनलाई नेपाल ल्याइएको थियो ।

आर्थिक क्षेत्रमा भने यो वर्ष उल्लेख्य रहेन। यसै पनि शिथिल निजी क्षेत्र जेनजी आन्दोलनका कारण झन् थलियो। यही वर्ष राष्ट्र बैंकको नयाँ गभर्नरमा विश्व पौडेल नियुक्त भए ।

यही वर्ष मधेश खडेरीले आक्रान्त बन्यो । धानले हरियाली हुनुपर्ने खेतहरूमा धाँजा फाटे ।

उता रसुवामा बाढीले वितण्डा मच्चाउँदा चीनसँगको नाका लामो समय बन्द हुन पुग्यो। सयौं गाडी बाढीमा बगे र पुरिए।

मनोरञ्जन क्षेत्रको कुरा गर्ने हो भने भारतबाट आएका नोरा फतेही, सञ्जय दत्त, सोनु निगम लगायतले काठमाडौं तताए।

उता इजरायलमा हमासको आक्रमणमा परी विपिन जोशीले ज्यान गुमाए। उनको शव नेपाल ल्याएर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी/अर्काइभ