खरानीको जगबाट उठ्दै भाटभटेनी (तस्बिरहरू)

140
Shares

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको क्षतिपछि भाटभटेनी सुपरमार्केट पुनर्निर्माणमार्फत बिस्तारै पुनः सञ्चालनमा आउन थालेको छ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले कठिन अवस्थाबाट उठ्दै व्यवसायलाई अघि बढाइरहेको बताएका छन् ।

आन्दोलनका क्रममा क्षति पुगेका भाटभटेनीका स्टोरहरू खरानीकै जगबाट पुनर्निर्माण गरी सञ्चालनमा ल्याउने काम भइरहेको उनको भनाइ छ । ‘मैले मेरो विश्वास जल्न र ढल्न दिइनँ । त्यसैले बिस्तारै व्यवसायलाई निरन्तरता दिने योजनासाथ अघि बढेको छु,’ उनले भने, ‘जे हुनु थियो भइहाल्यो । केही कमजोरी भए पनि अब त्यो खरानीमै बिलाओस्, अब उप्रान्त राम्रो मात्र होस् ।’

हाल ६६ वर्षीय गुरुङले नेपाल बैंक लिमिटेडको जागिर छाडेर २०५० सालमा काठमाडौँमा सानो खाद्य पसलबाट भाटभटेनीको सुरुवात गरेका थिए । छोटो समयमै देशभर फैलिएको उनको व्यापार सञ्जालमा आन्दोलनका क्रममा १२ वटा शाखा पूर्ण रूपमा नष्ट भए भने १६ वटा शाखामा लुटपाट भएको थियो ।

भाटभटेनीका अनुसार उक्त घटनाबाट १६ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको छ । बिमा कम्पनीबाट दुई अर्ब तीन करोड रुपैयाँ क्षतिपूर्ति प्राप्त भए पनि बाँकी पुनर्निर्माण आफ्नै पहलमा भइरहेको छ । पुनर्निर्माणमा कति खर्च भयो भन्ने यकिन विवरण अझै संकलन हुन बाँकी रहेको उनी बताउँछन् ।

जलेर नष्ट भएका १२ मध्ये चार वटा शाखा पुनः सञ्चालनमा आइसकेका छन् । चितवनको भरतपुर, कोटेश्वर, महाराजगञ्ज र बालुवाटारका वेयरहाउस सञ्चालनमा ल्याइएका छन् भने बाँकी आठ शाखा पनि चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

यससँगै उनले व्यावसायिक प्रतिष्ठानको सुरक्षालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको बताएका छन् । ‘पहिलो प्राथमिकता सुरक्षा नै हो । राज्यले लगानीकर्तामा आत्मविश्वास बढाउन सक्नुपर्छ,’ उनले भने ।

तस्बिर : नेपाल फोटो लाइब्रेरीको अर्काइभ