सेयर बजारको गिरावटः लगानीकर्ता अतालिनुपर्ने स्थिति हो कि अवसर?

1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेदेखि सेयर बजार लगातार निरासातर्फ धेकेलिँदै गएको छ । खासगरी, चैत १३ गते रास्वपा सरकार गठन भएदेखि नकारात्मक बन्न थालेको बजार पछिल्लो छ कारोबार दिनमा मात्रै २७४ अंकले घटेर २६७६ बिन्दुमा खुम्चिसकेको छ ।

हुन त, निर्वाचन अघिका छ कारोबार दिनमा सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) छ दिन नै उकालो लागेर ९७ अंकको वृद्धिका साथ फागुन १९ मा २७१२ बिन्दुमा कायम भएको थियो । त्यसपछि, फागुन २१ मा निर्वाचन सम्पन्न भयो र मतपरिणामले रास्वपाको दुई–तीहाई नजिकको एकल सरकार बन्ने निश्चित देखियो ।

यहि, कारण निर्वाचनपछि फागुन २५ गते खुलेको बजार लगातार तीन सकारात्मक सर्किट ब्रेक लाग्दै १६२.९३ अंकको वृद्धिका साथ नेप्से २८७५ बिन्दुमा उक्लियो । केही दिनको उतारचढावबीच चैत १२ गतेसम्म नेप्से सकारात्मक स्थितिमा नै कायम रह्यो । अर्थात् यस दिन नेप्से २९५० बिन्दुमा उक्लिएर बन्द भएको थियो ।

यसबाट बजारले आफ्नो लय कायम नै राख्ने र स्थिति थप सकारात्मक बन्ने अपेक्षा धेरैले राखेका थिए । तर, त्यसो हुन सकेन । चैत १३ गते शुक्रबार रास्वपाको सरकार बनेर प्रधानमन्त्री तथा मन्त्रीले पदभार ग्रहण गरे । सो लगत्तै, शनिबार सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ गर्यो ।

यस कदमलाई कतिपयले गृहमन्त्री सुधन गुरुङको कदम परिपक्व नभएको र प्रतिशोधपूर्ण भएको टिप्पणी गरे । यसले द्वन्द्वको स्थिति सिर्जना गर्ने भन्दै केही आलोचना पनि भयो । नभन्दै, वालेन्द्र सरकार बनेपछिको पहिलो कारोबार दिन नै नेप्से ७१.०५ अंकले घट्यो । यसको भोलिपल्ट अर्थात् चैत १६ मा पनि नेप्से फेरि ४७.७१ अंकले घट्दै सूचक २८५१ बिन्दुमा खुम्चियो ।

यसपछि सरकारले सम्पत्ति शुद्धिकरण मुद्दामा थप उद्योगी व्यवसायी क्षेत्रका मानिसलाई धमाधम पक्राउ गर्न थाल्यो र बजार झनै संकुचित बन्यो । व्यवसायीहरुमाथि सरकारले धमाधम अनुसन्धान बढाउँदै लैजाँदा आइतबार मात्रै पनि नेप्से १०५ अंकले घटेर २६७६ बिन्दुमा खुम्चिन पुग्यो । अर्थात् रास्वपा सरकार बनेदेखि यता मात्रै नेप्से २७४ अंकले घटिसकेको छ ।

यस्तो स्थितिमा बजार लगातार घट्दा पनि सकारकारले बेवास्ता गरेको भन्दै धेरैले सामाजिक सञ्जालमा चर्को आलोचना गरिरहेका छन् । आइतबार केही लगानीकर्ताले त रास्वपा पार्टी कार्यालयमा धर्ना दिनसमेत पुगे । साथै, आइतबार केही लगानीकर्ताले सिंहदरबारमा केही समय धर्नासमेत दिएका थिए । सूचीकृत कम्पनीमा कुनै न कुनै ढंगमा जोडिएका व्यक्तिहरु एकपछि अर्को गरी पक्राउ पर्दै जाँदा त्यसको असर बजारमा देखिनु स्वभाविकै पनि हो ।

यद्यपि, स्वच्छ कारोबार गर्नेले भने हालको स्थितिलाई अवसरको रुपमा लिनुपर्ने तर्क कतिपय लगानीकर्ताले गर्दै आएका छन् ।
‘वर्तमान सरकारले व्यवसायीमाथि गरेको कारबाहीले सूचीकृत कम्पनीहरुको आम्दानी गर्ने क्षमता वा नाफामा परिवर्तन भएको छैन । हालको स्थितिबाट मानिसहरू डराएपछि मूल्य घट्यो भने ती कम्पनीहरू सेयर खरिदका लागि थप योग्य हुन्छन्,’ एक ब्रोकरले भने, ‘यसरी मूल्य घटेमा मूल्य–आम्दानी अनुपात, प्रतिसेयर आम्दानी र आधारभूत पक्षहरू आदि सबैले बजार मूल्यलाई नै सहयोग गर्छन् ।’

उनले हिजोका दिनमा कसैलाई सेयर किन्न मन थियो तर, मूल्य धेरै महँगो लागिरहेको थियो भने अब किन्नका लागि सो व्यक्तिलाई एक किसिमको अवसर बनेको बताए । ‘यदि कम्पनी नै खराब भएर मूल्य घटेको भए अर्कै कुरा हुन्थ्यो,’ उनले भने, ‘तर, कम्पनी र तीनका आधारभूत पक्षमा कुनै असर पुगेको छैन । त्यसैले यसलाई अवसरको रूपमा पनि लिन सक्नुपर्दछ ।’
सूचीकृत कम्पनीका स्टेक होल्डर र लामो समयदेखि सेयर कारोबारमा संलग्न व्यक्तिमाथि अनुसन्धान तीब्र पार्दै जाँदा बजारमा त्यसको नकारात्मक असर देखिएको उनको भनाइ छ ।

‘माफियाहरुलाई कारबाही गर्दा बजार धरासायी हुन्छ भन्ने विश्लेषण गर्ने हो भने यो मार्केट कहिल्यै सुधार हुन सक्दैन,’ सेयर बजार विश्लेषक मुक्ति अर्याल भन्छन्, ‘एक न एकदिन बजार सुधार्नु नै पर्छ । बरु, जतिसक्दो छिटो सुधारको काम गरे राम्रो हुन्छ ।’

उनले सम्पत्ति शुद्धीकरणको मामिलामा विश्वव्यापी रुपमा अनुगमन गर्ने संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टबाट निकाल्न पनि यसरी काम गर्न आवश्यक रहेको बताए ।

एफएटीएफको ग्रे लिस्टबाट निकाल्नुपर्ने आवाज पनि लगानीकर्ताले नै राख्दै आएकाले सरकारको यस कदमलाई बढी नकारात्मक ढंगमा लिन नहुने उनको भनाइ छ । अर्का सेयर लगानीकर्ता देव गुरागाईं इमानदार लगानीकर्ताका लागि भने सरकारको यो कदम भोलिको सुखद भविष्यको आधारशिला हुने बताउँछन् ।

‘सम्पत्ति शुद्धीकरणका नियमहरू हिजो पनि तीतो औषधि थिए, आज पनि छन् । तर, यो तीतोपन नचपाई बजारले वास्तविक मूल्य पाउन सक्दैन,’ गुरागाईं भन्छन्, ‘यदि हामीलाई पारदर्शी, स्वच्छ र वास्तविक लगानीकर्तामैत्री बजार चाहिएको हो भने यो सर्जिकल स्ट्राइकलाई अवसरको रूपमा लिनुपर्छ ।’ उनले पैसाको स्रोत सेतो र लगानीकर्ताको मन सफा भएमा मात्रै बजार दिगो र बलियो हुने बताए ।

यद्यपि, हालको बजारको घट्दो स्थिति र सरकारको मौनतालाई लगानीकर्ताले संकाको रुपमा पनि हेर्नुपर्ने देखिन्छ । बजारलाई विभिन्न बहानामा घटाउने र त्यसको फाइदा भने सीमित व्यक्ति वा समूहले लिने गर्दछन् । सोही कारण बजारको उतारचढावलाई कतिपय स्वार्थ समूहको चलखेलसँग जोडेर संकाको रुपमा पनि हेर्नुपर्ने हुन्छ ।

‘पहिला विभिन्न समयमा बजार घटाउने वा बढाउने कुरामा हल्ला फैलाएर त्यसबाट सीमित समूहले फाइदा लिएका थुप्रै उदाहरण छन् । हाल पनि बजार धेरै घटुन्जेलसम्म मौन बस्ने र आफूले खरिद गरेपछि मात्रै बजार बढाउने ढंगमा कदमहरु चालिन पनि सक्छन्,’ एक लगानीकर्ताले भने, ‘वर्तमान अर्थमन्त्रीका निकटमा पनि कतिपय त्यस्तै व्यक्ति छन् । यसर्थ, यसलाई यो ढंगमा पनि हेर्न जरुरी छ ।’

उनले, राजनीतिक नेतृत्व वा सोसँग जोडिएको स्वार्थ समूहको कदम यस्ता घटनाक्रममा फाइदा लिने किसिमको हुने भएकाले पनि लगानीकर्ताले त्यसलाई बुझेर अगाडि बढ्न आवश्यक भएको बताए ।

सत्ता–समिकराणमा भइरहने फेरबदल र नीतिगत अस्थिरताले पुँजीबजार विकास हुन नसकेको आवाज उठिरहेको समयमा रास्वपाको एकल सरकार बन्ने देखिएपछि लगानीकर्ता बढी नै आशावादी देखिएका थिए । नीति र नेतृत्व स्थिर बन्ने अपेक्षाले लगानीकर्ताको मनोबल बलियो हुँदा सेयर कारोबार र सूचकको वृद्धि पनि सकारात्मक बनेको थियो ।

सो सकारात्मक स्थिति हाल नाजुक बन्दासमेत अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा सरकारले कुनै पनि किसिमको पहलकदमी चालेको छैन । जसले गर्दा बजार थप नकारात्मक बन्न मद्दत गरेको विषय पनि उठिरहेको छ ।