एमचाम नेपाल र परराष्ट्रमन्त्रीबीच छलफल, नेपाललाई लगानी गन्तव्य बनाउनेमा जोड

147
Shares

काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमचाम नेपाल) का प्रतिनिधिहरूले परराष्ट्रमन्त्री शिशिर खनासँग भेट गरी द्विपक्षीय आर्थिक सम्बन्धका विषयमा छलफल गरेका छन् ।

भेटमा एमचाम नेपालले नेपालमा भइरहेको अमेरिकी लगानी र आर्थिक वृद्धिमा त्यसको भूमिकाबारे जानकारी गराएको छ । छलफलमा आर्थिक कूटनीतिलाई प्राथमिकता दिने र व्यापार तथा लगानीका लागि वातावरण तयार गर्ने विषयमा कुराकानी भएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र अमेरिकाबीचको आर्थिक सहयोगका चुनौती, अवसर र आगामी कार्ययोजना समेटिएको एक विस्तृत खाका तयार गर्न एमचाम नेपाललाई सुझाव दिए । उनले आफ्नो आगामी अमेरिका भ्रमणपछि यसबारे थप छलफल गर्ने बताए ।

छलफलमा रोजगारी सिर्जना र निजी क्षेत्रको सहभागिताका विषयमा पनि कुराकानी भएको छ । एमचामले द्विपक्षीय आर्थिक तथा नीतिगत मञ्चहरूमा निजी क्षेत्रको प्रतिनिधित्वको माग गरेको छ । साथै, वैदेशिक लगानी आकर्षित गर्नका लागि स्थिर नीतिगत वातावरण र समयमै निर्णय प्रक्रिया हुनुपर्नेमा एमचामले जोड दिएको छ ।

मन्त्रालयले नेपाललाई लगानी गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने विषयमा छलफल गरेको छ, जसमा एमचामले आफ्नो सञ्जालमार्फत सहयोग गर्ने उल्लेख गरेको छ ।

एमचाम नेपालले नेपाल–अमेरिका द्विपक्षीय हितका आर्थिक तथा नीतिगत मञ्चहरूमा निजी क्षेत्रको व्यवस्थित सहभागिता सुनिश्चित गर्न आफ्नो प्रतिनिधित्वको माग गरेको छ । मन्त्रालयले ‘ब्रान्ड नेपाल’ लाई विश्वस्तरमा प्रवर्द्धन गर्ने पनि प्रतिबद्धता व्यक्त गरेको छ ।

छलफलमा एमचाम नेपालका अध्यक्ष कैलाश बिजयानन्द, निवर्तमान अध्यक्ष निर्मल काजी श्रेष्ठ, संस्थापक अध्यक्ष अजित विक्रम शाह, कोषाध्यक्ष स्नेह राज्यभण्डारी, मनीष थापा, सचिन करञ्जित र कार्यकारी निर्देशक आमिर आर. थापाको उपस्थिति रहेको थियो ।

एमचाम नेपाल नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्था हो ।

Skip This