वायुसेवा निगमको कमाइ १२ प्रतिशतले बढ्यो, ८१ हजार यात्रु बढ्दा सवा ११ अर्ब पुग्यो आम्दानी

126
Shares

वायुसेवा निगममा गत कात्तिक ८ देखि कार्यकारी अध्यक्ष छैनन्। निगमको कामकारबाही नरोक्न सरकारले गरेको अल्पकालीन व्यवस्थाका कार्यकारीले दीर्घकालीन महत्त्वका निर्णय गर्न नसकेको भए तापनि संयोगवश जहाजको नियमित उडान भइरहनुले पनि उडान र आम्दानी दुवै बढाउन सहयोग पुगेको देखिन्छ।

काठमाडौं । नेपाल वायुसेवा निगमको आम्दानी पछिल्लो ८ महिनामा करिब १२ प्रतिशतले बढेको छ ।

निगमले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्मको तथ्याङ्कअनुसार ४ लाख ३४ हजार ६१४ यात्रुलाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानको सेवा दिएको छ। यसबाट निगमले ११ अर्ब ३० करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ।

यो आम्दानी जहाज उडाएर अर्थात् टिकट बेच्दाको मात्रै आम्दानी हो। योबाहेक निगमले गर्ने ग्राउन्ड ह्यान्डलिङ सेवाको आम्दानी यसमा जोडिएको छैन।

निगमले गत वर्ष २०८१/८२ को सोही अवधिमा ३ लाख ५३ हजार ६०१ यात्रुलाई सेवा दिएर १० अर्ब १० करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको थियो।

निगमको गत वर्षको तुलनामा सङ्ख्या २३ प्रतिशतले यात्रु बढ्दा आम्दानी १ अर्ब २० करोडले बढेको छ। यो अवधिमा यात्रु सङ्ख्यासमेत ८१ हजारले बढेको छ। आम्दानीको हिसाबले निगमले यो वर्ष उल्लेख्य फड्को मारेको देखिन्छ।

वायुसेवा निगमका अनुसार गत वर्षको पहिलो ८ महिनाभित्रमा निगमका जहाज ग्राउन्डेड धेरै भएको, सी-चेकको समय त्यतिबेलै परेको र मर्मत गर्न गएको जहाज लामो समय थन्किएर बसेको थियो। यो वर्ष भने यसका सबै जहाजले नियमित उडान गरिरहेका र सी-चेकको तालिकासमेत नपरेकोले पछिल्लो ८ महिनामा आम्दानी र यात्रु सेवा गत वर्षको तुलनामा राम्रो देखिएको हो।

निगमका अनुसार गत फागुन १७ पछिको पश्चिम एसिया तनावले खाडी मुलुकमा उडान प्रभावित भइरहेको छ। यी गन्तव्यमा भएका उडान असरले गत वर्षको तुलनामा आम्दानीमा असर गर्न सक्ने अवस्था पनि देखिएको निगमको भनाइ छ।

निगमले यो वर्षको ८ महिनामा गरेको उडानमा सबैभन्दा बढी यात्रु भारतको दिल्ली सेक्टरमा उडाएको छ। यो गन्तव्यमा निगमले ९५ हजार ८६० यात्रुलाई साउनदेखि फागुनसम्ममा सेवा दिएको छ। तर यो अवधिमा आम्दानी उल्लेख्य गर्नेमा भने जापान सेक्टर छ। यो गन्तव्यमा निगमले ४७ हजार यात्रुलाई सेवा दिएको भए तापनि यसबाट गरेको आम्दानी भने ३ अर्ब ५१ करोड रुपैयाँ छ।

निगमले गरेको उडान गन्तव्यमा दोस्रो धेरै आम्दानी गर्नेमा संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई सेक्टर छ। यो सेक्टरमा निगमले ६९ हजार यात्रुलाई सेवा दिँदा १ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ।

निगमले गरेको आम्दानीमा सबैभन्दा कम चीनको ग्वाङ्झाउ उडानमा भएको छ। यो गन्तव्यमा निगमले ६ हजार ७ सय यात्रुलाई सेवा दिँदा १४ करोड ४० लाख मात्रै आम्दानी गरेको छ।

यात्रु सङ्ख्याका हिसाबले १५ हजारलाई मात्रै सेवा दिँदा साउदी अरबको दमाम उडान गर्दा ४३ करोड रुपैयाँ आम्दानी गरेको छ।

निगमले आन्तरिक उडानमा भने जम्मा १६ हजार यात्रुलाई सेवा दिएको छ। यस्तो सेवाबाट निगमले पछिल्लो ८ महिनामा ७ करोड १३ लाख रुपैयाँ मात्रै आम्दानी गरेको पनि तथ्याङ्कले देखाएको छ।