
एजेन्सी । एयर क्यानडाको एक्सप्रेस क्षेत्रीय जेट न्युयोर्कस्थित ला गार्डिया विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार साँझ ग्राउन्ड सवारीसँग ठोक्किएको छ । घटनापछि विमानस्थल केही समयका लागि बन्द गरिएको बताइएको छ ।
फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटराडार ट्वान्टीफोरका अनुसार मोन्ट्रियलबाट आएको सिआरजे–नाइन हन्ड्रेड विमानले करिब २४ माइल प्रतिघण्टा (३९ किलोमिटर प्रतिघण्टा) को गतिमा उक्त सवारीलाई ठक्कर दिएको थियो । उक्त विमान ज्याज एभिएसनले सञ्चालन गरेको थियो, जुन एयर क्यानडाको क्षेत्रीय साझेदार हो।
अमेरिकी फेडेरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) ले आकस्मिक अवस्थाका कारण विमानस्थलमा सबै उडानहरू अस्थायी रूपमा रोक्ने निर्णय गरेको थियो । नियामकको सूचनाअनुसार अवस्था लम्बिन सक्ने उच्च सम्भावना रहेको जनाइएको थियो, तर विस्तृत विवरण खुलाइएको छैन।
विमानस्थलको वेबसाइटका अनुसार आउने उडानहरू अन्य विमानस्थलतर्फ मोडिएका वा पुनः आफ्नो प्रस्थान बिन्दुतर्फ फर्काइएका थिए । अर्को सूचनामा एफएएले विमानस्थल १८:०० जीएमटीसम्म बन्द रहन सक्ने जनाएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका अपुष्ट भिडियोहरूमा विमानको अगाडिको भाग (नोज)मा क्षति देखिएको र विमान केही माथितिर झुकेको देखिन्छ । यद्यपि, रायटर्सले ती भिडियोहरूको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।
न्युयोर्क फायर डिपार्टमेन्टले एक वक्तव्य जारी गर्दै रनवेमा विमान र सवारी संलग्न घटनामा आफूहरू खटिएको जनाएको छ, तर थप विवरण भने दिएको छैन।
यस घटनाबारे एयर क्यानडा र एफएए ले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।








प्रतिक्रिया