अर्थशास्त्री केशव आचार्यको निधन

1.3k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा अर्थशास्त्री केशव प्रसाद आचार्यको निधन भएको छ । मस्तिष्कघात भएपश्चात अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत आचार्यको सोमबार निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि आचार्यलाई गत मंगलबार अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि ७२ वर्षीय उनलाई चाबहिलस्थित मेडिकेयर अस्पताल पुर्‍याइएको थियो । त्यसपछि थप उपचारका लागि थापाथलीस्थित अन्नपूर्ण न्यूरो अस्पताल लगिएको हो ।

आचार्यले नेपाल राष्ट्र बैंकमा तीन दशक काम गरेका थिए । साथै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)मा समेत उनले काम गरेका थिए । आचार्य दुई पटक अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार भएका थिए ।

मंगलबार बिहान पूजा गर्न फूल टिपेर फर्कंदा स्वास्थ्यमा असहजता महसुस गरेपछि आराम गर्न भनेर बसेका आचार्य घरमै बेहोस भएका थिए । त्यसपछि उनलाई परिवारका सदस्यले अस्पताल पुर्‍याएका थिए ।

आचार्यकी छोरी हाल नेपाल बाहिर भएकीले मंगलबार छोरी नेपाल फर्किएपछि मात्रै दाहसंस्कार हुने पारिवारिक स्रोतले जनाएको छ ।