
काठमाडौं । निर्वाचन आयोगले गत फागनु २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम खर्च विवरण सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनमा कुल ५ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको छ ।
आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरेको भए पनि अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको मात्र स्रोत सहमति प्राप्त भएको थियो । प्राप्त सहमति मध्ये हालसम्म ३ अर्ब ५४ करोड २८ लाख रुपैयाँ वास्तविक खर्च भइसकेको र भुक्तानी गर्न बाँकी दायित्वहरू समेत जोड्दा कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ पुग्ने आयोगले जनाएको छ ।
कसरी भयो खर्च कम?
निर्वाचन आयोगका अनुसार यसपटकको निर्वाचन विगतको तुलनामा मितव्ययी भएको दाबी गरेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रतिनिधि सभा निर्वाचनमा कुल ५ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको जानकारी दिए । यो खर्चलाई विश्लेषण गर्दा प्रतिमतदाता औसत २८४ रुपैयाँ खर्च भएको देखिएको उनको भनाइ छ ।

निर्वाचनलाई मितव्ययी बनाउन आयोगले अपनाएका केही रणनीतिहरूले खर्च घटाउन मद्दत गरेको प्रवक्ता भट्टराईले बताए ।
आयोगले यसअघिका निर्वाचनमा खरिद गरिएका सामग्रीहरूलाई मर्मत गरी पुन: प्रयोग गर्ने नीति लिएकाले खर्च कम भएको जनाएको छ ।
निर्वाचन सामग्री खरिद गर्दा सरकारी स्वामित्वका संस्थाहरूसँग सिधै सम्झौता गरी खरिद गरिएको थियो, जसले गर्दा खर्च जोगिएको आयोगले जनाएको छ ।
वातावरणमैत्री निर्वाचन र मितव्ययिताका लागि यसपटक ‘रबर म्याट’ जस्ता सामग्री खरिद नगरिएको आयोगले जनाएको छ ।
कुल ५० प्रकारका निर्वाचन सामग्री मध्ये ३७ प्रकारका सामग्रीहरू जिल्ला तहबाटै खरिद गरिएको थियो भने १३ प्रकारका मुख्य सामग्री मात्र केन्द्रबाट खरिद वा छपाइ गरिएको आयोगले जनाएको छ ।
प्रतिनिधि सभाको कुल २७५ सिटमध्ये प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना निर्वाचित भएका छन्। निर्वाचित सदस्यहरूमा १७९ पुरुष (६५.०९%) र ९६ महिला (३४.९१%) रहेका छन्।
कुल १ करोड ८९ लाख ३ हजार ३८९ मतदाता कायम भएकोमा प्रत्यक्षतर्फ ९४.५५ प्रतिशत र समानुपातिकतर्फ ९६.०५ प्रतिशत मत सदर भएको छ। समग्रमा ४.७ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ।
निर्वाचन आयोगले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचनको अन्तिम परिणाम सहितको प्रतिवेदन पेश गरेको छ ।









प्रतिक्रिया