
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) प्रधानमन्त्री बन्ने तयारीमा छन् ।
रास्वपाको अभूतपूर्व विजयपछि बालेन प्रधानमन्त्री बन्न लागेका हुन् । ३६ वर्षीय बालेन र्यापर, काठमाडौं महानगरपालिकाको मेयर हुँदै अहिले देशको कार्यकारी प्रमुख नै बन्न लागेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा पनि बालेनको चर्चा जारी रहेको छ ।
भारतको बेङ्गलोरको ‘नित्ते मिनाक्षी’कलेजबाट’स्ट्रक्चरल इन्जिनियरिङ’ मास्टर्स गरेका बालेनबारे भारतीय सञ्चारमाध्यमहरूले निकै चासोका साथ समाचारहरू बनाइरहेका छन् । यसैक्रममा बीबीसी हिन्दीले बालेनकी दिदी सुजाता शाहसँग बालेनको बाल्यका लगायतका विषयमा कुराकानी गरेको छ । सुजाता पेन्टर हुन् ।
यस्तो छ बालेनकी दिदी सुधासँग बीबीसी हिन्दीका लागि इमरान कुरेशीले गरेको कुराकानीको अनुवादको सम्पादित अंश-
इमरान: सुजाता, धेरै-धेरै धन्यवाद । चुनावको नतिजा आएपछि तपाईँको भाइ(बालेन) सँग कुरा हुँदा कस्तो कुरा भयो ? के भने उनले ?
सुजाता शाह: चुनावको दौरान म उसलाई धेरै डिस्टर्ब गर्न चाहन्नथेँ । त्यसैले धेरैजसो म म्यासेज नै गर्थें । भोटिङको दिन उसलाई कल गरेँ र कुरा भयो । मेरो सधैँ चिन्ता यही रहन्छ कि उसले आफ्नो स्वास्थ्यको ध्यान राम्रोसँग राखिरहेको छ कि छैन । एउटी ठुली दिदीले सधैँ आफ्नो भाइमा बच्चा नै देख्छे र उसको फिक्री सधैँ भइरहन्छ ।
इमरान: तपाईँको बाल्यकालका केही कुराहरू याद आउँछन्?
सुजाता शाह: उ मभन्दा ४ वर्ष कान्छो छ । उ हुर्कँदै गरेको मैले देखेकी छु । उ कत्ति पनि बदमास थिएन। बाल्यकालमै उ एउटा ‘ज्ञानी पुरुष’ जस्तो लाग्थ्यो । उसको कुरा, विचार र जवाफ दिने शैली ठुला मान्छे वा वृद्धहरूको जस्तो हुन्थ्यो। सबैजना हाँस्थे र अचम्म पनि मान्थे। उ एकदमै सुलझिएको थियो, कहिल्यै अलमलमा पर्दैनथ्यो । जे गर्नु छ, सोचेर-सम्झेर गर्थ्यो।
इमरान: उ यहाँ (बेङ्गलोर) कुन वर्ष पढ्न आयो?
सुजाता शाह: सन् २०१५ मा नेपालमा ठुलो भूकम्प गएको थियो। त्यतिबेला उ एउटा फर्ममा सिभिल इन्जिनियरको रूपमा काम गर्दै थियो । भूकम्पपछि माहोल कस्तो थियो तपाईँलाई थाहै छ। मेरो श्रीमानले मलाई बेङ्गलोर बोलाउनुभयो तर म परिवार छोडेर आउन चाहन्नथेँ । उ मलाई र मेरो बच्चालाई छोड्न यहाँ आयो। यहाँ आएपछि उसलाई बेङ्गलोरको मान्छे, कल्चर र माहोल मन पर्यो। उसको मोह मेरो बच्चा (उसको भान्जा) प्रति धेरै थियो।
उसले त्यतिबेलै सोच्यो कि यतैबाट मास्टर्स गरूँ । उसलाई ‘स्ट्रक्चरल इन्जिनियरिङ’ पढ्नु थियो । किनकि नेपाल भूकम्पको जोखिम भएको देश हो, त्यसैले संरचना कसरी बलियो बनाउने र क्षति कम गर्ने भन्ने उसको उद्देश्य थियो। त्यसका लागि उ बेङ्गलोरको ‘नित्ते मिनाक्षी’ मा पढ्न आयो ।
इमरान: के यहाँ आएपछि उसको राजनीतिक विचार बदलियो?
सुजाता शाह: राजनीतिमा उ पहिलेदेखि नै थिएन । उसले राजनीतिबारे हामीसँग कुरा पनि गरेन। उ आफ्नो मनको दुख सेयर गर्दैनथ्यो तर त्यसको समाधान लिएर हाजिर हुन्थ्यो। उसले इन्जिनियरिङ राम्रोसँग पास गर्यो । त्यतिबेला पनि उ र्यापरको रूपमा धेरै चर्चित थियो, र्याप ब्याटल विनर थियो। उसका र्यापमा सामाजिक मुद्दाहरू र गहिरो शब्दहरू हुन्थे जसले सबैको मन छुन्थ्यो ।
इमरान: र्यापमा बालेनको रुचि कसरी आयो? के परिवारमा संगीतको माहोल थियो?
सुजाता शाह: मेरो ड्याडी धेरै राम्रो कवि हुनुहुन्थ्यो। उहाँ आयुर्वेद चिकित्सक भए पनि कविता उहाँको रुचि थियो। उहाँलाई संस्कृतका श्लोकहरू कण्ठस्थ थिए। सायद त्यसैको प्रभाव बालेनमा पनि पर्यो। उसले कक्षा ९ देखि नै नेपालमा र्याप सुरु गरेको थियो। त्यसैले त बच्चाहरूले उसलाई धेरै मन पराउँछन् । वृद्धहरूले त उसलाई भगवानको अवतार नै भन्छन्। हाम्रो समाजमा र्याप भन्नाले गालीगलौज बुझिन्थ्यो, तर बालेनको र्याप एकदमै सभ्य छ। उसले आक्रोश र पिडालाई सभ्य भाषामा निकाल्यो। उसले सडक बालबालिका (सडक बालक) का बारेमा पनि गीत गाएको छ।
इमरान: र्यापरको इमेजले उसलाई मेयर बन्न कति सहयोग गर्यो?
सुजाता शाह: सहयोग गर्यो जस्तो लाग्छ । उ सधैँ नकारात्मक कुराको विरुद्धमा थियो र त्यो कुरा आफ्नो कविता र र्यापबाट व्यक्त गर्थ्यो। उ स्टेप बाइ स्टेप अगाडि बढ्यो-र्यापर, इन्जिनियर, मेयर र अबको यात्रा।
जब उ मेयर बन्यो र उसले मठमन्दिरको संरक्षण र संस्कृतिको उत्थान गर्यो, तब लाग्यो कि देशलाई यो स्थितिबाट उकास्न ऊभन्दा राम्रो अभिभावक अरू कोही हुन सक्दैन।
जहाँसम्म भारत-नेपाल सम्बन्धको कुरा छ, म उसलाई राजनीतिज्ञको रूपमा देख्दिनँ। उ एउटा सच्चा मान्छे हो जो आफ्ना मानिसहरूलाई सम्हालेर हिँड्छ । उसको मनमा कुनै खोट छैन। भारत र नेपालको सम्बन्ध सदियौँ पुरानो छ र यो कसैले तोड्न सक्दैन। मोदीजीसँगको कुरा पनि सकारात्मक भएको सुनेर खुसी लाग्यो । पहिले मलाई वा कुनै पनि नेपालीलाई राजनीतिमा खासै रुचि थिएन । बालेनले नै धेरैलाई राजनीतिमा तानेका हुन् । नेपालका धेरैजसो क्षमतावान् युवाहरू बाहिर छन्, देश खोक्रो भएको छ । बालेनले सबैलाई यो उनीहरूको जिम्मेवारी हो भनेर महसुस गराउँदैछन् । युवाहरू अहिले नै जागे भने मात्र आगामी पुस्ताले राम्रो जीवन बाँच्न पाउनेछन् ।
इमरान: धेरै-धेरै धन्यवाद हामीसँग कुरा गर्नुभएकोमा।







प्रतिक्रिया