
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने (अभियोगपत्र संशोधन गर्ने) महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइका लागि पेसी तोकिएको ह
महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्ध विभिन्न जिल्लामा विचाराधीन रहेका मुद्दाहरूमध्ये ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ हटाउन र केवल ‘सहकारी ठगी’मा मात्र मुद्दा सीमित गर्न जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएकी थिइन्।
७ पृष्ठ लामो ‘टिप्पणी र आदेश’ मार्फत भएको उक्त निर्णयले लामिछानेलाई गम्भीर प्रकृतिका दुई मुद्दामा उन्मुक्ति दिन खोजेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल ‘सफल’ले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए।
महान्यायाधिवक्ताको निर्देशनपछि कास्की र रुपन्देही जिल्ला अदालतमा अभियोगपत्र संशोधनका लागि निवेदन पेस गरिए पनि सर्वोच्चमा यो विषय विचाराधीन रहेकाले त्यहाँको प्रक्रिया अघि बढ्न सकेको छैन।
काठमाडौं र पर्साका सरकारी वकिल कार्यालयले भने महान्यायाधिवक्ता कार्यालयको निर्देशनअनुसार अभियोगपत्र संशोधनका लागि अहिलेसम्म जिल्ला अदालतमा निवेदन दिएका छैनन्।
आजको सुनुवाइले महान्यायाधिवक्ताको उक्त निर्देशन कार्यान्वयन हुने वा नहुने भन्ने विषयमा महत्त्वपूर्ण आदेश दिने अपेक्षा गरिएको छ।







प्रतिक्रिया