
काठमाडौं । अन्तर्राष्ट्रिय चेन होटल म्यारियटको व्यापार घटेको छ । नक्सालमा अवस्थित यो पाँचतारे होटलको आम्दानी १० प्रतिशतले संकुचन भएको हो ।
काठमाडौंमा होटलहरूबीच बढेको तीव्र प्रतिस्पर्धाका कारण म्यारियटको व्यावसायिक सूचकहरूमा केही ह्रास आएको देखिन्छ।
एभरेस्ट हस्पिटालिटी एन्ड होटलले राजधानीमा काठमाडौं म्यारियट ब्रान्डमा होटल चलाइरहेको हो । सो होटलको आम्दानी आर्थिक वर्ष २०२५ मा अघिल्लो वर्षको तुलनामा १०.७ प्रतिशतले घटेको हो ।
होटलले सन् २०२४ मा १ अर्ब ७९ करोड ४० लाख रुपैयाँको व्यापार गरेकामा सन् २०२५ मा घटेर १ अर्ब ६२ करोड १० लाख रुपैयाँमा खुम्चिएको छ । सन् २०२३ मा होटलको व्यापार १ अर्ब ७० करोड १० लाख रुपैयाँ थियो ।
आम्दानी घट्नुको मुख्य कारण प्रति कोठा औसत आम्दानी र अकुपेन्सी रेटमा आएको गिरावटलाई मानिएको छ । सन् २०२४ मा प्रति कोठा औसत १९ हजार ६ सय ९९ रुपैयाँ रहेकोमा सन् २०२५ मा घटेर १८ हजार १ सय ५३ रुपैयाँ कायम भएको छ । त्यस्तै, अकुपेन्सी दर पनि अघिल्लो वर्षको ६७ प्रतिशतबाट घटेर ६१ प्रतिशतमा झरेको छ । यससँगै सञ्चालन नाफा पनि ३४.३९ प्रतिशतबाट घटेर ३२.२२ प्रतिशतमा सीमित भएको छ ।
व्यापार घटे तापनि कम्पनीले ऋण भने निरन्तर घटाउँदै लगेको छ । कम्पनीले अघिल्लो वर्षको १ अर्ब ७४ करोड ३३ लाख रूपैयाँ बराबरको बैंक सुविधाका लागि रेटिङ गराएकामा हालै त्यसलाई घटाएर १ अर्ब ४३ करोड ४४ लाखमा सीमित बनाएको छ । कुल कर्जा सीमा घटाउनु अर्थ कम्पनीले ऋण चुक्ता गर्दै लगेको बुझिन्छ ।
होटलको आम्दानी घटे पनि वित्तीय सूचकहरू भने निकै उत्साहजनक छन् । कम्पनीको गियरिङ रेसियो (डेट-इक्विटी अनुपात) सन् २०२४ को १.०३ गुणाबाट सुधार भएर सन् २०२५ मा ०.७५ गुणामा झरेको छ । अर्थात् म्यारियटको ऋण स्वपुँजीभन्दा कम भएको छ । यसैगरी डेट कभरेज रेसियो पनि ३.३४ गुणाबाट सुधारिएर ४.२१ गुणा पुगेको छ । अर्थात वार्षिक किस्ताभन्दा सञ्चालन नाफा ४ गुणाभन्दा बढी छ । यी २ सूचाकांकको अर्थ म्यारियट होटल ऋण तिर्नका निम्ति निकै सक्षम देखिन्छ । कम्पनीसँग २८ करोड ७० लाख रुपैयाँ बराबरको नगद सञ्चित रहेकाले तरलतामा पनि कुनै समस्या छैन ।
विश्वप्रसिद्ध ‘म्यारियट’ ब्रान्डसँगको आबद्धता, अनुभवी प्रवर्द्धक समूह (शशिकान्त अग्रवालको एमएस ग्रुप) र काठमाडौंको मुख्य व्यापारिक केन्द्र नक्सालमा होटलको अवस्थिति कम्पनिका थप सबल पक्ष हुन् ।
तर, कम्पनीका लागि केही आन्तरिक र बाह्य जोखिम छन् । मुख्य गरी काठमाडौंमा नयाँ पाँचतारे होटलहरू थपिने क्रमले बजारमा तीव्र प्रतिस्पर्धा सिर्जना गरेको छ । त्यस्तै, एभरेस्ट हस्पिटालिटी एन्ड होटलको लगानी एउटै मात्र होटलमा लगानी केन्द्रित हुनु, बैंकको ब्याजदरमा हुने उतारचढाव र डलरको विनिमय दरमा हुने जोखिम पनि कम्पनीका लागि चुनौती बनेका छन् । होटलको केही ऋण अमेरिकी डलरमा रहेकोले विनिमय दरको असर पर्ने देखिन्छ, तर विदेशी मुद्रामा हुने आम्दानीले यसलाई केही हदसम्म सन्तुलन गर्दछ ।
सन् २०१३ मा स्थापित यो कम्पनी सन् २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । १.३५ हेक्टर क्षेत्रफलमा फैलिएको यस होटलमा २१४ वटा कोठा रहेका छन् । एमएस ग्रुप अफ कम्पनिजको मुख्य लगानी रहेको यस होटलको अध्यक्षता सुमितकुमार अग्रवालले गरिरहेका छन् भने गौरव अग्रवाल प्रबन्ध निर्देशक हुन् । गौरबले एमएस ग्रुप अन्तर्गतका सबै होटल हेर्ने गर्छन् ।
सरकारले सन् २०२३–२०३३ लाई ‘पर्यटन दशक’ घोषणा गरेको र बजेटमार्फत होटल क्षेत्रलाई विभिन्न छुट दिएका कारण मध्यम अवधिमा व्यवसायमा पुनः सुधार आउने अपेक्षा गरिएको छ । आगामी दिनमा अकुपेन्सी दर र प्रति कोठा आम्दानी बढाउनु नै होटलको मुख्य चुनौती रहनेछ ।
आम्दानी घटे तापनि कम्पनीको बलियो वित्तीय संरचना र अनुभवी प्रवर्द्धक समूहका कारण केयर रेटिङ्सले यसअघिको रेटिङलाई नै निरन्तरता दिएको छ । कम्पनीले १ अर्ब ४३ करोड ४४ लाख रुपैयाँको कुल बैंक सुविधाका लागि रेटिङ गराएकामा १ अर्ब ३३ करोड ४४ लाख रूपैयाँबराबरको दीर्घकालीन कर्जाका लागि ट्रिपल बी प्लस र १० करोड रूपैयाँ अल्पकालीन कर्जाका लागि ए टु रेटिङ पाएको छ ।







प्रतिक्रिया