छ वर्षपछि बेइजिङबाट उत्तर कोरिया जाँदै रेल

133
Shares

एजेन्सी । छ वर्षपछि बेइजिङबाट प्योङयाङ जाने पहिलो रेल सेवा सुरु हुने भएको छ ।

चीनले सीमापार पूर्वाधार सुदृढ गर्दै छिमेकी देशसँग सम्बन्ध पुनः सुदृढ गर्ने प्रयासका बीच बिहीबार चीनको राजधानी बेइजिङबाट पहिलो यात्रुवाहक रेल प्रस्थान गर्ने तयारी गरिएको हो ।

रेल नम्बर के–२७ शुक्रबार बेलुका ६ बजेर ७ मिनेटमा उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्नेछ जसका लागि बोहाइ सागरको उत्तरतर्फ हुँदै चीनको सीमावर्ती सहर दान्दोङमा रोकिने गरी २४ घण्टा ४१ मिनेटको यात्रा तय गरिएको चीनको रेलवे प्राधिकरणले जनाएको छ ।

चीन र उत्तर कोरिया ‘मैत्रीपूर्ण छिमेकी’ भएको भन्दै सीमापार यात्रुवाहक रेल सेवाले जनस्तरमा आदानप्रदान बढाउन सहयोग गर्ने चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले बिहीबार पत्रकारहरूलाई बताएका छन् ।

यस्ता आदानप्रदान सहज बनाउन दुवै पक्षबीच थप संवाद बढाउन चीनले समर्थन गर्ने पनि उनले बताए ।

सन् २०२० मा कोभिड–१९ महामारी सुरु भएपछि उक्त रेल सेवा स्थगित गरिएको थियो । उत्तर कोरिया प्रायः विदेशी पर्यटकका लागि बन्द नै छ, जहाँ सीमित व्यवस्थाअन्तर्गत मुख्यतः रूसी पर्यटक समूहलाई मात्र अनुमति दिइने गरेको यात्रा एजेन्सीहरूले बताएका छन् ।

बेइजिङ र प्योङयाङ जोड्ने रेल सेवा हप्तामा चार दिन दुवै दिशामा सञ्चालन हुनेछ, जुन सोमबार, बुधबार, बिहीबार र शनिबार चल्ने चीनको रेल विभागले सूचनामार्फत जनाएको छ ।

व्यापारिक भिसा भएका यात्रुका लागि मात्र टिकट उपलब्ध गराइएको र बिहीबारको यात्राका लागि सबै टिकट बिक्री भइसकेको तर मार्च १८ का लागि केही टिकट अझै उपलब्ध रहेको बेइजिङस्थित एक ट्राभल एजेन्सीले जनाएको छ ।

दान्दोङ–प्योङयाङबीचको छोटो दूरीको रेल सेवा भने दुवै दिशामा दैनिक सञ्चालन हुनेछ, जसअन्तर्गत पहिलो रेल बिहीबार बिहान १० बजे चीनको उत्तरपूर्वी सहर दान्दोङबाट छुटेर बेलुका ६ बजेर ७ मिनेटमा प्योङयाङ पुग्ने चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

कोभिड–१९ महामारीका कारण सीमापार उडान सेवा पनि रोकिएको थियो। उत्तर कोरियाको सरकारी विमान कम्पनी एयर कोरियोले सन् २०२३ मा चीनतर्फ उडान पुनः सुरु गरेको थियो र अहिले बेइजिङ र प्योङयाङबीच हप्तामा दुई पटक, मंगलबार र शनिबार उडान सेवा सञ्चालन गरिरहेको कम्पनीको वेबसाइटको बुकिङ सेवामा देखिएको छ।