सम्पूर्ण अपडेट

कांग्रेस-२.० लाई मतदाताले किन पत्याएनन् ?

770
Shares

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनले नेपाली राजनीतिमा एउटा स्पष्ट सन्देश दिएको थियो, नागरिक अब पुरानो अनुहार र पुरानै कार्यशैलीबाट आजित भइसके र धेरै अघिसम्म पुगिसके । त्यही आन्दोलनको राप र तापलाई समातेर नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गगन थापा-विश्वप्रकाश शर्माले एउटा जोखिमपूर्ण तर साहसिक अडान लिए,‘पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा जान सकिँदैन ।’

उनीहरूको तर्क थियो, ‘नागरिकले सुशासन र नेतृत्व परिवर्तन खोजेका छन्, पुरानै सभापतिलाई अघि सारेर जाँदा शर्मनाक हार व्यहोर्नुपर्ने निश्चित छ ।’ यही अडानले अन्ततः पुसमा विशेष महाधिवेशन निम्त्यायो । पार्टीमा जबरजस्त हस्तक्षेप गर्दै देउवा विस्थापित गरिए । गगन थापालाई सभापति र विश्वप्रकाश शर्मालाई उपसभापति बनायो । कांग्रेसभित्र एउटा तप्कामा ‘नयाँ आशाको सञ्चार’ भयो, तर निर्वाचनको मैदानमा यो ‘अपडेटेड भर्सन’ कांग्रेस २.० नराम्ररी पछारिएको छ।

त्यसका पछाडि कयौं कारणहरू छन् ।

विशेष महाधिवेशनपछि कांग्रेस प्राविधिक रूपमा नफुटे पनि राजनीतिक र भावनात्मक रूपमा विभाजित भयो । नयाँ नेतृत्वले पार्टीमा हस्तक्षेपकारी भूमिका खेल्न थालेपछि देउवा समूह किनारामा धकेलियो । यसको सबैभन्दा असर टिकट वितरणमा देखियो ।

आफ्नो राजनीतिक जीवनको उत्तरार्द्धमा रहेका देउवा आफैँले ‘अन्तिम पटक’ उम्मेदवार बन्ने इच्छा राख्दा पनि नयाँ नेतृत्वले उनलाई टिकट दिएन । पुराना नेतालाई बिदा गर्नुपर्ने जेनजी आन्दोलनको माग अनुसारको निर्णय उनीहरूले गरेका थिए । यसले कांग्रेसप्रति मतदाताको विश्वास जाग्ने आशा गरिएको थियो ।

तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग बिद्रोह गर्दै कांग्रेस प्रजातान्त्रिक गठन गरेर पार्टीमा फिर्ता भएपछि संस्थापक बनेका देउवालाई किनारा गर्दा त्यसको प्रभाव सुदूरपश्चिकमको नतिजामासमेत देखिएको कतिपय कांग्रेसीको तर्क छ ।

‍डडेलधुरा, जहाँ २०६४ को माओवादी जनलहरका बेला समेत देउवा अपराजित थिए । त्यहाँ यसपटक कांग्रेसका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पराजित हुनुले देउवा पक्षको ‘मौन विद्रोह’ र असन्तुष्टि हो भनि मान्नेहरू पनि छन् ।

देउवा न प्रचारमा हिँडे, न भोट हाल्न डडेलधुरा गए । बरु उपचारका लागि भन्दै सिंगापुर बसेर पार्टीको पराजयलाई टुलुटुलु हेरिरहे । हुन त, फागुन २१ को चुनावको मतगणना जारी रहँदा स्वयं देउवा नै उम्मेदवार भएको भए पनि सुदूरपश्चिममा कांग्रेसको अवस्था यो भन्दा सुधारिन्थ्यो भन्ने विश्वास गर्न सकिने अवस्थामा बनेको छैन । किनकी रास्वपासँग पराजय व्यहोरेका उम्मेदवार केही सय मतले होइन हजारौं मतले पछि परे ।

‘१०० पार’ को नारा र १७ सिटको नियति

विशेष महाधिवेशनपछि गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वमा कांग्रेसले एउटा नारा बनाएको थियो ‘अब की बार १०० पार’ । नेतृत्व परिवर्तनपछि कांग्रेसले निर्वाचनमा बहार ल्याउने उनीहरूको दाबी थियो । तर, परिणाम ठ्याक्कै उल्टो आयो । २०७९ को निर्वाचनमा ५७ प्रत्यक्ष सिट जितेको कांग्रेस अहिले केवल १७ सिटमा खुम्चिएको छ । समानुपातिक मतको प्रारम्भिक मतगणना पनि त्यस्तै देखिएको छ ।

पार्टीभित्रैको पुराना नेताहरूको ठूलो पङ्क्तिलाई बाहिर राखेर चुनावमा होमिनु गगन–विश्वका लागि प्रत्युत्पादक बन्यो । पुराना नेताहरूलाई टिकट नदिँदा ती नेता र समर्थक तथा कार्यकर्ताहरू निर्वाचनमा निष्क्रिय बसे । पार्टी भित्रको सुसुप्त आन्तरिक कलहले कांग्रेसलाई चुनावी मैदानमा घाटा गरायो ।

मतदाताले कांग्रेस–२.० लाई किन पत्याएनन् ?

बदलिएको कांग्रेस भन्दै प्राविधिक रुपमा समाजिक सञ्जाल, विभिन्न फोरमहरूमा प्रचारप्रसार गरिए पनि नतिजा त्यसको विपरित देखियो । कांग्रेसको यो ‘अपडेटेड भर्सन’ लाई मतदाताले पत्याएनन् । त्यसका पछाडि केही कारणहरू छन् ।

गगन र विश्वले नेतृत्व त बदले, तर उनीहरूले बोकेको ‘कांग्रेस २.०’ ले मतदातालाई यो कांग्रेस साँच्चै बदलिएको हो भन्ने विश्वास दिलाउन सकेन । देउवालाई टिकट नदिँदैमा वा नेतृत्व बदलिँदैमा कांग्रेसको पुरानो दाग मेटिँदैन भन्ने मतदाताको बुझाइ रह्यो ।

कांग्रेसले आफ्नो भित्री कलह मिलाउनै समय खर्च गरिरहँदा नयाँको नारा दिएको रास्वपाले ‘नो नट अगेन’ को नारासहित कांग्रेसको परम्परागत र नयाँ मतदाता दुवैलाई तान्यो ।

गगन थापाले जुन विद्रोहको कुरा गरेका थिए मतदाताले त्यो विद्रोह कांग्रेसभित्रको पात्र परिवर्तनमा नभइ रास्वपा जस्तो नयाँ शक्ति र बालेनमा देखे ।

‘देउवा निर्वाचनमा हिँडे पार्टीको मत घट्छ’ भन्ने सभापति गगन थापा आफैँ सर्लाही–४ मा डा. अमरेशकुमार सिंहसँग पराजित हुँदा अपडेट भर्सनमाथि पनि प्रश्न उठ्न थालेको छ । १७ सिटको यो नतिजाले अपडेटेड अर्थात नेतृत्व परिवर्तनपछि मतदातामा विश्वास जाग्छ भन्ने गगन–विश्वको रणनीति सफल हुन सकेन ।

विशेष महाधिवेशनपछि कांग्रेसको एउटा तप्कामा जुन उत्साह देखिएको थियो त्यो केवल ५० दिनमै सेलाएको छ । उपसभापति विश्वप्रकाश शर्माले ‘समय कम भएकोले बुझाउन नसकेको’ तर्क गरे पनि यो प्रमाणित गर्न सकिने अवस्था रहेन ।

अहिलेको नतिजाले कांग्रेसलाई एउटा कठोर मोडमा पुर्‍याएको छ । २०७९ मा ८८ सिटसहित पहिलो दल बनेको कांग्रेस अहिले निरिह प्रतिपक्षी बन्ने निश्चित भएको छ । कांग्रेस–२.० मा अपडेट त भयो, तर यसको ‘सफ्टवेयर’ लाई मतदाताले पूर्ण रूपमा अस्वीकृत गरिदिए ।

कांग्रेसलाई अपडेट गराउन विश्व-गगनहरूले प्रयत्न गरे पनि त्यसलाई रास्वपाको बालेन कार्डले कमजोर बनाइदियो । रास्वपाको उदयले कांग्रेसको ‘नयाँ भर्सन’ को चमकलाई फिक्का बनाइदियो । गगन र विश्वले कांग्रेसभित्रै बसेर सुधारको कुरा गरिरहँदा रास्वपाले पुरै प्रणाली र पुराना दलहरूको विकल्प प्रस्तुत गर्‍यो । युवा पुस्ता जसलाई कांग्रेसले ‘जेनजी’ विद्रोहपछि आफ्नो आधार मानेको थियो उनीहरूले कांग्रेसभित्रको ‘आंशिक सुधार’ भन्दा रास्वपाको ‘पूर्ण नयाँपन’ लाई रोजे ।

प्रधानमन्त्रीमा कांग्रेसले गगनलाई अघि सारेर चुनावमा होमिएको थियो तर रास्वपाले बालेनलाई अघि सार्‍यो । बालेनको अगाडि अपडेटेड कांग्रेस कमजोर बन्न गयो । पुराना दललाई वर्षौंदेखि भोट हाल्दै आएका मतदाताले बालेनकै ‘स्पिड’मा घण्टीमा छाप लगाएर ब्यालेटमा मत खसाले । महानगरमा राम्रो काम गरेको प्रचारप्रसार र उनीमाथि मतदाताले गरेको भरोसा गगनको भन्दा निकै माथि हुँदा कांग्रेस इतिहासकै कमजोर अवस्थामा आइपुग्यो । रास्वपा आइतबार साँझ साढे ६ बजेसम्मको मतपरिणाम अनुसार १२० मा जित निकाल्दै ५ स्थानमा अग्रता बनाइरहेको छ ।

कांग्रेसका अधिकांश उम्मेदवारको पराजयको कारण रास्वपा बन्यो । त्यसमा पनि रास्वपामा भोट दिनेले ति दलका क्षेत्रगत उम्मेदवारभन्दा पनि ‘बालेनलाई प्रधानमन्त्री बनाउने’भन्दै मत परिवर्तन गरे जसले गर्दा अपडेट कांग्रेसले मतदाताको दिमागी ‘डिभाइस’मा खास काम गर्न सकेन ।

यो हार गगन वा विश्वको व्यक्तिगत असफलता मात्र होइन बरु विगत ३० वर्षदेखि कांग्रेसले बोकेका भ्रष्टाचार, कुशासन र सत्तालिप्साका पुराना भारीहरूको परिणाम हो । नयाँ नेतृत्वले ती भारीहरू बिसाउन खोजे पनि जनताले उनीहरूलाई त्यही पुरानै संयन्त्रको अङ्गका रूपमा हेरे जसको परिणाम आजको कांग्रेसले व्यहोरिरहेको छ । अब कांग्रेसले नारामा मात्र आफूलाई अपडेट नगरी व्यवहारमै अपडेट गरेन भने आगामी दिनमा अवस्था झन कमजोर बन्ने जोखिम हुन्छ ।