
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापा साढे ५० हजार मतान्तरले विजयी बनेका छन् । थापा सम्भवतः हालसम्मकै धेरै मतान्तरले विजयी हुने उम्मेदवार हुन् ।
हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थापा सबैभन्दा बढी मत ल्याउने उम्मेदवार हुन् । अन्तिम मतपरिणाम अनुसार डा. थापाले ५८ हजार ८९४ मत प्राप्त गरे ।
डा. थापाले आफ्ना नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ४५९ मतान्तरले पराजित गरे । गुरुङले ८ हजार ४३५ मत प्राप्त गरे ।
नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरे ८ हजार २७५ मतका साथ तेस्रो स्थानमा रहे । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गौरव बोहराले ७ हजार ७८८ मत प्राप्त गरे।
२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट एमाले अध्यक्ष केपी ओलीले ५२ हजार ३ सय १९ मत ल्याएका थिए । ओलीले २८ हजार ५ सय ७६ मतान्तरले चुनाव जितेका हुन् । उनी २०७९ को निर्वाचनमा सबैभन्दा धेरै मत र धैरै मतान्तरले चुनाब जित्ने नेता थिए ।
यसअघि सबैभन्दा ठूलो मतान्तरको रेकर्ड रवि लामिछानेको नाममा थियो । २०८० को वैशाखमा भएको उपनिर्वाचनमा चितवन क्षेत्र नं. २ मा रविले ४२ हजार ९६२ मतान्तरले जितेका थिए । रविले ५४ हजार १७६ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत मात्र प्राप्त गरेका थिए ।
यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि रवि लामिछानेले सोही क्षेत्रबाट ३४ हजार १७० को फराकिलो मतान्तरले जितेका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७४ को निर्वाचनमा निकै ठूलो मतान्तरले जित हासिल गरेका थिए ।
झापा क्षेत्र नं. ५ मा ओलीको मतान्तर २८ हजार ८४२ थियो । उनले ५७ हजार १३९ मत पाउँदा कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत पाएका थिए ।
२०७९ को निर्वाचनमा पनि ओलीले झापा ५ बाटै २८ हजार ५७६ को मतान्तरले चुनाव जितेका थिए ।
माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि २०७४ को निर्वाचनमा ठूलो मतान्तरले जितेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ र २०७९ दुवै निर्वाचनमा राम्रो मतान्तरले जितेका थिए ।
बाबुराम भट्टराईले पहिलो संविधानसभा निर्वाचन २०६४ मा गोरखाबाट ऐतिहासिक जित निकालेका थिए ।
गोरखा क्षेत्र नं. २ मा उनले ४६ हजार २७२ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वीले कांग्रेसका चन्द्रप्रसाद न्यौपानेले ६ हजार १७१ कम मत पाएका थिए । त्यस समयमा यो मतान्तर निकै चर्चामा थियो । गोरखा-२ ले खसेको मतको करिब ८३ % मत बाबुरामले पाएका थिए ।
२०८२ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा धेरै मत ल्याउने उम्मेदवारहरू
रुपन्देही–३ मा डा. लेखजंग थापाले कायम गरेको ऐतिहासिक मतान्तर मात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अन्य उम्मेदवारहरूले पनि भारी मतान्तरले जितेका छन् ।
स्थापित नेताहरू विष्णु पौडेलदेखि शेखर कोइरालासम्म भारी मतान्तरले पराजित भएका छन् ।
रुपन्देही–२ मा रास्वपाका सुलभ खरेलले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई स्तब्ध पारे । खरेलले ५६ हजार ५५० मत ल्याउँदा पौडेल मात्र १२ हजार ८६१ मतमा खुम्चिए ।
मोरङ–६ मा रास्वपाकी रुविना आचार्यले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई ४२ हजारभन्दा बढीको मतान्तरले पराजित गरिन् । रुविनाले ५५ हजार ५१३ मत प्राप्त गर्दा कोइराला १२ हजार ८५० मतमा रोकिए ।
धनुषा–३मा कांग्रेस नेता विमलेन्द्र निधिलाई रास्वपाका मनिष झाले पराजित गरे । झाले ४३ हजार ९८८ मत ल्याउँदा निधि १६ हजार ६५२ मतमा सीमित भए ।
रास्वपा सभापति रवि लामिछानेले चितवन–२ बाट ५४ हजार ४०२ मतका साथ सानदार जित दर्ता गरेका छन् । उनले कांग्रेसकी मिनाकुमारी खरेललाई करिब ४० हजारको मतान्तरले पछि पारे ।
बारा–४ मा रास्वपाका रहबर अन्सारी ४१ हजार २०० मतका साथ विजयी भए । उनले एमालेका कृष्णकुमार श्रेष्ठलाई पराजित गरे ।
बारा–३ मा अरविन्द साह ४० हजार ६१७ मतका साथ विजयी हुँदा कांग्रेसका पूर्वमन्त्री फरमुल्लाह मन्सुर मात्र १० हजार मतमा खुम्चिए ।
मोरङ–४ मा कांग्रेसका पूर्व महामन्त्री गुरुराज घिमिरेलाई रास्वपाका सन्तोष राजवंशीले २८ हजारभन्दा बढी मतान्तरले पराजित गरे । राजवंशीले ४० हजार ८३३ मत प्राप्त गरे ।
कास्की–३मा रास्वपाकी विना गुरुङ ३७ हजार ७५० मतका साथ विजयी भइन् । उनले एमालेका मनोज गुरुङलाई भारी मतान्तरले पछि पारिन् ।








प्रतिक्रिया