सम्पूर्ण अपडेट

कोशीबाट माटोको उदय हुने छाँट, हर्क सामपाङसहित ३ उम्मेदवारले लिए अग्रता

602
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा श्रम संस्कृति पार्टीले कोशी प्रदेशका ३ स्थानमा अग्रता हासिल गरेको छ ।

सुनसरी क्षेत्र नं. १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष उम्मेदवार हर्कराज राई ५ हजार ३२५ मतका साथ अग्रस्थानमा रहेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङले ४ हजार १४१ मतका साथ पछ्याइरहेका छन् । धरान उपमहानगर समेटिएको यस क्षेत्रमा तामाङको अग्रतालाई उल्ट्याउँदै राईले अग्रता बनाएका हुन् ।

पाँचथर र खोटाङमा पनि माटो चुनाव चिह्नसहित भिडेको श्रम संस्कृति पार्टीको अग्रता छ । पाँचथर–१ मा श्रम संस्कृति पार्टीका हस्तराज शर्मा ४ हजार ४२३ मतका साथ अगाडि छन् । उनले नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ (३ हजार ६७२ मत) लाई पछि पारिरहेका छन्।

खोटाङ–१ मा आरेन राई २ हजार ६१२ मतसहित अग्रस्थानमा छन् । उनलाई नेपाली कांग्रेसका द्वारिकाजी राईले १ हजार ७८६ मतका साथ पछ्याइरहेका छन् ।