सम्पूर्ण अपडेट

नवनिर्वाचित सांसद रञ्जु भन्छिन्ः जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छ

56
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना न्यौपानेले जनताको भावनाअनुसार आफूले काम गरेरै देखाउनुपर्ने बताएकी छन् । उनले यो जित आफूहरूका लागि खुसीसँगै चुनौती पनि रहेको बताइन् ।

आज निर्वाचित भएपछि पत्रकारहरूसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दर्शनाले भनिन्, ‘३०/३५ वर्षदेखि बारम्बार धोका दिएकाहरूको ढोकै बन्द गरिदिन्छौँ भन्ने नेपाली जनताले भोट दिनुभएको छ । हाम्रो लागि सुखद र चुनौती छ । हामीले गरेर देखाउनैपर्छ ।’

उनले काठमाडौँ क्षेत्र नम्बर १ का मतदातालाई धन्यवाद दिँदै अहिले देखिएको जनमत वैकल्पिक र विवेकशील राजनीतिको जित भएको प्रतिक्रिया पनि दिइन् । यसलाई पार्टीले विशेष रुपमा लिएको पनि उनले बताइन् ।

उनले १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी हुन् । आजै उनलाई मुख्य निर्वाचन अधिकृतले विजयीको प्रमाणपत्र प्रदान गरिसकेको छ । आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा क्षेत्रीलाई नौ हजार ९१ मतान्तरले पछि पार्दै ३० वर्षीया न्यौपाने निर्वाचित भएकी हुन् ।