सम्पूर्ण अपडेट

रास्वपाको देशभर लहर, ओलीसहित प्रमुख दलका प्रभावशाली नेता धेरै क्षेत्रमा पछि

266
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव उल्लेखनीय रूपमा देखिएको छ ।

बिहीबार सम्पन्न निर्वाचनको प्रारम्भिक रुझानअनुसार शुक्रबार दिउँसोसम्म रास्वपाले अधिकांश निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ भने परम्परागत ठूला दलका शीर्ष नेता नै पछि परेको अवस्था देखिएको छ ।

उपलब्ध विवरणअनुसार शुक्रबार दिउँसो तीन बजेसम्म रास्वपाले ८९ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । यसका तुलनामा नेपाली कांग्रेस ९ स्थानमा, नेकपा एमाले ८ स्थानमा र नेकपा ७ स्थानमा मात्रै अघि देखिएका छन् ।

निर्वाचनको प्रारम्भिक परिणामअनुसार काठमाडौं–१ बाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना विजयी भएसँगै पार्टीले पहिलो जित हात पारेको छ । त्यस्तै मुस्ताङ–१ बाट योगेश गौचन थकाली पनि विजयी भएका छन् । तर हालसम्म एमाले र नेकपाले कुनै पनि निर्वाचन क्षेत्रमा जित दर्ता गर्न सकेका छैनन्।

यसपटकको निर्वाचनमा प्रमुख राजनीतिक दलका प्रभावशाली नेताहरू धेरै स्थानमा फराकिलो मतान्तरले पछि परेका छन् । झापा–५ मा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग पछि परेका छन् । बालेन शाहले ५ हजार २५४ मत प्राप्त गरी अग्रता लिइरहँदा ओली एक हजार २४८ मतसहित पछ्याइरहेका छन् ।

यता रुकुम पूर्वमा भने पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायम राखेका छन् । उनले ५ हजार ३९ मत प्राप्त गर्दा एमालेका लीलामणि गौतम एक हजार ६२४ मतसहित दोस्रो स्थानमा छन् ।

रौतहट–१ मा नेकपाका सहसंयोजक माधवकुमार नेपाल प्रारम्भिक मतगणनामा निकै पछि परेका छन् । यहाँ रास्वपाका रमेश चौधरीले अग्रता लिँदै मतान्तर बढाइरहेका छन् । राजेश चौधरीले १ हजार ४९९ मत प्राप्त गर्दा योगेन्द्र यादवले ६३१ मत, अनिल झाले ३३६ मत र माधवकुमार नेपालले ३२० मत मात्रै प्राप्त गरेका छन् ।

सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पनि प्रतिस्पर्धामा पछि परेका छन् । यहाँ रास्वपाका डा. अमरेशकुमार सिंह ९७६ मतसहित अग्रस्थानमा छन् भने थापा ७४४ मतसहित दोस्रो स्थानमा छन् ।

काठमाडौँ–५ मा एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तेस्रो स्थानमा पुगेका छन् । रास्वपाका सस्मित पोखरेल ११ हजार ४३३ मतसहित अग्रता लिइरहँदा कांग्रेसका महामन्त्री प्रदीप पौडेल ३ हजार ५५६ मतसहित दोस्रो स्थानमा छन् ।

दाङ–२ मा रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले अग्रता लिएका छन् । उनले २ हजार ४२९ मत प्राप्त गर्दा एमाले महासचिव शंकर पोखरेल ५८३ मतसहित पछि परेका छन् । गुल्मी–१ मा पनि रास्वपाका सागर ढकाल ६२२ मतले अगाडि छन् भने एमालेका प्रदीप ज्ञवाली ४४९ मतसहित दोस्रो स्थानमा छन् । कांग्रेसका डा. चन्द्र भण्डारीले ३३६ मत प्राप्त गरेका छन् ।

गुल्मी–२ मा एमाले उपाध्यक्ष गोकर्ण विष्ट पनि रास्वपाका गोविन्द पन्थीभन्दा पछि परेका छन् । पन्थीले ५०२ मत ल्याउँदा विष्टले २९९ मत प्राप्त गरेका छन् ।

रुपन्देही–२ मा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल ठूलो मतान्तरले पछि परेका छन् । यहाँ रास्वपाका सुलभ खरेल १६ हजार ७८८ मतसहित अग्रता लिइरहेका छन् भने पौडेलले ३ हजार ५१७ मत प्राप्त गरेका छन् ।

मोरङ–६ मा कांग्रेस नेता.शेखर कोइराला पनि पछि परेका छन् । रास्वपाकी रुविना आचार्यले ६ हजार ६०१ मत ल्याउँदा कोइरालाले १ हजार ४२७ मत मात्रै प्राप्त गरेका छन् । मोरङ–४ मा कांग्रेसका महामन्त्री गुरुराज घिमिरे पनि पछाडि छन् । यहाँ रास्वपाका सन्तोष राजवंशी ११ हजार ५९७ मतसहित अगाडि छन् भने घिमिरेले २ हजार ६५२ मत प्राप्त गरेका छन् ।

महोत्तरी–१ मा नेकपाका गिरिराजमणि पोखरेल दोस्रो स्थानमा छन् । उनले ३ हजार १८ मत प्राप्त गर्दा रास्वपाका प्रमोदकुमार महतो ७ हजार ३१५ मतसहित अग्रता लिइरहेका छन् ।

धादिङ–१ मा नेकपाका राजेन्द्र पाण्डे चौथो स्थानमा पुगेका छन् । यहाँ रास्वपाकी आशिका तामाङ ४ हजार ३७५ मतसहित अग्रता लिइरहेकी छन् । एमालेका भूमि त्रिपाठी २ हजार ९४ मतसहित दोस्रो स्थानमा छन् भने कांग्रेसका कृष्ण रिजाल १ हजार १८६ मतसहित तेस्रो स्थानमा छन् ।

चितवन–३ मा रास्वपा सभापति रवि लामिछाने १० हजार ८२२ मतको फराकिलो अन्तरले अगाडि छन् । कांग्रेसकी मीनाकुमारी खरेल ३ हजार ३१९ मतसहित दोस्रो स्थानमा छन् ।

सुदूरपश्चिमको अछाम–१ मा.भीम रावल ३६४ मतले अगाडि छन् भने एमालेका दीपकबहादुर साउद २१४ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै झापा–२ मा रास्वपाकी उम्मेदवार तथा पूर्वउपसभामुख इन्दिरा राना २ हजार ९६० मतले अग्रता लिइरहेकी छन् । भक्तपुर–२ मा एमाले सचिव महेश बस्नेत पनि पछाडि परेका छन् । यहाँ रास्वपाका राजीव खत्री ४ हजार ८४ मतसहित अग्रस्थानमा छन् भने बस्नेतले १ हजार ८१९ मत प्राप्त गरेका छन् ।

यसरी प्रारम्भिक मतगणनाको रुझान हेर्दा यसपटकको प्रतिनिधिसभा निर्वाचनमा नयाँ दल र नयाँ अनुहारतर्फ मतदाताको झुकाव देखिएको विश्लेषण गर्न थालिएको छ ।