
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरूले सुदूरपश्चिमका समस्या र अधिकारलाई चुनावी मुद्दा मात्र बनाएर दशकौंसम्म अल्झाएको आरोप लगाउँदै अब त्यस्तो बेथिति चल्न नदिने चेतावनी दिएका छन् ।
धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले भने, ‘जनताको अधिकार र सुदूरपश्चिमका मुद्दालाई माग बनाएर वर्षौंसम्म अल्झाउने काम अब बन्द गर्नुपर्छ। पुराना दलहरूले घोषणापत्रमा राम्रा अक्षर लेखेर जनतालाई झुक्याउने युगको अन्त्य रास्वपाले गर्नेछ।’
सभापति लामिछानेले नेपालको इतिहासमा पहिलो पटक आफ्नो पार्टीले जनतासँग प्रत्यक्ष ‘कन्ट्र्याक्ट’ (सम्झौता) गरेको दाबी गर्दै ५ वर्षको स्थायी सरकारका लागि जनमत मागेका छन् । ‘हिजोका चुनावमा सधैं नेताले जिते, तर जनताले कहिल्यै जितेनन्। यसपटक नेता होइन, जनता जिताउने चुनाव हो,’ उनले भने ।
भारतमा रहेका नेपालीलाई भोट हाल्न निम्तो
विशेष गरी रोजगारीका लागि भारतमा रहेका सुदूरपश्चिमका दाजुभाइ दिदीबहिनीहरूलाई सम्बोधन गर्दै उनले देश बदल्नका लागि यो ऐतिहासिक अवसर भएको बताए ।
परदेशको भूमिमा श्रम गरिरहेका नेपालीहरूको बाध्यता र पीडा आफूले बुझेको भन्दै उनले भने, ‘छुट्टी मिलाएरै भए पनि यसपटक भोट हाल्न आउनुहोला, देश बदल्ने अवसर फेरि नआउन सक्छ।’
विपक्षी दलहरूले रास्वपा आए गरिबका बस्तीमा डोजर लगाउँछन् भनी फैलाएको भ्रमको खण्डन गर्दै लामिछानेले कडा जवाफ दिए। उनले प्रश्न गरे, ‘हामीले डोजर चलाउँछौँ भन्नेहरूलाई सोध्नुहोस्— विगत ३५ वर्षदेखि हाम्रो सपनामाथि कसले डोजर चलायो? डोजर तिनले चलाएका हुन्, हामी त बनाउन आएका हौँ।’
उनले सिंहदरबारको स्वरूप मात्र नभई प्रवृत्ति नै बदल्नुपर्नेमा जोड दिए।
उनले यो चुनाव आफ्नो वा पार्टीको मात्र नभई भावी सन्ततिको भविष्य निर्माण गर्ने उत्सव भएको बताउँदै घर-घरमा पुगेर घण्टीको सन्देश पुर्याउन कार्यकर्ता र शुभचिन्तकहरूलाई निर्देशन दिएका छन् ।
रविले गरेको सम्बोधनको पूर्णपाठ
आज मलाई धेरै चिज भन्न मनै छैन । किन भन्न मन छैन भने यहाँ उपस्थित सबैजनाको आँखामा, यहाँ उपस्थित सबैजनाको मनमा एउटा भावना निस्किएको छ । त्यो भावना, त्यो भावना छताछुल्ल गरि देखिएको छ । मत पत्रमा छाप लगाउने त २१ गते हो, तर मन पत्रमा छाप लागिसकेको छ ।
मैले भन्नुपर्ने कुराहरु धेरै छैनन्, थोरै छन् । त्यसकारणले थोरै कुराहरुलाई म निरन्तर भन्दै आइरहेको छु । हरेक चोक चौतारोमा भन्दै आएको छु, तिनै कुराहरुलाई अगाडि बढाउँछु । जनताको अधिकारलाई, जनताको मुद्दालाई, सुदूरपश्चिमको मुद्दालाई, सुदूरपश्चिमको अधिकारलाई माग बनाएर वर्षौंसम्म अल्झाउने काम अब बन्द गर्नुपर्छ ।
सटर त एउटा बन्द हुनुपर्छ । कि हाम्रो सटर बन्द गराईदिनुस् कि यिनको सटर बन्द गराउनुस् । सटर बन्द हुन्छ । कुशासनको सटर बन्द गर्ने हो । बेथितिको सटर बन्द गर्ने हो । बेरोजगारी, अशिक्षा सबै सटर बन्द गर्ने हो एकै पटक २१ गते । इतिहास लेख्ने हो भोट हाल्ने होइन ।
यहाँ भूमिहीनका समस्याहरु आएका छन् । कैयौं साथीहरुको समस्याहरुलाई लिएर मानिसहरुले पार्टीको एजेन्डा बनाएर वर्षौंसम्म त्यो एजेन्डालाई परमानेंट बनाएर राखेका छन् । सधैं त्यही एजेन्डा राख्ने त्यसलाई भोट बैंक बनाउने । रास्वपाले के गर्छ म तपाईलाई बताउँछु रास्वपाले के गर्छ । रास्वपाले राजनीतिक विकृति र विसंगति मध्येको एक रहेको जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणा पत्रमा बलङ्ग्रे अक्षरले लेख्ने युगलाई अन्त्य गर्छ ।
जनताको माग हो त्यसलाई पुरा गर्ने हो । त्यसकारणले हामीले ५ वर्षको स्थायी सरकार यसपटक मागेका छौँ । पहिलो पटक नेपालको इतिहासमा कुनै राजनीतिक दलले जनतासँग कन्ट्र्याक्ट गरेको छ । जनताले भोट दिने, जनतालाई नेताले वाचा गर्ने अनि सजाय पनि त्यही भोट दिने जनताले पाउने? अब यस्तो चल्दैन । अब यस्तो चल्दैन । वाचा जसले गरेको हो पुरा नगर्ने हो भने सजाय त्यसैले पाउने हो जनताले सजाय पाउने होइन । यसको लागि ५ वर्षको स्थायी सरकारको हामीले अपेक्षा गरेका छौँ ।
आज मलाई धेरै लामो केहि पनि भन्नु छैन । धेरै लामो केहि पनि भन्नु छैन । म तमाम विशेष गरेर भारतमा काम गरिरहनु भएका सुदूरपश्चिमका दाजुभाइ दिदीबहिनीहरुलाई यहीबाट प्रणाम गर्न चाहन्छु, सम्झना सुनाउन चाहन्छु, तपाईहरुलाई धेरै धेरै नमस्कार र सम्झना छ । मलाई थाहा छ, मलाई थाहा छ परदेशको भूमि, परदेशको भूमिमा सजिलो छैन । कामको चापाचाप छ, परिवार पाल्ने बाध्यताले जानुपरेको छ । तर पनि छुट्टी मिलाएरै भए पनि भोट हाल्न चाहिँ आउनुहोला है । यसपटक देश बदल्नुपर्नेछ ।
यो देशमा चुनाव पहिला पनि भएको हो । यो देशमा कुनै पार्टीले पहिला पनि जितेको हो । यो देशमा कुनै न कुनै नेताले सधैँ जितेको हो । तर सधैँ नेताले जिते जनताले कहिल्यै पनि जितेनन् । यसपटक जनता जिताउने हो । यसपटक जनता जिताउने हो । व्यक्तिगत हिसाब हामीलाई केही भन्नु छैन । हामी इतिहास बदल्ने सोच लिएर आएका छौँ ।
मेरो राजनीतिक आकांक्षा अरु कसैको राजनीतिक आकांक्षा ठूलो कुरा होइन । देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर हामी यसपटक आएका छौँ । सुदूरपश्चिममा आएर हामी यति भन्न चाहन्छु, म यहाँका समस्याहरुका बारेमा उम्मेदवारहरुमा तपाईहरुले कुरा गर्नुभएकै छ । उम्मेदवारहरुले घरदैलोमा गर्नुभएको कुरा म यो मञ्चबाट बताउन चाहन्न । बस म यति भन्न चाहन्छु, यसपटक मत नबाँड्नुहोला ।
मलाई थाहा छ, पुराना राजनीतिक दलहरुप्रति आस्थावान साथीहरु पनि हुनुहुन्छ यहाँ । यहाँ नआए पनि कतै न कतै हेरेर बसिरहनु भएको होला । कतिपय राजनीतिक दलको साथीहरुले ‘त्यो रास्वपाको कार्यक्रममा जाने होइन है’ भनेर थर्काएर नआएर लाइभ हेरेर पनि बसिरहनु भएको होला अहिले । तपाईको निष्ठा तपाईको पार्टीका लागि म त्यसलाई सम्मान गर्दछु । तपाईले जीवनभर गर्वै देखि एउटा पार्टी समाउनु भएको हो, म त्यसलाई पनि सम्मान गर्न चाहन्छु । तर देशको अस्तित्व जोगाउने बेलामा, देशलाई ऐतिहासिक योगदान दिनुपर्ने बेलामा तपाईले कुनै दिन भन्न पाउनुहुनेछ कि यो देशको परिवर्तनमा मेरो पनि लगानी छ, मेरो पनि भोट छ, यो त्यही बेला हो । यो त्यही बेला हो ।
तपाईका पार्टीहरु हिजो थिए, भोलि रहलान् नरहलान् म भन्न सक्दिन । हाम्रै पार्टी भोलि के हुन्छ म भन्न सक्दिन तर आफ्नै हातले इतिहास लेख्ने यो अवसर यो देशले फेरि कहिले पाउँछ पाउँदैन मलाई थाहा छैन । त्यसकारणले यो अवसर ऐतिहासिक अवसर हो । देशका लागि अब एक साथ हिँड्नु पर्दछ भनेर रवि लामिछानेहरु भोलि आउँछन् आउँदैनन् मलाई थाहा छैन न अहिले आएका छन् । यसलाई राष्ट्रिय अवसर र उत्सव बनाउनु पर्छ । म यति भन्नका लागि आएको हुँ ।
यहाँको मेडिकल शिक्षाका कुरा, यहाँको बाटोघाटाका कुरा, यहाँका पूर्वाधारका कुराहरु हामीले भनिसकेका छौँ । म खुद्रा-खुद्रामा कुरा गर्न आएको छैन अब एकै पटक बदल्नु पर्ने जे हो सबै बदल्ने हो । मान्छेलाई सिंहदरबार जलेको कुरा चलेको छ । यहाँ मानिसहरु भनेका छन् सिंहदरबार जलेको छ भने सिंहदरबारलाई बनाउने हो । तर बनाउनु भन्दा जरुरी सिंहदरबार बदल्ने हो, बदल्ने हो ।
धेरै मान्छेले तपाईलाई भ्रममा पार्न आउनेछन् । यिनीहरु आए भने गरिबको बस्तीमा डोजर लगाउँछन् भनेर तपाईको भोट चोर्न फेरि पनि आउलान् । तिनलाई सोध्नुहोस् ३५-३५ वर्षसम्म हाम्रो सपनाको डोजर कसले चलायो तिनलाई सोध्नुहोस् । डोजर तिनले चलाएको हो हामीले होइन । हामी बनाउन भनेर आएका छौँ, बनाउँछौँ । हामी गर्छौं र हामी सक्छौं ।
उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरु, विभिन्न ठाउँमा कार्यक्रमहरु रहेको र आज ढिला भएको हुनाले आउने भनेका कैयौँ कार्यक्रमहरुमा हामी उपस्थित हुन सक्ने अवस्था अलिकति छैन । बाटो-बाटोमा मायाका साथ, उत्साहका साथ फूल लिएर बस्नुभएका मुस्कान लिएर बस्नुभएका आमा बुवा दाजुभाइ दिदीबहिनीहरुलाई म यहीँबाट सम्बोधन गर्न चाहन्छु । यसपटकको चुनावमा देशैभरिका घण्टीवाहकलाई हामीले जिताउनु पर्नेछ । यसपटक भोट माग्न उम्मेदवार पुगेन भने तपाई पुगिदिनु पर्नेछ । किनकि यो तपाई हाम्रा सन्ततिको भविष्य निर्माण गर्ने बेला हो । घर-घरमा जानुहोला र भन्नुहोला घण्टीवाहकको तर्फबाट हामी आएका छौँ ।
यसपटक बाँड्ने काम नगर्नुहोला, म भनेकै कुरा फेरि दोहोर्याउँछु । म भनेकै कुरा फेरि दोहोर्याउँछु कतिपयले भन्नुभएको छ प्रत्यक्षमा चाहिँ घण्टीलाई हालौँला समानुपातिकमा अरु कसैलाई हालौँला । या समानुपातिकमा अरु कसैलाई हालौँला प्रत्यक्षमा घण्टीलाई हालौँला भन्न भनिएको छ । म सबै ठाउँमा नबिर्सन भन्ने कुरा सुदूरपश्चिममा पनि नबिर्सन भनेर जान्छु ।
बेथिति र भ्रष्टाचार सबै फाल्ने कि आधी फाल्ने? पुरै फाल्ने कि आधी फाल्ने हो? अलिकति राख्ने कि? राख्दै नराख्ने? त्यसो हो भने प्रत्यक्षमा पनि घण्टी, समानुपातिकमा पनि घण्टी, यहाँ पनि घण्टी त्यहाँ पनि घण्टी, देशैभरि घण्टी । सबको जय होस् । जय देश, जय घण्टी ।”









प्रतिक्रिया