नेपाललाई सुधार चाहिएको छ, सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँः गगन

7
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई अहिले सुधार चाहिएको र सुधारको ग्यारेन्टी लिएर आफूहरु उभिएको बताएका छन् ।

बुधवार राजधानीमा आयोजिक कार्यक्रममा उनले अबको पाँच वर्ष खेर नफाल्ने गरि संकल्प र योजनासहित आफूहरु आएको बताएका हुन् ।

उनले नागरिक तहमा विशेषगरी युवा पुस्तामा असन्तोष बढिरहेको उल्लेख गर्दै देश सञ्चालनको वर्तमान शैलीप्रति युवाहरूको गुनासो जायज रहेको बताए । त्यसलाई सम्बोधन गर्न सुधार आवश्यक रहेको उनको भनाइ छ ।

उनकाअनुसार विगत १०–१२ वर्षमा जति विकास हुनुपथ्र्यो, त्यो हुन सकेन । तर अबका पाँच वर्ष खेर जान नदिने उनले प्रतिवद्धता जनाए । सभापति थापाले देश परिवर्तनका लागि आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नहुने बताए ।

देश बनाउन सबै राजनीतिक दलहरूको सहभागिता र सहकार्य आवश्यक रहेको उनको भनाइ छ । उनकाअनुसार राजनीतिक दलहरुसंग विमति हुन्छन्, प्रतिष्पर्धा हुन्छ तर देश बनाउन सबै दल चाहिन्छन् ।

उनले देशमा रहेका सबै राजनितिक दललाई समेटेर अघि बढ्ने राजनीति आजको आवश्यकता रहेको र त्यो भुमिका नेपाली कांग्रेसले निर्वाह गर्ने दाबी गरे ।

आगामी निर्वाचनबाट पपुलिस्ट शक्तिहरू सत्तामा आएमा त्यसको भार नेपालले थेग्न नसक्ने उनको भनाइ छ ।

उनले हालको प्रमुख चुनौती देशलाई पपुलिजमबाट जोगाउनु रहेको उनले बताए ।

परिपक्व लोकतन्त्र भएका देशहरू समेत पपुलिज्मको लहरमा परेको उल्लेख गर्दै उनले नेपालजस्तो अझै संस्थागत रूपमा बलियो नभइसकेको लोकतन्त्रका लागि यो थप चुनौतीपूर्ण हुने बताए ।

थापाकाअनुसार विश्वका एकसेएक परिपक्व डेमोक्रेसीहरू पनि पपुलिज्मको शिकार भएका छन् । तर त्यहाँ संस्थाहरू बलिया भएकाले पपुलिज्म केही महिनामै ढल्ने गरेको उनले बताए । नेपालमा संस्थाहरू कमजोर भएको अवस्थामा पपुलिजमले अख्तियारी बोकेर आएमा त्यसको परिणाम गम्भीर हुने उनले चेतावनी दिए ।

उनले बौद्धिक व्यक्तित्व तथा पेशाकर्मीहरुलाई पपुलिजमको विरुद्धमा बोल्न पनि आग्रह गरे । उनले हाल पपुलिजम शक्तिहरुको विरुद्धमा अहिले बोल्न समेत डराउनुपर्ने अवस्था रहेको उल्लेख गरे । तर प्रश्न गर्न पछि नहट्न उनले आग्रह गरे । सत्तामा नपुग्दा नै प्रश्न गर्न नपाईने शक्तिहरु सत्तामा पुगे प्रश्न गर्ने अधिकार सुरक्षित नहुने उनको भनाइ छ ।

गगन थापाले यसो भने

यो निर्वाचनअघि हाम्रो ठूलो प्रश्न भनेको के नेपाललाई हामी एक्स्ट्रिमिज्मबाट जोगाउन सक्छौँ भन्ने हो । अहिले एकसेएक परिपक्व डेमोक्रेसीहरू पनि जसरी पपुलिज्मको सिकार भएका छन्, हेर्दाहेर्दै एउटा वेभजस्तो आएको छ । त्यो पपुलिज्मको आक्रमणबाट के नेपालको डेमोक्रेसीलाई जोगाउन सक्छौँ ? हाम्रो डेमोक्रेसी त्यति परिपक्व पनि भइसकेको छैन । हाम्रो इकोनोमीका आफ्नै च्यालेन्जहरू छन् ।

डेमोक्रेसी परिपक्व भइसकेका, संस्थाहरू बलियो बनिसकेका ठाउँमा पपुलिज्म ५/६ महिना आउँछ र ढल्छ, किनकि त्यहाँ संस्थाहरू बलिया छन् । हाम्रो सन्दर्भमा ती संस्थाहरू बलियो बनिसकेका नै छैनन् । हामीले बनाएनौँ, बरु भत्कायौँ ।

संस्थाहरू बलियो नबनेको अवस्थामा आवधिक निर्वाचनबाट पपुलिज्म एउटा अख्तियारी बोकेर आयो भने त्यसको भार हामी थेग्न सक्छौँ कि सक्दैनौँ भन्ने हाम्रो अगाडि एउटा प्रश्न छ । यसको हामीले ठीक ढंगले उत्तर खोज्नुपर्नेछ ।

नागरिकहरूको तहमा ठूलो छटपटाहट छ, खासगरी नौजवानहरूबीच छ । देश जसरी चलिरहेको थियो, अहिले पनि त्यसरी नै चलिरहेको छ भन्ने विषयमा उनीहरूको ठूलो गुनासो छ, र त्यो जायज छ । उनीहरूको मागलाई सम्बोधन गर्नैपर्छ । अहिलेको मुद्दा यही नै हो-नेपाललाई सुधार चाहिएको छ ।

सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँ । संकल्प लिएर, योजना लिएर-कुन दिन के गर्ने भन्ने स्पष्ट रोडम्यापसहित उभिएका छौँ । नेपालको यो पाँच वर्ष खेर फाल्न हुन्न । गएको १०/१२ वर्ष जसरी विकास हुनुपर्थ्यो, त्यो हुन सकेन । हामीले यो स्वीकार गरेका छौँ, स्वीकार गर्नुपर्छ । त्यसको भाग हामी पनि हौँ । तर यो पाँच वर्ष हामी खेर फाल्दैनौँ ।

यो पाँच वर्ष खेर नफाल्ने भन्दै गर्दा हामी सम्हालिनु पनि पर्छ । देश उत्तेजनाले मात्रै बदलिँदैन । देश रिसले बदलिँदैन, देश आवेगले बदलिँदैन । “म असल, बाँकी सबै खराब” भनेर देश बन्दैन, बन्नै सक्दैन ।

हाम्रा विमति छन् राजनीतिक दलहरूसँग । हामी फरक–फरक राजनीतिक दल हौँ, हामी प्रतिस्पर्धा गर्छौँ । तर हामी सबैको आफ्नो स्पेस छ । यो देश बनाउन एमाले पनि चाहिन्छ, माओवादी, रास्वपा, जसपा पनि चाहिन्छ-सबै चाहिन्छ । सबैलाई मिलाएर लिएर जानुपर्छ । त्यो मिलाएर लैजाने राजनीति आजको दिनमा नेपाली कांग्रेसले गर्छ ।