
झापा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आफ्नो निर्वाचन क्षेत्र झापा नम्बर ५ केन्द्रित विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई मूल मन्त्र बनाइएको उक्त ४२ बुँदे प्रतिबद्धता–पत्रमा भौतिक पूर्वाधार, सुशासन, कृषि आधुनिकीकरण र सामाजिक सुरक्षालाई मुख्य प्राथमिकतामा राखिएको छ ।
अध्यक्ष ओलीले सार्वजनिक गरेको दस्ताबेजमा नेकपा (एमाले) लाई २००६ सालदेखिको कम्युनिस्ट आन्दोलनको मूलधारको रूपमा प्रस्तुत गर्दै विगतका आफ्नै नेतृत्वको सरकारले अघि सारेका अधुरा योजनाहरू पूरा गर्ने संकल्प गरिएको छ ।
प्रतिबद्धता–पत्रमा देशमा व्याप्त राजनीतिक अस्थिरताको अन्त्य र सुशासन कायम गर्ने कुरालाई जोड दिइएको छ । पछिल्लो समय राजनीतिमा देखिएको ‘पपुलिजम’ र ‘स्टन्टबाजी’ ले सर्वसाधारणमा भ्रम पैदा गरेको ठहर गर्दै एमालेले त्यसको प्रतिवाद गर्ने उल्लेख गरेको छ । भ्रष्टाचारमा ‘शून्य सहनशीलता’ अपनाउने र सामाजिक सञ्जाल तथा कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग रोक्न कानुनी नियमन गर्ने विषयलाई पनि एमालेले आफ्नो एजेण्डा बनाएको छ ।
यस्तै, नेपाललाई ‘भूपरिवेष्ठित’ बाट ‘भू–जडित’ मुलुक बनाउन छिमेकी देशहरूसँग व्यापार तथा पारवहन सन्धिमार्फत कूटनीतिक पहल गर्ने कुरा प्रतिबद्धता–पत्रमा समेटिएको छ ।
भौतिक विकासतर्फ दमक–चिसापानी–रवि सडकखण्डको निर्माण सम्पन्न गर्ने, पाडाजुँगी–गौरीगञ्ज–आल्ताबारी सडकको स्तरोन्नति गर्ने र हुलाकी मार्ग अन्तर्गत माई नदीको पुलको काम पूरा गर्ने लक्ष्य राखिएको छ । दमक र गौरादहलाई ‘स्मार्ट सिटी’ का रूपमा विकास गर्दै व्यवस्थित बसोबास मिलाउने र रतुवा, मावा तथा कमल खोलामा तटबन्धन गरी नदी कटान नियन्त्रण गर्ने योजना अघि सारिएको छ ।
कृषि प्रधान क्षेत्र भएकाले यसको आधुनिकीकरण र यान्त्रिकीकरणका लागि भूमिगत तथा सतह सिँचाइ आयोजना, जैविक मल कारखाना र शीतभण्डार (कोल्ड स्टोर) निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ । दमकमा निर्माणाधीन ‘नेपाल–चीन मैत्री औद्योगिक पार्क’ लाई पूर्णता दिएर स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र दमक बिजनेस टावरलाई व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने एमालेको योजना छ ।
प्रत्येक घरधुरीमा स्वच्छ खानेपानी पुऱ्याउने, दमक, कमल र गौरादहका अस्पतालहरूको स्तरोन्नति गर्ने र स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउने बुँदाहरू पत्रमा उल्लेख छन् । शिक्षातर्फ सामुदायिक विद्यालयको गुणस्तर सुधार र खेलकुदका लागि दमकमा मदन भण्डारी रङ्गशाला तथा कमलमा आदिवासी रङ्गशाला निर्माणलाई प्राथमिकता दिइएको छ ।
भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूको समस्या समाधान गर्न जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण कार्यलाई तीव्रता दिने र विपन्न तथा दलित समुदायका लागि सुरक्षित आवास निर्माण गरिदिने आश्वासन अध्यक्ष ओलीले दिएका छन् ।
स्थानीय संस्कृतिको संरक्षण गर्दै सिमसार क्षेत्र, वाल्मीकि आश्रम, इन्द्रेणी ताल र गौरादहको पोखरी लगायतका क्षेत्रहरूलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने एमालेको लक्ष्य छ ।
अध्यक्ष ओलीले झापा–५ का मतदातालाई आफ्नो अमूल्य मत दिई विजयी गराउन अपील गर्दै निर्वाचित भएपछि यी ४२ वटै बुँदाहरूलाई दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।








प्रतिक्रिया