कुमारी बैंकलाई अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षा प्रमाणपत्र प्राप्त

14
Shares

काठमाडौं । कुमारी बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त प्रमाणपत्र ‘आईएसओ/आईईसी २७००१:२०२२’ प्राप्त गरेको छ । बैंकको सूचना सुरक्षा नीति, प्रक्रिया र नियन्त्रणका उपायहरू अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम रहेको पुष्टि गर्दै बैंकले यो उपलब्धि हासिल गरेको हो ।

यस मापदण्डमा मुख्यतया ९३ वटा नियन्त्रणहरू रहेका हुन्छन्, जसलाई संगठनात्मक (३७), मानवीय (८), भौतिक (१४) र प्राविधिक (३४) गरी चार भागमा विभाजन गरिएको छ । यी नियन्त्रणहरू बैंकमा प्रभावकारी रूपमा लागू भए/नभएको बारे एक स्वतन्त्र बाह्य निकायले विस्तृत लेखापरीक्षण गरेपछि मात्र बैंकलाई यो प्रमाणपत्र प्रदान गरिएको हो ।

यो प्रमाणपत्र प्राप्त गरेसँगै बैंकको सूचना सुरक्षा जोखिम पहिचान, मूल्याङ्कन र व्यवस्थापन गर्ने क्षमता सुदृढ रहेको प्रमाणित भएको छ । यसले बैंकका ग्राहकहरूको तथ्याङ्कलाई सुरक्षित र गोप्य राख्न, आवश्यकता परेका बेला उपलब्ध गराउन र अनधिकृत पहुँचबाट जोगाउन बैंक सक्षम रहेको सुनिश्चित गर्दछ। पछिल्लो समय डिजिटल बैंकिङ सेवाहरू जस्तै– मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र कार्ड सेवाहरूको प्रयोग बढ्दै जाँदा बैंकले साइबर सुरक्षा र डाटा गोपनीयतालाई उच्च प्राथमिकतामा राखेर यो सुरक्षा मापदण्ड लागू गरेको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले ग्राहकको विश्वास नै बैंकिङ सेवाको आधार रहेको भन्दै यो प्रमाणपत्र प्राप्त गर्नु भनेको ग्राहकको वित्तीय सूचना सुरक्षाप्रति बैंकको दृढ प्रतिबद्धताको प्रमाण रहेको बताए । उनले भने, ‘सुरक्षित र भरपर्दो बैंकिङ सेवा प्रदान गर्न हामी प्रविधि, जनशक्ति र प्रक्रियामा निरन्तर लगानी गर्दै जानेछौं ।’

बैंकले नियमित रूपमा जोखिमको मूल्याङ्कन, कर्मचारीहरूका लागि सचेतना कार्यक्रम, सुरक्षा परीक्षण र निरन्तर निगरानी प्रणालीमार्फत सम्भावित साइबर जोखिमहरूको रोकथाम गर्दै आएको छ । सूचना सुरक्षालाई एक पटकको उपलब्धिको रूपमा मात्र नलिनि आगामी दिनमा पनि नियामक निकायका मापदण्ड र अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट अभ्यासहरूलाई आत्मसाथ गर्दै आफ्ना सुरक्षा संयन्त्रहरूलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।