नर्भिक अस्पतालले ६ महिनामै गर्‍यो साढे १ अर्बको कारोबार

84
Shares

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल र मेडिकल कलेजले चालु आर्थिक वर्षको ६ महिनामा करिब साढे १ अर्ब रुपैयाँको कारोबार गरेको छ ।

कम्पनीले चालु आवको ६ महिनामा १ अर्ब ३३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको हो ।

गत आवमा २ अर्ब २२ करोड २० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२४ मा १ अर्ब ९९ करोड ९० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ९१ करोड १० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब ७८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् १९९३ मा स्थापना भएको हस्पिटल सन् २०२१ मा पब्लिक कम्पनीमा परिणत गरेको थियो ।

अस्पतालको कारोबार चालु आवमा २० प्रतिशतले बढेको छ । काठमाडौं थापाथलीमा रहेको अस्पतालले २ सय शय्याको सुविधा दिने उद्देश्यसहित लाइसेन्स लिएको थियो । हस्पिटलले विभिन्न स्वास्थ्य सेवा दिँदै आएको छ । हस्पिटलले १ सय १६ शय्याको क्षमता बढाएर २ सय ७५ शय्या बनाउने योजना बनाएको छ । जसमा हस्पिटलले क्षमता विस्तार गर्नका लागि ठूलो पूँजीगत खर्च गर्दै आएको छ ।

अस्पतालले थप १ सय ५९ शय्या निर्माण गरिरहेको छ । जसमा ५० प्रतिशत आर्थिक प्रगति भएको छ हस्पिटलले चालु आवको अन्त्यसम्ममा व्यवसायिक कारोबार हुने योजनासहित निर्माण कार्य अगाडि बढाएको छ । हस्पिटलले क्षमता विस्तार गर्नका लागि ६५:३५ लगानी अनुपात राखेको छ ।

बसन्तकुमार चौधरीको स्वामित्व रहेको हस्पिटलमा मेघा चौधरी प्रबन्ध निर्देशक हुन् । मेघाको पनि हस्पिटलमा स्वामित्व छ । हस्पिटलको अध्यक्ष भने राजेन्द्रबहादुर सिंह हुन् ।