नेपालको भविष्य उज्यालो रहेकाले नीतिगत सुधारमा ध्यान दिन आवश्यक छः निर्वाण चौधरी


काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालको भविष्य उज्यालो रहेको बताउँदै यसका लागि नीतिगत सुधार गरेर जान आवश्यक भएको बताएका छन् ।

आइतबार क्लिकमान्डु डटकमद्वारा प्रकाशित ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण २०८२’ अध्ययन प्रतिवेदन (क्लिकमान्डु रिसर्च) प्रतिवेदन सार्वजनिक कार्यक्रममा चौधरीले यस्तो बताएका हुन् ।

नेपालको वर्तमान आर्थिक अवस्था र युवा पुस्ताले सामना गरिरहेका चुनौतीहरूका बारेमा आफ्ना धारणा राख्दै चौधरीले नेपालको भविष्य अझै पनि उज्यालो रहेको र यसका लागि नीतिगत सुधार र रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने बताएका हुन् ।

‘देशको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउन अझै पनि धेरै युवाहरू आशावादी छन् र दृढताका साथ उभिएका छन्,’ चौधरीले भने, ‘देशमा व्याप्त भ्रष्टाचार र अस्थिरताका बारेमा चर्चा गर्नुभन्दा पनि आधारभूत समस्याहरूमा ध्यान दिन आवश्यक छ ।’ उनले अहिले सरकार र आम जनताबीच विश्वासको संकट सबैभन्दा ठूलो चुनौतीको रूपमा देखिएको बताए ।

उनले आफ्नो व्यक्तिगत अनुभव र व्यावसायिक यात्राको स्मरण गर्दै चौधरीले विगत १० वर्षमा आफ्नो समूहले मात्रै नेपालमा ५० करोड डलर (करिब ६५ अर्ब रुपैयाँ) भन्दा बढी लगानी गरेको र ३० हजारभन्दा बढी मानिसलाई रोजगारी दिएको जानकारी दिए ।

‘धेरैले विदेशमा अवसर खोज्न सुझाव दिएतापनि आफू देशमै बसेर काम गर्न प्रतिबद्ध रहन चाहे । मेरो विवेकले मलाई विदेश जान अनुमति दिएन,’ चौधरीले भने, ‘मैले सधैं यो मेरो देश हो र म यहीं केही गर्छु भन्ने सोच राखें ।’

Skip This