निजी क्षेत्रले आफ्नो फाइदाका लागि मात्रै उद्योग–व्यवसाय सञ्चालन गरेकाे छैनः अध्यक्ष ढकाल


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले जेनजी आन्दोलनको क्रममा निजी क्षेत्र र सरकारी संरचनामाथि भएको तोडफोड र आगजनीका घटनालाई समावेश गरी क्लिकमाण्डु डट कमले तयार पारेको भिडियो सामाग्री (श्रव्य दृश्य) निकै पीडादायी भएको बताएका छन् । आइतबार क्लिकमान्डु डटकमद्वारा प्रकाशित ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण २०८२’ अध्ययन प्रतिवेदन ९क्लिकमान्डु रिसर्च० प्रतिवेदन सार्वजनिक कार्यक्रममा ढकालले यस्तो बताएका हुन् ।

कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रको योगदान, निजी क्षेत्रले उपलब्ध गराएको सेवा र रोजगारीका बावजुद निजी क्षेत्रप्रति नकारात्मक दृष्टिकोणका कारण जेनजी आन्दोलनको क्रममा ठूलो क्षति बेहोर्ने बाध्य भएको उल्लेख गरे । उनले ठूलो क्षतिका बाबजुद पनि निजी क्षेत्र ठूलो हिम्मत गरेर उठेको बताए ।

उनका अनुसार अहिले जनेजी आन्दोलनको क्रममा क्षति भएको सरकारी संरचनाहरु पालले छोपेर राखिएको बताउँदै यसमा सरकारको ध्यान पुग्न आवश्यक भएको बताए ।

‘आम जनता र नीति निर्मातालाई निजी क्षेत्रले बुझाउन नसकेका कारण पनि निजी क्षेत्रमाथि ठूलो आक्रमण भएको हुनसक्छ,’ ढकालले भने, ‘सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखेर भएको जेनजी आन्दोलनको क्रममा गलत घुसपैठका कारण निजी प्रतिष्ठानमाथि तोडफोड र आगजनी हुने निकै दुःखदायी छ ।’

‘अहिले निजी क्षेत्र स्तब्ध छ । अझै पनि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सुधार भइसकेको अवस्था छैन, निजी क्षेत्रले फाइदाको लागि मात्रै व्यापार र उद्योग सञ्चालन गरेका छैनन्,’ उनले भने, ‘राजस्व वृद्धि, रोजगारी वृद्धि, मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउनको निजी क्षेत्र क्रियाशील छ । निजी क्षेत्र भनेको राजस्व वृद्धि, पूर्वाधार निर्माण र रोजगारी सिर्जना गर्ने क्षेत्र हो ।’

उनले निजी क्षेत्रमा फेरि पनि कुनै पनि बहानामा तोडफोड र आगजनी नहोस् भनेर सरकारले प्रतिबद्धता जनाउनुपर्ने आवश्यकता रहेको बताए ।

Skip This