
काठमाडौं । राष्ट्रिय सभामा स्वास्थ्य बीमामा देखिएको समस्याको विषय उठेको छ । राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहालले स्वास्थ्य बीमासम्बन्धी कार्यक्रममा देखिएका समस्या र यसको व्यवस्थापनबारे स्पष्ट जानकारी संसदलाई गराउन सरकारसँग माग गरेकी हुन् ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै नेकपा (एमाले)की सांसद दाहालले अस्पतालहरू र केही संस्थाहरूले सरकारले रकम नदिएका कारण स्वास्थ्य बीमा कार्यक्रम प्रभावित हुँदै गएको भन्ने समाचार आइरहेको बताइन् । उनले सर्वसाधारणलाई ठूलो राहत दिने उक्त कार्यक्रम बजेट अभावकै कारण कतिपय अस्पतालमा बन्द हुन थालेकोप्रति गम्भीर ध्यानाकर्षण गराइन् ।
‘स्वास्थ्य बीमाको विषयमा सर्वसाधारणले उपयोग गरिरहेको कार्यक्रम अस्पतालहरूले बजेट नपाएको कारण बन्द गर्नुपरेको भन्ने समाचारहरू बाहिर आइरहेका छन् । यस विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूले चासो लिएको भन्ने पनि सुनिएको छ । यसको व्यवस्थापनका लागि के भइरहेको छ, सदनलाई जानकारी गराउन म सरकारसँग माग गर्दछु,’ सांसद दाहालले भनिन् ।
उनले जनसरोकारका यस्ता महत्वपूर्ण कार्यक्रमको निरन्तरताका लागि आवश्यक बजेट व्यवस्थापनमा सरकारले ढिलाइ गर्न नहुने स्पष्ट पारे। साथै स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तत्काल निर्णय आवश्यक रहेको पनि बताए ।
प्रधानमन्त्री सुशीला कार्कीले समेत स्वास्थ्य बीमाको विषयमा चासो दिँदै आवश्यक स्रोतको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।










प्रतिक्रिया