
एजेन्सी । आर्मेनियाको एउटा विद्रोही राजनीतिक दलले देशमा कोही पनि महिलाहरू असन्तुष्ट नहोऊन् भन्ने सुनिश्चित गर्न यौन मन्त्रालय (मिनिस्ट्री अफ सेक्स) स्थापना गर्ने जनाएको छ ।
यस ग्रीष्म ऋतुको चुनावअघि स्ट्रंग आर्मेनिया नामक पार्टी गठन गर्न मद्दत गर्ने सर्गिस कारापेट्यानले अधबैंसे महिलाहरूमा बढेको राजनीतिक सक्रियता यौन असन्तुष्टिको परिणाम भएको बताए ।
उक्त समस्याको समाधान गर्नका लागि मन्त्रालय गठन गरिनुपर्छ कि भनेर सोधिएको प्रश्नमा कारापेट्यानले त्यो हुनैपर्ने बताए । यसले आर्मेनियाको घट्दो जन्मदरलाई सम्बोधन गर्न पनि मद्दत गर्न सक्ने उनको भनाइ छ ।
यौन मन्त्रालय पछाडिको विचार सुरुमा आर्मेनियाली समाजशास्त्री आर्मेन खाचिक्यानले उठाएका थिए । उनले ट्रायंगल पोडकास्टमा महिलाहरू यौन असन्तुष्टिका कारण राजनीतिक रूपमा बढी संलग्न भएको दाबी गरेका थिए ।
‘आर्मेनिया स्ट्रंग’ पार्टीका संस्थापक कारापेट्यानले जवाफ दिए, ‘के हामी शक्तिशाली आर्मेनियामा कुनै पनि असन्तुष्ट महिलाहरू हुने छैनन् भनी वास्तवमै भन्न सक्छौं ?’
कार्यक्रमका सञ्चालक लेभोन सार्गिजोभले यी विषयहरूलाई सम्बोधन गर्न एउटा मन्त्रालय स्थापना गरिनुपर्ने सुझाव दिएका छन् । त्यसलाई कारापेट्यानले यौन मन्त्रालय भन्नुपर्ने बताए ।
मन्त्रालयले आर्मेनियाको घट्दो जन्मदरलाई सम्बोधन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कारापेट्यानले बताए यद्यपि उनले कुनै विशेष उपायहरूको बारेमा भने कुनै जानकारी दिएनन् ।
सिभिल कन्ट्य्राक्ट पार्टीकी सांसद सोना गाजार्यानले फेसबुकको एक पोस्टमा कारापेट्यानको टिप्पणीलाई विशुद्ध यौनवाद भनी वर्णन गरिन् ।
‘महिलाहरूलाई उनीहरूको स्वतन्त्र अस्तित्वबाट वञ्चित गर्नु, उनीहरूलाई पुरुषको कल्पना र अश्लील वाचाहरूको स्तरमा झार्नु घृणित छ,’ उनले लेखिन्, ‘विगतमा फर्कने कार्य जुनसुकै रूपमा भए पनि स्वीकार्य हुने छैन ।’
कारापेट्यानको टिप्पणीलाई सामाजिक सञ्जालमा पनि कडा आलोचना गरिएको छ ।
एक नारीवादी इन्फ्लुएन्सर लुसी कोचार्यानले एक पोस्टमा भनिन्, ‘तपाईंको चुनावी अभियानको यौन चाहनालाई आर्मेनियाका महिलाहरूसँग नजोड्नुहोस् ।’
कारापेट्यानले पछि आफ्ना शब्दहरूलाई प्रसंगबाहिर व्याख्या गरिएको बताए । उनले आर्मेनियाको राजनीतिक नेतृत्वले जनसंख्यालाई भित्रैबाट विनाश गरिरहेको आरोप पनि लगाए ।
‘आर्मेनियाली सरकार मेरो शब्दचयनबाट दुःखी भएको हो कि म समस्याहरूको बारेमा खुलेर बोलिरहेको छु भन्ने कुराबाट ?’ उनले प्रश्न गरे ।
‘हरेक अर्थमा एक स्वस्थ समाज र स्वस्थ आर्मेनिया नै हाम्रो मुख्य लक्ष्य हुनेछ,’ उनले थपे ।
कारापेट्यान ४.४ अर्ब डलर सम्पत्ति भएका रुसी–आर्मेनियाली अर्बपति सामभेल कारापेट्यानका छोरा हुन् । उनलाई गत ग्रीष्म ऋतुमा अवैध रूपमा सत्ता कब्जा गर्न सार्वजनिक रूपमा आह्वान गरेको आरोपमा पक्राउ गरिएको थियो ।
उनले कर छली, ठगी र सम्पत्ति शुद्धीकरणको आरोप पनि खेपेका छन् । ती सबै आरोपलाई उनी अस्वीकार गर्छन् ।
सामभेल कारापेट्यानको पक्राउपछि स्ट्रंग आर्मेनिया पार्टीको स्थापना भएको थियो ।
भर्खरै गठन भएको पार्टीले फेब्रुअरी १२ मा आधिकारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नेछ र स्थानीय रिपोर्टहरू अनुसार यो सामभेलका भतिजा नरेक कारापेट्यान हुन सक्छन् ।
जुनको चुनावअघि भएको सर्वेक्षणमा स्ट्रंग आर्मेनिया हाल १३ प्रतिशतका साथ दोस्रो स्थानमा छ । सत्तारुढ सिभिल कन्ट्य्राक्ट पार्टी १७ प्रतिशतका साथ अगाडि छ जबकि झण्डै आधा मतदाताहरूले कसलाई भोट दिने भन्ने थाहा नभएको बताएका छन् ।
‘हाम्रो प्रधानमन्त्रीको विरुद्ध बोल्ने जो कोहीको कुरा आउँदा आर्मेनियामा अब साँचो न्याय प्रणाली बाँकी छैन,’ सर्गिस कारापेट्यानले द न्युयोर्क पोस्टसँग दाबी गरे ।
आर्मेनियाको नेतृत्व हाल निकोल पाशिन्यानले गरिरहेका छन् । उनले देशलाई रुसी प्रभावबाट टाढा लैजान र अमेरिकासहित पश्चिमसँग घनिष्ठ सम्बन्ध गाँस्न प्रयास गरिरहेका छन् ।
आर्मेनियाली प्रधानमन्त्री एक सांगीतिक ब्यान्डमा पनि आबद्ध छन् जसले गत शुक्रबार एक प्रस्तुतिमार्फत आफ्नो डेब्यु गरेको थियो ।
उनले येरेभानमा भएको हाउसफुल कन्सर्टमा ड्रम बजाएका थिए ।










प्रतिक्रिया