
एजेन्सी । साइबर अपराधविरुद्ध लड्न विशेषज्ञता हासिल गरेका प्रहरीले युरोपोलको सहयोगमा फ्रान्समा रहेको इलोन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्सको कार्यालयहरूमा छापा मारेका छन् ।
पेरिसका अभियोजकले यो छापा एक्सको एल्गोरिदमले सिफारिस गर्ने सामग्रीमाथिको अनुसन्धानसँग सम्बन्धित रहेको बताए । त्यसलाई पछि यसको विवादास्पद एआई च्याटबोट ग्रोकलाई पनि समावेश गरी विस्तार गरिएको थियो ।
अनुसन्धानको हिस्सा स्वरूप मस्क र एक्सकी पूर्व मुख्य कार्यकारी अधिकृत लिन्डा याकारिनो दुवैलाई अप्रिलमा हुने सुनुवाइमा उपस्थित हुन बोलाइएको अभियोजकको कार्यालयले थप्यो ।
एक्सले अहिलेसम्म यसमा कुनै प्रतिक्रिया दिएको छैन ।
यसअघि कम्पनीले यस अनुसन्धानलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमणको रूपमा वर्णन गरेको थियो ।
एक्समाथि अनुसन्धान जनवरी २०२५ मा सुरु भएको थियो जुन त्यसै वर्षको जुलाईमा प्लेटफर्ममा यौनजन्य स्पष्ट डीपफेक र यहुदी नरसंहारलाई अस्वीकार गर्ने सामग्रीहरू फैलिएको रिपोर्टपछि विस्तार गरिएको थियो ।
एक्सले त्यतिबेला एउटा पोस्टमार्फत अनुसन्धानको विस्तारलाई राजनीतिप्रेरित भन्दै आफ्नो एल्गोरिदममा हेरफेर गरेको आरोपलाई अस्वीकार गरेको थियो ।
अभियोजकहरूले अहिले एक्सले विभिन्न क्षेत्रमा कानुन उल्लंघन गरेको छ कि छैन भन्नेबारे अनुसन्धान गरिरहेको बताएका छन् ।
अनुसन्धान गरिने सम्भावित अपराधहरूमा बालबालिकाका अश्लील प्रकृतिका तस्बिरहरू राख्नु वा संगठित रूपमा वितरण गर्नुमा संलग्नता, यौनजन्य डीपफेक मार्फत मानिसहरूको छवि अधिकारको उल्लंघन र एक संगठित समूहद्वारा ठगीपूर्ण रूपमा तथ्यांक निकासी रहेका छन् ।
अभियोजकको कार्यालयले अबदेखि आफूले एक्स छोड्ने र लिंकडइन तथा इन्स्टाग्राममार्फत सञ्चार गर्ने पनि बताएको छ ।
मस्कको सामाजिक सञ्जाल प्लेटफर्म हालै आफ्नो एआई उपकरण ग्रोक उपयोग गरेर साइटमा उत्पादन र सम्पादन गरिएका यौनजन्य तस्बिरहरूका कारण कडा निगरानीमा परेको छ ।
प्रायः महिलाहरूको सहमति बिना उनीहरूको वास्तविक तस्बिर प्रयोग गरेर बनाइएका यी तस्बिरहरूले पीडितहरू, अनलाइन सुरक्षा अभियानकर्ताहरू र राजनीतिकर्मीहरूबाट कडा आलोचना निम्त्याएका थिए ।
कम्पनीले अन्ततः यो अभ्यास रोक्न हस्तक्षेप गर्यो ।
जनवरीको अन्त्यमा युरोपेली आयोगले ती तस्बिरहरूका बारेमा चिन्ता व्यक्त गर्दै यसको मातृ कम्पनी एक्सएआईमाथि अनुसन्धान गर्ने घोषणा गर्यो ।
यस्तै प्रकारको अनुसन्धान यसअघि बेलायती नियामक संस्था अफकमले पनि सुरु गरेको थियो ।










प्रतिक्रिया