
एजेन्सी । वाशिङटन र तेहरानबीच बढ्दो तनावका बीच अमेरिकाले इरानमाथि आक्रमण गरेमा त्यो क्षेत्रीय द्वन्द्वमा परिणत हुने इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले बताएका छन् ।
इरानले आणविक सम्झौता स्वीकार नगरेमा वा प्रदर्शनकारीहरूको हत्या नरोकेमा हस्तक्षेप गर्ने बारम्बार धम्की दिएपछि अमेरिकाले मध्यपूर्वमा आफ्नो जलसैनिक उपस्थिति बढाएको अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बताए ।
‘(ट्रम्पले) नियमित रूपमा इरान नजिक जहाजहरू ल्याएको भनिरहेका छन् । इरान यी कुराहरूबाट डराउने छैन, इरानी जनता यी धम्कीहरूबाट विचलित हुने छैनन्,’ खामेनीले भने, ‘हामी पहलकर्ता होइनौं र कुनै पनि देशमाथि आक्रमण गर्न चाहँदैनौं । तर, इरानी राष्ट्रले आफूमाथि आक्रमण गर्ने र सताउने जो कोहीलाई पनि कडा जवाफ दिनेछ ।’
तेहरानले आफ्नो रक्षात्मक क्षमतामा कटौती नगर्ने गरी निष्पक्ष वार्ताका लागि तयार रहेको बताएपछि कूटनीतिक समाधानको सम्भावना अझै बाँकी रहेको छ ।
अमेरिकी जलसेनासँग हाल यस क्षेत्रमा ६ वटा विध्वंसक (डिस्ट्रोयर), एउटा विमानवाहक युद्धपोत र तीनवटा तटीय लडाकु जहाजहरू रहेका छन् ।
आर्थिक कठिनाइका कारण डिसेम्बरको अन्त्यमा सुरु भएको तर सन् १९७९ मा स्थापना भएयता इस्लामिक गणतन्त्रका लागि सबैभन्दा गम्भीर राजनीतिक चुनौती बनेको प्रदर्शन अहिले दमनपछि मत्थर भएको छ ।
आधिकारिक तथ्यांकले अशान्तिसँग सम्बन्धित मृत्यु हुनेको संख्या ३१ सय १७ पुर्याएको छ जबकि अमेरिकास्थित हराना मानव अधिकारवादी समूहले आइतबारसम्म ६७ सय १३ जनाको मृत्यु भएको पुष्टि गरेको जनाएको छ । रोयटर्सले यी संख्याहरूलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।
खामेनीले प्रदर्शनलाई कू को संज्ञा दिँदै देशमा शासन गर्ने केन्द्रहरूमाथि आक्रमण गर्नु यस विद्रोहको उद्देश्य रहेको बताएको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।










प्रतिक्रिया