पाकिस्तानको बलोचिस्तानमा सुरक्षाकर्मी र विद्रोहीहरूबीच भीषण संघर्ष, १२० भन्दा बढीको मृत्यु


एजेन्सी । पाकिस्तानको अशान्त दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा बलोच समूहहरूले गरेको श्रृंखलाबद्ध आत्मघाती आक्रमण र गोली प्रहारका कारण १८ सर्वसाधारण र १५ सुरक्षाकर्मीसहित ३३ जनाको मृत्यु भएको छ ।

सुरक्षा बलको जवाफी कारबाहीमा ९२ जना आक्रमणकारी मारिएको पाकिस्तानी सेनाले शनिबार जानकारी दिएको छ ।

विश्लेषकहरूले यसलाई दशकौंयता लडाकुहरूका लागि सबैभन्दा घातक एक दिनको रूपमा वर्णन गरेका छन् ।

आक्रमणका क्रममा बलुच विद्रोहीहरूले सर्वसाधारण, उच्च सुरक्षा भएको कारागार, प्रहरी चौकी र अर्धसैनिक प्रतिष्ठानहरूलाई निशाना बनाएका थिए । सेनाका अनुसार, १८ सर्वसाधारण, १५ सुरक्षाकर्मी र ९२ विद्रोही मारिएका छन् ।

बलुच पृथक्तावादी र पाकिस्तानी तालिबानले बलुचिस्तान र देशका अन्य भागमा बारम्बार सुरक्षाबललाई निशाना बनाउने गरे पनि यति ठूलो स्तरमा समन्वय गरिएका आक्रमणहरू भने विरलै हुने गर्छन् । अधिकारीहरूले विगत ४८ घण्टामा बलुचिस्तानभरि कम्तीमा १३३ लडाकुहरू मारिएको बताएका छन् जसमा शनिबार मात्रै ९२ जना मारिएका थिए ।

सेना र पाकिस्तानका आन्तरिक मन्त्री मोहसिन नकवीले आक्रमणकारीहरूलाई भारतको समर्थन रहेको दाबी गरेका छन् । नयाँ दिल्लीले भने यसअघि यस्ता आरोपहरूको खण्डन गर्दै आएको छ ।

प्रतिबन्धित बलुच लिबरेसन आर्मीले यी आत्मघाती र सशस्त्र आक्रमणहरूको जिम्मेवारी लिएको छ । आक्रमणका क्रममा केही बैंकहरू लुटिएका थिए भने एउटा प्रहरी चौकी र दर्जनौं सवारीसाधनहरू जलाइएका थिए । बीएलएले सार्वजनिक गरेका भिडियोहरूमा महिला लडाकुहरूले पनि आक्रमणमा भाग लिएको देखाइएको छ जसलाई लडाकुहरूमाझ महिलाको भूमिका उजागर गर्ने प्रचार प्रयासका रूपमा हेरिएको छ ।

बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिनले अधिकांश आक्रमणहरू विफल पारिएको बताएका छन् । प्रान्तीय मुख्यमन्त्री सरफराज बुग्तीले सामाजिक सञ्जाल एक्समा लेख्दै सुरक्षाबलले विद्रोहीहरूको पिछा गरिरहेको जानकारी दिएका छन् । उनका अनुसार, गत वर्ष सुरक्षाबलले कम्तीमा ७०० विद्रोहीहरूलाई मारेको थियो ।

शनिबार बिहानै अधिकारीहरूले विद्रोहीहरूले रेलको लिग ध्वस्त पारेको बताएका थिए, जसका कारण पाकिस्तान रेलवेले बलुचिस्तानबाट देशका अन्य भागमा चल्ने रेल सेवा स्थगित गरेको छ । उनीहरूको निशानामा प्रहरी, कारागार, अर्धसैनिक बल र यात्रुहरू रहेका थिए ।

प्रान्तीय स्वास्थ्यमन्त्री बख्त मोहम्मद काकरका अनुसार, प्रान्तभर लगभग एकैसाथ आक्रमणहरू सुरु भएका थिए । प्रान्तीय राजधानी क्वेटामा प्रहरीको गाडीमा भएको ग्रेनेड आक्रमणमा दुई प्रहरी अधिकारी मारिएका छन् । सरकारले सबै अस्पतालहरूमा आपतकालीन अवस्था घोषणा गरेको छ ।

प्रहरीका अनुसार, मस्तुङ जिल्लाको एउटा कारागारमा दर्जनौं विद्रोहीले आक्रमण गरी ३० जनाभन्दा बढी कैदीहरूलाई मुक्त गराएका छन् । अन्य आक्रमणहरूमा विद्रोहीहरूले नुस्की जिल्लामा अर्धसैनिक बलको प्रान्तीय मुख्यालयमा आक्रमण गर्ने प्रयास गरे तापनि त्यसलाई सुरक्षा बलले विफल पारेको थियो ।

दलबन्दिन जिल्लामा सरकारी प्रशासकको कार्यालयमा विद्रोहीहरूले ग्रेनेड प्रहार गरेका थिए, तर सुरक्षा बलको तत्कालको जवाफी कारवाहीपछि उनीहरू भाग्न बाध्य भएका थिए । बलिन्चा, तुम्प र खारान जिल्लाका सुरक्षा चौकीहरूमा भएका आक्रमणहरू पनि विफल पारिएका थिए भने पास्नी र ग्वादरमा विद्रोहीहरूले राजमार्गमा चल्ने बसका यात्रुहरूलाई अपहरण गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।

बीएलए पाकिस्तानमा प्रतिबन्धित छ र अमेरिकाले यसलाई आतंककारी संगठनको रूपमा वर्गीकृत गरेको छ । यो समूह हालका वर्षहरूमा भएका धेरै आक्रमणहरूका पछाडि रहेको छ । पाकिस्तानले यस समूहलाई भारतको समर्थन रहेको बताउँदै आएको छ जुन आरोपलाई नयाँ दिल्लीले अस्वीकार गर्छ ।

पाकिस्तानले बलुच पृथक्तावादी, पाकिस्तानी तालिबान र अन्य लडाकुहरूले पाकिस्तानभित्र आक्रमण गर्न अफगान भूमिको प्रयोग गरिरहेको बारम्बार बताउँदै आएको छ । काबुलले भने यस दाबीलाई अस्वीकार गर्दै आएको छ ।

इस्लामाबादस्थित पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एण्ड सेक्युरिटी स्टडीजका प्रबन्ध निर्देशक अब्दुल्लाह खानले एसोसिएटेड प्रेसलाई बताएअनुसार, बलुचिस्तानमा बीएलए वा अन्य समूहसँग आबद्ध यति ठूलो संख्यामा आतंककारीहरू एकै दिनमा मारिएको यो पहिलोपटक हो ।

बलुच पृथकतावादी समूह र पाकिस्तानी तालिवानले हालका महिनाहरूमा पाकिस्तानमा आक्रमणहरू तीव्र पारेका छन् । टीटीपी एक छुट्टै समूह भए तापनि यसको अफगानिस्तानको तालिवानसँग सम्बन्ध रहेको छ, जो अगस्ट २०२१ मा त्यहाँ सत्तामा फर्किएका थिए ।

बलुचिस्तानमा इस्लामाबादस्थित केन्द्रीय सरकारबाट स्वतन्त्रता खोज्ने पृथक्तावादी समूहहरूले लामो समयदेखि विद्रोह गर्दै आएका छन् ।

Skip This