
काठमाडौं । नवलपरासी पश्चिम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको प्रत्यक्ष सहभागितामा ‘संकल्पपत्र’ तयार पार्ने नयाँ नवीन अभियान सुरु गरेका छन् ।
परम्परागत रूपमा बन्द कोठाभित्र बसेर योजनाहरू बनाउने राजनीतिक शैलीलाई परिवर्तन गर्दै नेपाली कांग्रेसका उम्मेदवार चौधरीले आम मतदाताको सल्लाह र योजना समेट्नका लागि जनसहभागिता खोजेका हुन् ।
यसका लागि उनले एक डिजिटल प्लेटफर्म सार्वजनिक गर्दै मतदाताका माग र प्राथमिकताहरू संकलन गरिरहेका छन् । नागरिकलाई विकास निर्माणको नीति तहसम्म पुर्याउने उद्देश्यले यो अभियान थालिएको उनले बताए ।
चौधरीले सार्वजनिक गरेको अनलाइन फारममा मतदाताले आफ्नो नाम र ठेगानासहित आफ्ना स्थानीय समस्या र विकासका लागि आवश्यक सुझावहरू उल्लेख गर्न सक्नेछन् । विशेषगरी शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारका क्षेत्रमा नागरिकले चाहेका परिवर्तनलाई नै आफ्नो मुख्य एजेण्डा बनाउने चौधरीको लक्ष्य छ । उनले सबै क्षेत्र र पुस्ताका मानिसहरूलाई केही समय निकालेर आफ्ना प्राथमिकता दर्ता गर्न अपिल गरेका छन् ।
नेपालका एकमात्र डलर अर्वबपतिसमेत रहेका उद्योगी चौधरीले कुनै पनि ठूलो योजना सफल पार्न सही व्यवस्थापन र सामूहिक सहकार्य आवश्यक पर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘चुनावी संकल्पपत्र बन्द कोठामा बसेर होइन, तपाईंहरूको माझमा आएर लेख्न चाहन्छु । बर्दघाटको सडकदेखि सुस्ताको पुलसम्म र किसानको खेतदेखि बजारसम्मका समस्याहरूमा तपाईंको प्राथमिकता नै मेरो पहिलो काम हुनेछ।’
भोटले सरकार बनाउने भए पनि समृद्ध समाज बनाउन नागरिकको सुझाव र सक्रियता अपरिहार्य हुने उनको भनाइ छ ।
‘भोटले सरकार त बनाउँछ, तर एउटा समृद्ध समाज बनाउन नागरिकको सुझाव र सक्रियता अपरिहार्य हुन्छ । गाउँ र टोलको समस्या त्यहाँका बासिन्दालाई नै बढी थाहा हुने भएकाले विकासको योजनामा सबैको सहकार्य जरुरी छ,’ फर्ममा चौधरीले उल्लेख गरेका छन् ।









प्रतिक्रिया