कस्तो छ रविको स्वास्थ्य अवस्था ?


फाइल तस्बिर

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख रहेको जनाएको छ ।

अस्पतालका अनुसार जनकपुरमा आयोजित कार्यक्रममा २०८२ माघ ५ गते देब्रे खुट्टामा चोट लागेपछि औषधि सेवन गर्दा पनि पूर्ण रूपमा निको नभएकाले लामिछाने मंगलबार साँझ शिक्षण अस्पताल भर्ना भएका थिए। चोटका कारण उनलाई सेलुलाइटिस देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, ‘लामिछानेज्यूलाई २०८२/१०/१३ गते यस अस्पतालको हाडजोर्नी विभागअन्तर्गत भर्ना गरी नशाबाट आईभी एन्टिबायोटिकमार्फत उपचार भइरहेको छ। हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ। शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’

यसैबीच, अस्पतालले सामाजिक सञ्जालमा लामिछाने उपचारका लागि भर्ना भएको भन्दै फैलाइएका तस्वीरहरू नक्कली भएको स्पष्ट पारेको छ ।

सूचनामा उल्लेख गरिएको छ, ‘सामाजिक सञ्जालमा देखाइएका तस्बिरहरू यस अस्पतालसँग सम्बन्धित नभएको जानकारी गराउँदछौँ ।’