चीनले बेलायती नेताहरूको फोन वर्षौंदेखि ह्याक गरिरहेको आरोप


एजेन्सी । चीनले बेलायतका कैयौं प्रधानमन्त्रीका सहयोगीहरूको मोबाइल फोन ह्याक गरेको आरोप ब्रिटिश सञ्चारमाध्यम द टेलिग्राफले एक रिपोर्टमा दाबी गरेको छ ।

बेलायती प्रधानमन्त्री कीर स्टार्मर अमेरिकासँगको सम्बन्ध चिसिएको बेला बेइजिङसँगको सम्बन्ध सुधार्ने उद्देश्यले यसै हप्ता जनवरी २८ देखि जनवरी ३१ सम्म चीनको भ्रमण गर्न लागेको बेलामा यी आरोपहरू आएका छन् ।

चीन भ्रमणका क्रममा स्टार्मरले चीनका राष्ट्रपति सी चिनपिङसँग भेट्ने कार्यक्रम छ ।

बेलायतले चिनियाँ प्रविधि र लगानीका साथै बेलायती वित्तीय सेवा, कार र स्कच ह्वीस्कीका लागि विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा थप पहुँच खोजिरहेकाले उनीसँगै बेलायती व्यापार सचिव पिटर काइल र दर्जनौं कर्पोरेट प्रमुखहरू जाने अपेक्षा गरिएको छ ।

सोमबार प्रकाशित टेलिग्राफको रिपोर्टले डाउनिङ स्ट्रिटका वरिष्ठ अधिकारीहरूको मोबाइल फोन विगत कैयौं वर्षदेखि चिनियाँ राज्य–प्रायोजित ह्याकरहरूले ह्याक गरेको दाबी गरेको छ ।

सन् २०२१ देखि २०२४ को बीचमा साल्ट टाइफुन कोडनाम दिइएको भनिएको उक्त अपरेसनले बोरिस जोनसन, लिज ट्रस र ऋषि सुनक लगायतका पूर्व प्रधानमन्त्रीहरूका निकट सहयोगीहरूलाई निशाना बनाएको थियो ।

प्रधानमन्त्रीहरूका व्यक्तिगत उपकरणहरू प्रभावित भए कि भएनन् भन्ने कुरा स्पष्ट नभए पनि रिपोर्टले यो ह्याकिङ डाउनिङ स्ट्रिटको मुटुसम्मै पुगेको बताएको छ ।

बेलायती गुप्तचर एजेन्सी एमआई५ ले गत नोभेम्बर महिनामा संसद्लाई चिनियाँ जासुसीको खतराबारे चेतावनी दिँदै सतर्क गराएको थियो ।

गत महिना बेलायत सरकारले बेलायत र उसका सहयोगीहरूका विरुद्ध लापरवाहीपूर्ण र अन्धाधुन्ध साइबर आक्रमण गरेको भन्दै चीनमा रहेका दुईवटा प्रविधि कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको थियो ।

बेइजिङले यस निर्णयको आलोचना गर्दै कडा असन्तुष्टि व्यक्त गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता क्वो च्याकुनले चीनले कानुनबमोजिम ह्याकिङ गतिविधिहरूको कडा विरोध र कारबाही गरेको र राजनीतिक उद्देश्यका लागि गलत सूचना फैलाउने कार्यको दृढतापूर्वक विरोध गरेको बताए ।

ट्रम्पसँग न्यानो सम्बन्ध गाँस्ने स्टार्मरको प्रयास असफल हुन थालेको बेला उनको चीन भ्रमण हुन लागेको हो । यसअघि उनको प्रयासले गर्दा बेलायतको प्रमुख अटो र एयरोस्पेस उद्योगहरूमा अमेरिकी भन्सार घटाउने व्यापार सम्झौता भएको थियो ।

किंग्स कलेज लन्डनको लाउ चाइना इन्स्टिच्युटका निर्देशक केरी ब्राउनका अनुसार, भूराजनीतिमा आएको नाटकीय परिवर्तनले बेलायत–चीन सम्बन्धका लागि नयाँ अवसरहरू सिर्जना गरेको बेला यो भ्रमण हुन लागेको हो ।

तर उनले भने, ‘स्टार्मरले निकै शंकालु व्यक्तिहरूसँग कुरा गर्नुपर्नेछ । चीनसँगको सम्बन्धमा बेलायत धेरै स्थिर छैन । हाम्रो सम्बन्ध कहिले तातो त कहिले चिसो हुने गरेको छ ।’