
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले उद्यमी बन्ने की जागिर खाने भन्नेबारे युवा उमेरमै निर्धारण गर्न आग्रह गरेका छन् ।
मंगलबार दोस्रो राष्ट्रिय सहकारी युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले चाहनाअनुसारको पेशालाई युवा अवस्थामा निर्धारण गर्दा सफल हुने सम्भावन बलियो रहेको बताए ।
सरकारी जागिरमा एकदमै प्रतिष्पर्धा हुने र उद्यामशीलतामा जाँदा पनि कडा मेहनत भने गर्नुपर्ने उनको भनाइ छ ।
‘हामी उद्यमी हुने की जागिरमै जाने युवा अवस्थामै निर्धारण गर्नुपर्छ । आफ्नो चाहना के छ, त्यता तिर जानुपर्छ,’ उनले भने, ‘सरकारी जागिरमा एकदमै प्रतिष्पर्धा हुन्छ । उद्यमशीलता तिर जाँदा पनि कडा मेहनत गर्नुपर्ने हुन्छ । अल्छि मानेर बसेर हुँदैन।’
समय, लगावले सफल उद्यमी भइने उनको भनाइ छ ।
‘उद्यमी सफल हुँदा धेरै कमाएको पनि हामीले देखिरहेका छौँ । जागिर तिर जाँदा जीवन पाल्ने काम हुन्छ । खासै आर्थिक हिसाबले प्रगति नहुन सक्छ । त्यसैकारण सकेसम्म युवाहरु उद्यमी हुन खोज्नुभयो भने धेरै राम्रो हुन्छ,’ उनले भने ।
श्रेष्ठले उद्यमी हुन युवाहरुलाई सुझाव दिँदै त्यसले आर्थिक अवस्थामा ठूलो सुधार आउने बताए ।
उनले सफलताका लागि प्रविधिमा अभ्यस्त हुन समेत युवाहरुलाई अनुरोध गरे । अहिले छिटोछरितो प्रविधिमा परिवर्तन आएको बताउँदै श्रेष्ठले अब त्यसमा अभ्यस्त हुनुपर्ने ठूलो चुनौती आएको समेत बताए ।
आफू १४/१५ वर्षको हुँदासम्म प्रविधिबारे धेरै कुराहरुमा अनभिज्ञ रहेको स्मरण गर्दै उनले अहिलेका पुस्ता जन्मिदै हाइटेक भएको निस्केको अनुभुति आफूले गरेको बताए ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले विगतमा जोखिम क्षेत्र आकलन नगरि ऋण प्रवाह गर्दा सहकारीसंस्थाहरु धराशायी भएको बताए ।
उनले धितो नराखी लोनहरु दिनुका साथै वास्तविक सदस्यभन्दा बाहिरको ठूलाठूला रकम वचतका रुपमा स्वीकार गरिँदा समेत समस्या आएको बताए ।
त्यस्तो रकम जो सञ्चालक छ उनीहरुको कम्पनीमा लगानी गरिँदा सहकारी संस्था डुबेको बताउँदै अब विगतबाट सिकेर अघि बढ्नुपर्ने उनले बताए ।








प्रतिक्रिया