
काठमाडौं । मुलुकमा आम निर्वाचन घोषणा भएर देश चुनावमय बनिरहे पनि विदेशिने क्रम बढिरहेको छ ।
वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्ममा ५ लाख ९० हजार ७ सय १८ जनाले श्रम स्वीकृति लिएर विदेशिएका छन् ।
तथ्यांकअनुसार १ लाख ९६ हजार ४२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । जसमा ४ हजार ८ सय ६६ जना जीटूजीमार्फत इजरायल, कोरिया तथा बेलायत गएका छन् । यस्तै, व्यक्तिगत श्रम स्वीकृति लिएर ६४ हजार २ सय ६२ जना तथा ३ लाख २५ हजार ४ सय ७ जना म्यानपावर कम्पनीमार्फत गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।
चाडपर्वपछि विदेश जाने क्रम तीव्र हुने गरेको र नयाँ वर्ष तथा निर्माण एवं सेवा क्षेत्रको माग बढ्ने समयमा यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
गन्तव्य मुलुकका हिसाबले खाडी मुलुकहरू, मलेसिया र पछिल्ला वर्षहरूमा जापान, दक्षिण कोरिया तथा युरोपेली देशहरू पनि नेपाली श्रमिकका प्रमुख गन्तव्य बन्दै गएका छन् । खाडी र मलेसियामा अझै पनि अदक्ष र अर्धदक्ष श्रमिकको माग उच्च रहेको छ भने जापान र कोरियातर्फ भाषा तथा सीपयुक्त श्रमिकको आकर्षण बढिरहेको छ ।
नेपालीहरू विदेशिने क्रम बढेसँगै चालू आर्थिक वर्षको समीक्षा अवधिमा नेपालीहरू ठगिने क्रम पनि बढिरहेको छ । विभागले सार्वजनिक गरेको अर्धवार्षिक प्रगति विवरणअनुसार आ.व. २०८२/८३ को साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारसँग सम्बन्धित ५ हजार ७ सय ६६ वटा उजुरी दर्ता भएका छन् ।
विभागमा परेका उजुरीमध्ये उद्धार, राहत तथा समन्वय शाखामा ५६८, प्रहरी शाखामा २ हजार ६ सय ३७ र मुद्दा अनुसन्धान शाखामा २ हजार ५ सय ६१ वटा रहेका छन् । राहत तथा उद्धार शाखामा म्यानपावर कम्पनीका उजुरी दर्ता हुन्छन् भने मुद्दा र प्रहरी शाखामा व्यक्तिगत ठगीका उजुरी दर्ता हुन्छन् । विभागमा यस अवधिमा परेका उजुरीमध्ये ९०.१५ प्रतिशत व्यक्तिगत र ९.८५ प्रतिशत म्यानपावरका उजुरी छन् ।
गत आर्थिक वर्ष २०८१/८२ को १२ महिनामा करिब ५ हजार उजुरी परेका थिए । जसमा करिब ९० प्रतिशत व्यक्तिगत ठगीका उजुरी थिए । अघिल्लो आ.व. मा परेकाभन्दा बढी उजुरी यस वर्षको ६ महिनामै परेका छन् ।
रोजगारीमा जानेहरूको संख्या बढ्नु, युवाहरू युरोप रोजगारीको प्रलोभनमा पर्नु र सामाजिक सञ्जालमा आउने अनधिकृत विज्ञापनका कारण नेपालीहरू ठगिने क्रम बढिरहेको विभागका अधिकारीहरू बताउँछन् ।








प्रतिक्रिया