चीनले हल्ला नगरिकन एआई दौड जितिरहेको हो ?


एजेन्सी । हरेक महिना करोडौं प्रयोगकर्ताहरू नयाँ स्टाइलहरूको खोजीमा पिन्टरेस्टतिर लाग्छन् ।

‘सबैभन्दा हास्यास्पद चीजहरू’ शीर्षकको एउटा पृष्ठ सिर्जनशील व्यक्तिहरूलाई प्रेरित गर्ने अनौठा विचारहरूले भरिएको छ । फूलको गमलाका रूपमा प्रयोग गरिएका क्रक्स, चिजबर्गर आकारको आईस्याडो र तरकारीबाट बनेको जिन्जरब्रेड हाउस ।

तर, सम्भावित खरिदकर्ताहरूलाई के थाहा नहुन सक्छ भने यस पछाडिको प्रविधि अमेरिकामै बनेको भन्न मिल्दैन । पिन्टरेस्टले आफ्नो सिफारिस इन्जिनलाई तिखार्न चिनियाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडलहरूको प्रयोग गरिरहेको छ ।

‘हामीले पिन्टरेस्टलाई प्रभावकारी रूपमा एआई–सञ्चालित शपिङ असिस्टेन्ट बनाएका छौं,’ कम्पनीका प्रमुख बिल रेडीले बीबीसीलाई बताए ।

पक्कै पनि सान फ्रान्सिस्कोमा रहेको यस कम्पनीले पर्दापछाडिका कामका लागि जुनसुकै अमेरिकी एआई ल्याबहरू प्रयोग गर्न सक्थ्यो ।

तर, सन् २०२५ को जनवरीमा चीनको डीपसीक आर–१ मोडल लोन्च भएदेखि चिनियाँ एआई प्रविधि पिन्टरेस्टको महत्त्वपूर्ण हिस्सा बन्दै गएको छ ।

रेडीले यसलाई डीपसीक मोमेन्ट भन्दै एउटा ठूलो सफलताका रूपमा लिएका छन् ।

उनले भने, ‘उनीहरूले यसलाई ओपन सोर्स (सबैका लागि खुला) बनाउने निर्णय गरे जसले ओपन सोर्स मोडलहरूको एउटा लहर नै ल्यायो ।’

चिनियाँ प्रतिस्पर्धीहरूमा अलिबाबाको क्वेन र मुनसटको किमी समावेश छन् जबकि टिकटकको मालिक बाइटडान्स पनि यस्तै प्रविधिमा काम गरिरहेको छ ।

पिन्टरेस्टका प्रमुख प्राविधिक अधिकारी म्याट म्याड्रिगलले यी मोडेलहरूको सबल पक्ष भनेको यिनीहरूलाई सित्तैमा डाउनलोड गर्न र कम्पनीहरूले आफ्नो आवश्यकता अनुसार परिमार्जन गर्न सक्नु नै हो भने । त्यो च्याटजीपीटी बनाउने ओपनएआई जस्ता अमेरिकी प्रतिद्वन्द्वीहरूले उपलब्ध गराउने अधिकांश मोडलहरूको हकमा लागू हुँदैन ।

म्याड्रिगलले भने, ‘हाम्रा आफ्नै मोडलहरूलाई तालिम दिन हामीले प्रयोग गर्ने ओपन सोर्स प्रविधिहरू बजारमा उपलब्ध प्रमुख मोडलहरूभन्दा ३० प्रतिशत बढी सटीक छन् ।’

र यी सुधारिएका सिफारिसहरू धेरै कम लागतमा प्राप्त हुने उनले बताए । त्यो कहिलेकाहीँ अमेरिकी एआई विकासकर्ताहरूले प्रयोग गर्ने आफ्नै सफ्टवेयरभन्दा ९० प्रतिशत सस्तो हुन्छ ।

चिनियाँ एआई प्रविधिमा निर्भर हुने पिन्टरेस्ट मात्र एक अमेरिकी उद्यम होइन ।

यी मोडलहरू धेरैजसो फर्चुन ५०० कम्पनीहरूमाझ लोकप्रिय भइरहेका छन् ।

एयरबीएनबीका प्रमुख ब्रायन चेस्कीले अक्टोबरमा ब्लूमबर्गलाई बताएअनुसार, उनको कम्पनीले आफ्नो एआई ग्राहक सेवा एजेन्ट सञ्चालन गर्न अलिबाबाको क्वेनमा धेरै भर परेको थियो ।

उनले यसका तीन सरल कारणहरू दिए – यो धेरै राम्रो, छिटो र सस्तो छ ।

यसको थप प्रमाण हगिङ फेसमा पाउन सकिन्छ । त्यहाँ मानिसहरू तयार पारिएका एआई मोडलहरू डाउनलोड गर्न जान्छन् । त्यसमा मेटा र अलिबाबा जस्ता ठूला विकासकर्ताहरू समावेश छन् ।

त्यस प्लेटफर्मका उत्पादन निर्माणकर्ता जेफ बोडियरले लागतका कारण नै नयाँ स्टार्ट–अपहरू अमेरिकी मोडलहरूको साटो चिनियाँ मोडलहरूतर्फ आकर्षित भएको बताए ।

उनले मलाई भने, ‘तपाईंले हगिङ फेसमा सबैभन्दा धेरै डाउनलोड गरिएका र समुदायले मन पराएका ट्रेन्डिङ मोडलहरू हेर्नुभयो भने सामान्यतया चिनियाँ ल्याबका चिनियाँ मोडलहरूले शीर्ष १० मा धेरै स्थान ओगटेका हुन्छन् । कतिपय हप्ताहरूमा त हगिङ फेसका शीर्ष पाँचमध्ये चारवटा मोडेल चिनियाँ ल्याबकै हुन्छन् ।’

सेप्टेम्बर महिनामा क्वेनले मेटाको लामालाई पछि पार्दै हगिङ फेस प्लेटफर्ममा सबैभन्दा धेरै डाउनलोड हुने लार्ज ल्यांग्वेज मोडल बनेको थियो ।

मेटाले सन् २०२३ मा आफ्ना ओपन–सोर्स लामा एआई मोडलहरू जारी गरेको थियो । डीपसीक र अलिबाबाका मोडेलहरू सार्वजनिक नहुँदासम्म विशेष सफ्टवेयर बनाउने विकासकर्ताहरूका लागि लामा नै पहिलो रोजाइ थियो ।

तर, गत वर्ष सार्वजनिक भएको लामा ४ ले विकासकर्ताहरूलाई खासै प्रभावित पार्न सकेन । रिपोर्टका अनुसार, मेटाले यसै वसन्तमा सार्वजनिक हुने नयाँ मोडललाई तालिम दिन अलिबाबा, गुगल र ओपनएआईका ओपन–सोर्स मोडेलहरू प्रयोग गरिरहेको छ ।

एयरबीएनबीले पनि धेरै मोडलहरू प्रयोग गर्छ जसमा अमेरिकामा रहेका मोडलहरू पनि छन् र उनीहरूलाई कम्पनीको आफ्नै पूर्वाधारमा सुरक्षित रूपमा राखिएको छ । कम्पनीका अनुसार, डेटा कहिल्यै पनि एआई मोडेलका विकासकर्ताहरूलाई प्रदान गरिँदैन ।

सन् २०२५ को सुरुतिर अमेरिकी टेक कम्पनीहरूले अर्बाैं डलर खर्च गरे पनि चिनियाँ कम्पनीहरू अगाडि बढ्ने खतरा रहेको साझा धारणा थियो ।

बोडियरले भने, ‘अब त्यो कथा रहेन । अब उत्कृष्ट मोडेल भनेकै ओपन–सोर्स मोडेल हो ।’

स्ट्यानफोर्ड युनिभर्सिटीले गत महिना प्रकाशित गरेको एउटा प्रतिवेदनले चिनियाँ एआई मोडलहरू आफ्ना विश्वव्यापी प्रतिस्पर्धीहरूसँग समान देखिएका वा अगाडि नै बढेको पाएको छ । त्यो क्षमता र प्रयोगकर्ता संख्या दुवै हिसाबले अगाडि छ ।

बीबीसीसँगको हालैको अन्तर्वार्तामा बेलायतका पूर्व उपप्रधानमन्त्री सर निक क्लेगले उनलाई अमेरिकी कम्पनीहरूले एक दिन मानव बुद्धिमत्तालाई पछि पार्न सक्ने एआईको खोजीमा मात्र बढी ध्यान केन्द्रित गरिरहेको महसुस भएको बताए ।

गत वर्ष सर निक क्लेगले मेटाको ग्लोबल अफेयर्स प्रमुखको पद छाडेका थिए । मेटाका मालिक मार्क जुकरबर्गले सुपरइन्टेलिजेन्स (सर्वोच्च बुद्धिमत्ता) प्राप्त गर्न अर्बाैं डलर खर्च गर्ने वाचा गरेका छन् ।

केही विज्ञहरूले अहिले यी महत्त्वाकांक्षाहरूलाई अस्पष्ट र अपरिभाषित भनिरहेका छन् जसले चीनलाई ओपन–सोर्स एआई क्षेत्रमा प्रभुत्व जमाउने मौका दिएको छ ।

सर निक क्लेगले भने, ‘यस्तो विडम्बना छ कि विश्वको ठूलो तानाशाही (चीन) र विश्वको सबैभन्दा ठूलो लोकतन्त्र (अमेरिका) बीचको युद्धमा चीनले प्रविधिलाई लोकतान्त्रीकरण (सबैको पहुँचमा पुर्याउने) गर्न बढी काम गरिरहेको छ ।’

स्ट्यानफोर्डको प्रतिवेदनले सुझाव दिएअनुसार, चीनको ओपन–सोर्स मोडल विकासको सफलतामा सरकारी सहयोगको पनि हात हुन सक्छ ।

विश्वको अर्को छेउमा, ओपनएआई जस्ता अमेरिकी कम्पनीहरू राजस्व बढाउन र नाफामा जान तीव्र दबाबमा छन् । त्यहाँ पुग्न उनीहरू विज्ञापनको सहारा लिइरहेका छन् ।

कम्पनीले गत वर्ष दुईवटा ओपन–सोर्स मोडेलहरू जारी गरेको थियो जुन वर्षौंपछिको पहिलो थियो । तर, यसले पैसा कमाउन मद्दत पुर्याउने आफ्नै विशेष मोडलहरूमा अधिकांश स्रोतहरू खन्याएको छ ।

ओपनएआईका प्रमुख साम अल्टम्यानले अक्टोबरमा बताएअनुसार, कम्पनीले साझेदारहरूसँग थप कम्प्युटिङ पावर र पूर्वाधार सम्झौताहरू सुरक्षित गर्न आक्रामक रूपमा लगानी गरेको छ ।

उनले भने, ‘राजस्व निकै छिटो बढ्नेछ तर तपाईंले हामीलाई तालिममा र एकपछि अर्को नयाँ मोडलहरू बनाउन ठूलो लगानी गरिरहेको देख्नुहुनेछ ।’