
एजेन्सी । बेलायतका पूर्व प्रधानमन्त्री ह्यारोल्ड विल्सनको एउटा भनाइ विख्यात छ, ‘राजनीतिमा एक हप्ता लामो समय हो ।’
वास्तवमा, उनले यसलाई निकै कम आँकेर भनेका रहेछन् ।
पछिल्लो एक सातामा मात्रै अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ग्रीनल्यान्डलाई गाभ्ने विषयबारे गरेको टिप्पणीका साथै युरोपेली कमजोरी र नेटो सदस्यहरूले अफगानिस्तान युद्धमा गरेको योगदानप्रति अपमानले एउटा कठोर यथार्थलाई छर्लंग पारेको छ । त्यो के भने पुरानो व्यवस्था अब समाप्त भइसकेको छ र यो अब ब्युँतिने छैन ।
यसमा बेलारुसका राष्ट्रपतिलाई समेत समावेश गरिएको गाजाका लागि शान्ति बोर्ड र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पठाइएको निमन्त्रणा थपिएपछि त्यो हप्ता निकै अनौठो बनेको छ ।
यस माहोललाई क्यानाडेली प्रधानमन्त्री मार्क कार्नीले भन्दा राम्रोसँग कसैले पनि प्रस्तुत गर्न सकेनन् । उनले बुधबार डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा गरेको भाषणले ट्रम्पलाई क्रुद्ध बनाएको थियो ।
‘हामी संक्रमणमा नभई विच्छेदको बीचमा छौं,’ कार्नीले बताए । उनले मध्यम शक्ति राष्ट्रहरूलाई एकजुट हुन आह्वान गरे ।
उनले भने, ‘तपाईं टेबलमा (छलफलमा) हुनुहुन्न भने मेनुमा (कसैको स्वार्थको शिकार) बन्नुहुन्छ ।’
चुपचाप सहमति जनाउनुभन्दा स्पष्ट रूपमा प्रतिरोध गर्नु राम्रो दृष्टिकोण हो भनी पश्चिमले महसुस गर्न थालेका संकेतहरू देखिएका छन् । अफगानिस्तानका बारेमा ट्रम्पको टिप्पणीले आक्रोश फैलाउनुका साथै, डेनमार्कको हिस्साको रूपमा रहेको ग्रीनल्यान्डलाई समर्थन गरेबापत आठ युरोपेली राष्ट्रहरूलाई भन्सार शुल्क (ट्यारिफ) लगाएर दण्डित गरिने ट्रम्पको धम्कीबाट युरोपेलीहरू उत्तिकै स्तब्ध भएका थिए र उनीहरूले सोही अनुसार प्रतिक्रिया दिए ।
युरोपले जवाफी भन्सार शुल्क लगाउने धम्की दियो । युरोपेली संसद्ले ईयू–अमेरिका व्यापार सम्झौतालाई स्थगन गरेर यसको जवाफ दियो ।
बेलायत, फ्रान्स, जर्मनी र इटाली सबैले ट्रम्पको शान्ति बोर्डमा सामेल हुने निमन्त्रणा अस्वीकार गरे किनभने उनीहरू ट्रम्पको नेतृत्वमा अधीनस्थ भएर बस्न चाहँदैनथे ।
‘पुटिन शान्ति बोर्डमा रहने कुरामा मेरो पक्कै पनि चिन्ता छ,’ ट्रम्पले रुसका राष्ट्रपति सामेल हुन सहमत भएको घोषणा गरेपछि बेलायती प्रधानमन्त्री कीर स्टार्मरले भने । मस्कोले भने यसको पुष्टि गरेको छैन ।
धेरै युरोपेली देशहरूले ट्रम्पको शान्ति बोर्डमा सामेल हुने निमन्त्रणा अस्वीकार गरेका छन् ।
बुधबारसम्ममा ट्रम्पले भन्सार शुल्कको धम्की फिर्ता लिएका थिए र ग्रीनल्यान्डमाथिको सैन्य कब्जाको बारेमा आफ्नो बोलीलाई केही नरम बनाएका थिए ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयेनले भनिन्, ‘तनाव नबढाइकन तर दृढताका साथ उभिएर हामी प्रतिरोध गर्न सफल भयौं ।’
त्यसपछिको भाग अझ कठिन थियो ।
उनले थपे, ‘हामीलाई थाहा छ हामीले एक स्वतन्त्र युरोपका लागि थप काम गर्दै जानुपर्नेछ ।’
बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभर अझ प्रस्ट थिए ।
‘हामी अमेरिकासँग निर्भर थियौं, त्यसैले हामीले उदार बन्ने बाटो रोज्यौं । तर, अहिले यति धेरै लक्ष्मणरेखाहरू पार भइरहेका छन् कि अब तपाईंले आफ्नो आत्मसम्मान रोज्नुपर्ने बेला आएको छ,’ उहाँले भने, ‘तपाईं अहिले पछि हट्नुभयो भने तपाईंले आफ्नो गरिमा गुमाउनुहुनेछ र लोकतन्त्रमा तपाईंको गरिमा नै सम्भवतः सबैभन्दा बहुमूल्य कुरा हो ।’
युरोपले एउटा कुरा सिकेको छ । त्यो के भने अब अर्को चरणको ट्रान्स–अटलान्टिक नाटकीयता आउन केही हप्ता (वा त्योभन्दा कम) मात्र बाँकी छ । त्यो ग्रीनल्यान्ड, युक्रेन, भन्सार शुल्क वा ट्रम्पको ध्यान जाने अन्य कुनै क्षेत्र हुन सक्छ ।
चाथम हाउसका युरोप र रुस कार्यक्रमका निर्देशक ग्रेगोइर रुसले भने, ‘तात्कालिक खतरा टरेको छ र सैन्य विकल्प अहिलेका लागि हटेको छ । यो फेरि नआउन्जेल सम्मका लागि मात्र हो ।’
युरोपका लागि वास्तविक खतरा अमेरिकी आर्थिक प्रभुत्व हो जसको उदाहरण अमेरिकी प्राकृतिक ग्यासको आयातमा युरोपको निर्भरता हो, रुसको तर्क छ ।
‘ईयू संरचनात्मक रूपमै आफ्नो सबैभन्दा नजिकको सहयोगीको दबाबमा छ र त्यो अमेरिकी दबाब शक्तिको प्रयोग नगरिकनै धेरै माध्यमबाट लागू हुन सक्छ,’ उनले गत साता लेखेका थिए ।
युरोपेलीहरूले यस उतारचढावप्रति एकता र तत्परता देखाउनेछन् वा छैनन् भन्ने अर्को कुरा हो ।
गत साता स्विट्जरल्यान्डमै रहनुभएका युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अहिलेसम्म यस्तो नभएको बताए ।
ग्राउन्डहग डे चलचित्रको सन्दर्भ दिँदै जेलेन्स्कीले भने, ‘पोहोर साल मात्रै यहाँ डाभोसमा मैले मेरो भाषण यी शब्दहरूसँग अन्त्य गरेको थिएँ, ‘युरोपले आफ्नो रक्षा कसरी गर्ने भन्ने जान्नु आवश्यक छ ।’ एक वर्ष बितिसक्यो तर केही परिवर्तन भएको छैन ।’
डाभोसमा बुधबार खिचिएको तस्वीरमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युक्रेन ग्राउन्डहग डे (एउटै कुरा दोहोरिरहने अवस्था) मा अड्किएको महसुस गरिरहेको बताए ।
यो पूर्ण रूपमा सत्य होइन । सैन्य विश्लेषक मिक रायनले आफ्नो ब्लग फ्युटुरा डक्ट्रिनामा लेखेका छन्, ‘युद्धको क्रममा युरोप महत्त्वपूर्ण रूपमा परिवर्तन भएको छ र यसले युक्रेनलाई आफ्नो सैन्य, आर्थिक र गुप्तचर सहयोग बढाएको छ ।’
युरोपेली संघले युक्रेनका लागि हतियार किन्न ठूलो कोष खडा गरेको छ, अर्बौं ऋण विस्तार गरेको छ र आफ्नो सैन्य उत्पादनलाई निकै तल्लो स्तरबाट भए पनि विस्तार गरेको छ ।
तर ईयूको निर्णय प्रक्रिया बोझिलो छ । रक्षा र सुरक्षाका मुद्दाहरूमा २७ वटा सरकारहरूलाई एकै ठाउँमा ल्याउनु भनेको बगैंचामा लोखर्केको पछि दौडिनु जस्तै कठिन छ ।
‘युरोपले अझै पनि पुरानो व्यवस्थाले राखेका मूल्यमान्यताहरूको ख्याल गर्छ, कम्तीमा नामका लागि भए पनि,’ टिप्पणीकार मार्टिन स्यान्डबुले फाइनान्सियल टाइम्समा लेखेका छन् ।
‘तर यो तबसम्म विश्वव्यापी आधारस्तम्भ बन्न सक्दैन जबसम्म यसले यसका लागि आवश्यक पर्ने प्रयासलाई गम्भीरतापूर्वक लिँदैन,’ स्यान्डबुको तर्क छ ।
यसको ४०० पृष्ठको खाका पहिले नै अस्तित्वमा छ । दुई वर्षअघि पूर्व इटालेली प्रधानमन्त्री मारियो द्राघीले युरोपको चुनौती प्रस्तुत गर्दै एउटा प्रतिवेदन लेखे । संयुक्त सैन्य क्षमतामा ठूलो लगानी, छिटो निर्णय प्रक्रिया र नयाँ आविष्कारहरूको राम्रो उपयोग ती चुनौती हुन् ।
युरोपको कार्यबल सन् २०४० सम्म प्रतिवर्ष २० लाखले घट्ने प्रक्षेपण गर्दै द्राघीले चेतावनी दिनुभएको थियो, ‘भूराजनीतिक स्थिरता घट्दै गएको छ र हाम्रा निर्भरताहरू कमजोरीमा परिणत भएका छन् ।’
क्यानाडेली प्रधानमन्त्री मार्क कार्नीले मंगलबार डाभोसमा भाषण दिँदै विश्व व्यवस्थामा विच्छेद भएको घोषणा गरे ।
कार्नीले द्राघीको मूल्यांकनलाई अझ अगाडि बढाउँदै पुरानो नियममा आधारित व्यवस्था तीव्र शक्ति प्रतिस्पर्धाको अगाडि ध्वस्त भइरहेको चेतावनी दिए । शक्तिशालीहरूले आर्थिक एकीकरणलाई दबाबको रूपमा प्रयोग गर्दै आफ्नो स्वार्थ पूरा गर्छन् ।
‘पुरानो याद कुनै रणनीति होइन, तर हामी विश्वास गरेअनुसार यस विच्छेदबाट हामी केही ठूलो, राम्रो, बलियो र अझ न्यायपूर्ण कुरा निर्माण गर्न सक्छौं,’ क्यानाडेली प्रधानमन्त्रीले आफ्नो डाभोस भाषणको अन्त्यमा भने । त्यसलाई सबैले उठेर ताली बजाई सम्मान गरेका थिए ।
बेल्जियमका प्रधानमन्त्री डे वेभरले यो संक्रमण खतरनाक हुन सक्ने बताउँदै इटालेली दार्शनिक एन्टोनियो ग्राम्स्कीको शब्दहरू सम्झाए, ‘पुरानो मर्दैछ र नयाँ अझै जन्मिएको छैन भने तपाईं राक्षसहरूको समयमा बाँचिरहनुभएको छ ।’
‘अब यो (ट्रम्प) मा निर्भर छ कि उनी राक्षस बन्न चाहन्छन् कि चाहँदैनन्,’ डे वेभरले बताए ।








प्रतिक्रिया